+
Search

ताजा अपडेट +

पपुलर +

स्थानीय निर्वाचनमा गरेको प्रतिबद्धता ८० प्रतिशत पूरा गरे भन्ने लाग्छ : विष्णु भट्ट [अन्तर्वार्ता]

लीलाधर काेइराला
२०७९ बैशाख १८, आईतवार १३:३१ बजे

बारपाक- सुलिकोट गाउँपालिका-५, जफदीमा ०३२ साल साउन १४ गते बाबु दिनानाथ भट्ट र आमा गंगा देवीको कोखबाट जन्मिएका विष्णुप्रसाद भट्ट लाकुरीबोटमा कम्युनिस्ट आन्दोलन मात्रै सीमित नभई केन्द्रीय स्तरमासमेत परिचित नाम हो ।

०४७ सालमा सूर्य ज्योति माध्यमिक विद्यालय ताकुकोटबाट प्रवेशिका परीक्षा उत्तीर्ण गर्दा १७० जना विद्यार्थीमा प्रथम भएका भट्ट पढाइमा अब्बल थिए । कृषि विज्ञानमा स्नातक समेत गरेका भट्टको ध्यान आफ्नो पढाइमा भन्दा पनि समाजसेवामा नै थियो । त्यसैले उनले समाजसेवालाई निरन्तरता दिनका लागि सबैभन्दा उत्तम थलोका रूपमा राजनीति देखे ।

विद्यालयको समयमा नै कम्युनिस्ट पार्टीको सदस्यता लिएका भट्ट ०४८ साल देखि ०५० सम्म अखिल क्रान्तिकारी लमजुङ जिल्ला सचिव भए । ०५२ सालमा माओवादीले महान् जनयुद्धको घोषणा गरेसँगै पूर्णकालीन सदस्यका रूपमा राजनीतिमा होमिएका भट्ट सुरुवाती दिनमा नै प्रहरीद्वारा गिरफ्तार भए । केही दिनको हिरासतबाट निस्किएका भट्ट माओवादी आन्दोलनमा होमिएर देशका विभिन्न कुनाकन्दरामा पुगे ।

महान् जनयुद्धको इतिहास गोरखासँग जसरी जोडिएको छ, सो इतिहासमा भट्ट परिवारको झनै ठुलो इतिहास जोडिएको छ । जनयुद्धका पहिलो सहिद दिल बहादुर रम्तेल बारपाक-सुलिकोट गाउँपालिका कै हुन् भने जिल्लाको पहिलो महिला सहिद भट्टकी दिदी कमला हुन् । माओवादी पार्टीबाट जनताका लागि लड्दै गर्दा तत्कालीन समयमा राज्यको तर्फबाट क्रूरतापूर्वक उनको दरौँदी नदीमा हत्या गरिए पछिको अवस्थामा शोकलाई शक्तिमा बदल्दै भट्ट झनै पार्टीमा दरिलो रूपमा लाग्न थाले ।

अन्यायमा परेका जनताका लागि अग्रपंक्तिमा रहेर लड्ने भट्ट सोही क्रममा बागलुङमा ०५७ साल माघ २ गते पक्राउ परे। तर, आफ्नो सिद्धान्तमा कहिल्यै विचलन नल्याउने भट्टलाई राज्यले ०६१ साल पुस ९ गते बाध्य भएर थुनामुक्त ग¥यो । जनयुद्धमा सक्रियता पूर्वक लागिरहेकी भट्टकी बहिनी विमला सोही वर्ष आफ्नो बा-आमालाई भेट्नका लागि गाउँ पुगेका बखत सुराकीका कारण सेनाद्वारा लाकुरीबोटमा ज्यान गुमाउन पुगिन् ।

उनै भट्ट बारपाक-सुलिकाेट गाउँपालिकाबाट माओवादी केन्द्रका तर्फबाट स्थानीय तहको निर्वाचनमा होमिए । र, निर्वाचित भएर स्थानीय सरकार सञ्चालन गर्ने अवसर पाए । २०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार जितबहादुर घलेलाई १ हजार ६३७ मतले पराजित गर्दै गाउँपालिका अध्यक्षमा निर्वाचित भएका भट्टले विकास र समृद्धिका धेरै योजना अगाडि सार्दै कार्यकालको अन्तिम बजेट ल्याए । कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारलगायतका क्षेत्रमा प्राथमिकताका साथ काम गरिरहेको बारपाक-सुलिकाेटले २०७९ सम्म आउँदा पाँच बर्से कार्यकाल सकियो ।

२०७४ को निर्वाचनका बेला गरेका ८० प्रतिशत प्रतिबद्धता पूरा गरेको र अब केही रणनीतिक योजनामा काम गरिरहेको दाबी गरेका भट्ट फेरि बारपाक-सुलिकाेट गाउँपालिकामा माओवादी केन्द्रबाट अध्यक्ष पदका उम्मेदवार बनेका छन् । उनै भट्टसँग पछिल्लो पाँच वर्षे कार्यकाल तथा चुनावी प्रतिबद्धता, कार्यान्वयन अनि समीक्षाका साथै आसन्न स्थानीय निर्वाचनका विषयमा गोरखा सन्देशका लागि लीलाधर कोइरालाले गरेको कुराकानीको सम्पादित अंश ।

स्थानीय सरकारको नेतृत्वमा रहेर काम गर्दाको अनुभव कस्तो रह्यो ?

स्थानीय सरकारको पाँच वर्ष काम गर्ने जुन अवसर हामीले पायौँ । त्यसका लागि बारपाक-सुलिकोट गाउँपालिकाका सम्पूर्ण आम जनता र माओवादी केन्द्रलाई धेरै धन्यवाद । यो पछिल्लो पाँच वर्षमा हामीसँग धेरै अप्ठ्यारा दिनहरू थिए । जस्तोकी केन्द्रले प्रशासनिक केन्द्र भनेर ताकुकोटलाई भनेको थियो । अझ हामीलाई सौरपानीमा केन्द्र लैजाने या के भन्ने अन्योल कायम नै थियो । यसलाई हल गर्दै हामीले जग्गा खरिद गरी प्रशासनिक भवन ताकुकोटमा बनायौँ । यसबाट साैरपानीका धेरै स्थानीय असन्तुष्ट हुनुभयो ।

(बोल्दा बोल्दै) …… पालिकाको प्रशासनिक भवन हुन्डी फाँटमा बनाउने जुन विषय थियो । त्यसलाई कसरी हल गरी ताकुकाेटमा बनाउनु भयो ? यसले झन् समस्या भएको थियो होइन र ?

हामीलाई धेरै समस्या थियो । निश्चित रूपमा ठुलो बहस र विवाद थियो । हामीले त्यसलाई मुख्य गरी दुई तरिकाले हल गर्याैं भन्ने लाग्छ। पहिलो, सुरुका दिनका केन्द्रले ताकुकाेटलाई केन्द्रका रूपमा कायम गर्याे । केन्द्र ताकुकाेटमा कायम भइरहेको विषयमा केन्द्र अन्त लैजाँदा पनि विवाद हुने सम्भावना धेरै नै थियो । र, ताकुकाेटमा राख्दा पनि साैरपानीकाे विरोध पनि कायम नै थियो । साैरपानीका जनप्रतिनिधिले गाउँसभा नै बहिस्कार गर्नु भएको थियो। दोस्रो, पहिला सुलिकाेट गाउँपालिका मात्रै थियो । हामीले पछि बारपाक थपेर बारपाक-सुलिकाेट गाउँपालिका बनायौँ । साैरपानीकाे भूगोलमा पालिका भवन बनाउन नसकिए पनि १५ शैय्याकाे अस्पताल, बारपाक प्राविधिक शिक्षालय साैरपानीकाे भूगोलमा बनाउन सफल भयौँ । पालिका भवन साैरपानीमा पुर्‍याउन नसकिए पनि शिक्षालय र अस्पताल लैजान सफल भयौँ । यसबाट त्यहाँबाट स्थानीयसमेत लाभभित हुनुभयो । हाम्रो पाँच बर्सको कार्यकाल सफल भएको हामीले र जनताले पनि अनुभूति गर्नु भएको छ ।

यो कार्यकालमा उल्लेखनीय के काम गर्न सकियो भन्ने लाग्छ ?

नेपालका अरू भूगोल भन्दा बारपाककाे भूगोल धेरै जटिल थियो । अझ २०७२ को भूकम्पको केन्द्र रहेको बारपाकमा हामीले पहिलो वर्ष पुनर्निर्माण नै बितायौ । घरबार विहीन जनताका समस्या हल गर्न पहिलो वर्ष सकियो । गाउँपालिकाको संरचना हल गर्न सफल भयौँ । १५ शैय्याकाे अस्पताल बन्ने क्रममा छ । अरू स्थानीय तहमा जग्गा नपाएर अस्पताल निर्माणमा विवाद नै छ । प्राविधिक शिक्षामा हामीले तिन वर्षे डिप्लोमा पढाउन सफल भएका छौँ । यो बारपाक-सुलिकाेटका लागि गर्वका कुरा हो ।

नागरिकका अपेक्षा कति पूरा भए भन्ने लाग्छ ?

नेपालको हिसाबमा भन्दा रोजगारीको सबैभन्दा ठुलो समस्या हो । यसमा हामी (स्थानीय) ले मात्रै गरेन नहुने रहेछ । घर दैलोको सेवाका रूपमा रहेको स्थानीय सरकारले चाहेको जति रोजगारी दिन नसक्ने रहेछ । कानुनले किटान गरेका सेवाहरू मात्रै स्थानीय सरकारले दिन सकिने रहेछ । दैनिक सेवाका हिसाबले हामीले दिने सेवा हामीले दिन सफल भयौँ र यसबाट स्थानीयको अपेक्षा पनि पूरा भए भन्ने लाग्छ । तर, पछिल्लो पाँच वर्ष नीति निर्माणकै क्रममा रहेकाले स्थानीयले सोचे जत्तिको अपेक्षा चाहिँ पूरा भएन कि भन्ने लाग्छ ।

स्थानीय तहको निर्वाचनका बेला गरिएका प्रतिबद्धता के कति पूरा गर्नुभयो ?

स्थानीय तह निर्वाचनमा सार्वजनिक गरेका वा प्रतिबद्धता हामीले ८० प्रतिशत हिस्सा पूरा गरेका छौँ । यसमा म विशेष जोड दिन चाहन्छु । प्रतिबद्धताका केही हिस्सा थियो । जुन चाहिँ रणनीतिकका हुन् । त्यसको सुरुवात भएको छ । जस्तै, ध्याम्पेशालबाट बारपाक जाने सडक कालोपत्रेको योजना थियो । यसमा तल्लो खण्ड प्रदेश सरकारले र माथिल्लो खण्ड प्रदेश सरकारले ठेक्का लगाएर काम गर्न सुरु गरिसकेको छ । हाम्रा लागि यो विशेष योजना हो ।

१५ शैय्याकाे अस्पताल, प्राविधिक शिक्षालय पढाइ सुरु भयो । भवन निर्माणका क्रममा छ, एक घर एक घारा ८० प्रतिशत घरमा पुगिसेका छन् । ८३ प्रतिशत घरमा धारा पुगिसकेको छ । बारपाकमा ४२ करोडको ढलको काम सुरु भइसकेको छ । यो हाम्रो निम्ति रणनीतिका योजना सुरु हुनु भनेको हाम्रो उपलब्धि हो । हामीले गर्न खोजेका धेरै योजना छन् । जुन हामीले गर्दै छौँ । गर्ने क्रममा छौँ ।

अन्तिम कार्यकालको बजेट पनि सार्वजनिक भई सक्यो ? त्यो बजेटमा के चाहिँ योजनाले प्राथमिकता पा¥यो ?

जनताका सेवा प्रवाह गर्ने क्रममा हामीले सहज, सुलभ र भरपर्दो तरिकाले सेवा प्रवाह गह्रौँ । अहिले बजेट कार्यान्वयनकाे क्रममा छ । हामीले पुराना काम सक्ने विषयमा हाम्रो बजेट केन्द्रित छ ।

संघिय सरकारको मापनमा बारपाक सुलिकाेट जिल्लाको प्रथम भयो । साँच्चिकै तपाईहरूले भनेको अधिकार बारपाकमा पुगेको अनुभूति भयो कि भएन ?

त्यो मापन एउटा महत्त्वपूर्ण कुरा थियो । हामीले भनेका अधिकार सबै जनताको पुगेको अनुभूति चाहिँ अलि भएन कि जस्तो लाग्छ । तत्काल त्यसरी प्राप्त हुने अलि सम्भावना पनि कम भयो । यो अलि रणनीतिक विषय हो । अधिकार प्राप्तिका कुरा । मूलभूत रूपमा हामी समाजवादी राज्य व्यवस्थामा स्थापनाकाले दिशामा चाहिँ अघि बढिरहेको समयमा संवैधानिक प्रावधान अन्तर्गत राज्य संरचनालाई लोक कल्याणकारी राज्य बनाउन लाग्न पर्छ भन्ने दिशामा लागेका हौँ । शिक्षा, स्वास्थ्य र जीविकोपार्जन क्षेत्रमा रोजगारी सिर्जना मुख्य पक्ष हो जस्तो मलाइ लाग्छ । यसमा हामीले धेरै प्रगति गरेका छौँ । र, जनताका निम्तिका अपेक्षा गरिएका जति दिन सकिएन कि भन्ने पनि लाग्छ ।

प्रदेश र संघीय सरकारको सहयोग कस्तो पाउनुभयो ? स्थानीय तहलाई प्रदेश र संघ सरकारले कस्तो खालको सहयोग गरिदिए काम गर्न अझै सहज हुन्छ जस्तो लाग्छ ?

प्रदेश र स्थानीय तहका सरकार संघियाताकाे प्रारम्भिक अभ्यासमा भएकाले केयाैं कुरामा अलमलमा परे । स्थानीय तहको अधिकार अझै खुम्चाउन संघ र प्रदेश सरकार लागेका छन् । स्थानीय तहलाई केयाैं अधिकार संघ र प्रदेश सरकारले दिए पनि खुम्चाउने काम भएको छ ।तल जानु पर्ने अधिकार माथिल्ला तहका जनप्रतिनिधि र राज्य सञ्चालन गर्ने निकायले खुच्चाएकाे हो कि भन्ने अनुभूति भएको छ ।

संघियतालाई साघुराे बनाउने तरिकाले राज्य संरचना लागि परेको छ । यो खेदजनक हो । स्थानीय तहलाई बलियो बनाउन लागे मात्र हामीले खोजेको विषय पाउन सकिन्छ ।

प्रदेश र संघका जनप्रतिनिधिले बारपाकलाई कत्तिको सहयोग गर्नु भयो ? एक खालको टसल देखिएको थियो ? त्यो कसरी हेर्नु भएको छ ?

म कसैलाई दोष दिन चाहन्न । हामी सबैधानीक जिम्मेवारी पालना गर्ने कुरा हो । यो उहाँ (संघ र प्रदेशका सांसद)हरूले विवेक अनुसार कुरा हो । नेपालको राजनीतिमा एक प्रकारको विकृति छ । नेपालका जनप्रतिनिधि भनेको विकास निर्माणमा योजना बनाउन लाग्नु पर्ने कुरा हो । तर, एक लाखको दुई लाखको बजेट बाँडेर लोकप्रियता हासिल गर्ने जनप्रतिनिधिको भोक अझै पनि मेटिएको छैन, यो स्थानीय सरकारको निम्ति दुर्भावपूर्ण कुरा हो । जनप्रतिनतिहरूले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने कुरा हो ।

तपाईंले गर्नु पर्ने या गर्न बाँकी रहेका योजनाहरू के के छन् ?

मेरो सपना १५ शैय्याकाे अस्पताल सञ्चालन गरेर गरिबिको रेखामुनि रहेकालाई नि शुक्ल सेवा दिने, प्राविधिक मैत्री शिक्षा दिने, पर्यटकीय क्षेत्रलाई प्राथमिकता दिने गरी काम गर्ने हो । अझ थप पाँच वर्ष काम गर भनेर पार्टीले मलाई टिकट दिएको छ । हिजो काम गर्ने कुरामा हामीबाट अजानमा केही कमीकमजोरी भएका होलान् । त्यो हाम्रो नियतबंश नभएर कानुनी केही अड्चनले त्यस्तो भएको हो । हामी त्यो सच्चाउने छौँ । आम जनसमुदायलाई म के भन्न चाहन्छु भने हामीले संग्रह बारपाक बनाउन धेरै योजना अघि सारेका छौँ । अहिले देखिने गरी केही योजना निर्माणका क्रममा छ र आगामी दिनमा त्यो पूर्णता पाउन सक्छ ।

हामी निरन्तर यही क्षेत्रमा लागि परेका छौँ । फेरि पनि मलाई के आशा र भरोसा छ भने फेरि पनि बारपाकमा हाम्रो उपस्थिति बलियो हुने छ र हामीले छोडेका अधुरा विकासका योजना पूरा गर्ने अवसर प्राप्त हुनेछ । हामी शासक होइन, सेवक बन्न फेरि बारपाक-सुलिकाेटकाे दुष्टिकुचक हुने गरी योजना बनाएका छौँ । त्यसलाई पुरा गर्छौ ।

प्रतिक्रिया

लेखकको बारेमा

लीलाधर काेइराला