+
Search

ताजा अपडेट +

पपुलर +

पृथ्वीबहादुर शाहलाई चिन्दिनँ, रुँदै मन्त्रालय आएपछि कुरा बुझ्न मात्रै भनेको हुँ- अर्थमन्त्री शर्मा

4KNationalDaily
२०७८ चैत्र २८, सोमबार १८:१७ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकबाट शंकास्पद रकम छुटाउन खोज्ने पृथ्वी बहादुर शाहलाई आफूले नचिनेको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् ।

‘मन्त्रालयमा धेरै निवेदन आउँछन् । पृथ्वीबहादुरसँग मेरो कुनै नातागोता छैन । चिनेको पनि थिइनँ । मन्त्रालयमा रुँदै आएपछि मैले मन्त्रालयको सम्बन्धित निकायलाई बुझ्न भनेको हुँ’, उनले भने ।

कर्जा प्रवाह लक्ष्यभन्दा बढी प्रवाह गर्दा पनि नियन्त्रण नगरेको, उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह गर्न नसकेको, राष्ट्र बैंकका कतिपय विषय आफूलाई रिपोर्टिङ नगरिएकोजस्ता आरोप अर्थमन्त्रीले लगाए ।

अर्थ मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा पत्रकारको प्रश्नको उत्तर दिँदै उनले अछामका पृथ्वीबहादुर र उनले ल्याएको भनिएको ४० करोडबारे प्रतिक्रिया दिएका हुन्।

यस्तो छ अर्थमन्त्रीको भनाइ :

यो ४० करोड भन्ने कुरा मलाई थाहा छैन। एउटा कुनै …मन्त्रालयमा धेरै मानिस आउँछन्। यहाँ खुल्ला नै हुन्छ। सबैलाई आउन यहाँ छुट छ। यहाँ प्रतिबन्ध लगाइँदैन। बजेट निर्माण गर्दा अलि कम भेट्नेबाहेक यहाँ गेट बन्द गरिएको हुँदैन। अघिपछि खुला नै हुन्छ। सबै नागरिक आउन पाउने हाम्रो व्यवस्था नै छ। म त झन् खुलै छु।

त्यस्ता धेरै निवेदनहरु मकहाँ आउँछन्। आएपछि म सम्बन्धित महाशाखामा पठाइदिन्छु। यो के हो बुझिदिनुहोला। हेरिदिनुहोला भनेर पठाउने कुरा एउटा मन्त्रीको हैसियतले कर्तव्य हो। त्यो पृथ्वीबहादुर भन्ने मान्छेसँग मेरो न चिनजान छ नाताको त कुरै छोड्नुहोस्। नाता कहीँ जोड्दै गएर पछि मिलाउने कुरा त एउटा होला। तर नाताको कहीँ सन्दर्भै छैन। देखेको के हो भने एक दिन एउटा मान्छे निवेदन दिन आएको थियो। रुँदै आएर रोएर मेरो यस्तो भयो भनिसकेपछि गल्ती गरेको होला नि भन्दा होइन यहाँ छानबिन छ भनेर भनिसकेपछि बुझिदिनुहोस् है भनेर मैले पठाउनु मेरो कर्तव्य हो क्या!

एउटा मन्त्रीको नागरिकले आएर भन्ने कुरालाई बुझ्नोस् सहजीकरण गर्नुस् सम्भव कुरा गरिदिनुस् भन्नु अन्यथा होइन। यसलाई ठूलो विषय बनाएर यही विषय पनि ठूलो कुरा होइन। यस्ता धेरै कुरा होलान् भोलि तपाईंहरुले थाहा पाउनुहोला।

पछिल्लो समय अछामका ती व्यक्तिले ४० करोड नेपाल ल्याएको र त्यसलाई राष्ट्र बैंकले आवश्यक अनुसन्धान गरिरहँदा अर्थमन्त्री शर्माले छोडिदिन दबाब दिएका कुरा बाहिरिएको थियो। यसैलाई लिएर पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले त मन्त्री शर्मामाथि अघिल्लो दिनमात्रै जेलै जाने अपराध गरेको दाबी गरेका थिए।

मन्त्री शर्माले भने आफूले सामान्य कर्तव्यमात्र निर्वाह गरेको टिप्पणी गरे। उनले अछामका ती व्यक्तिलाई नचिनेको र निवेदन दिन आउँदामात्रै एक दिन मन्त्रालयमा देखेको बताए। केही दिनअघि राष्ट्र बैंककै कार्यक्रममा पनि राष्ट्र बैंककै सञ्चालकले कमिसन मागेको अर्थमन्त्री शर्माले दाबी गरेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily