+
Search

ताजा अपडेट +

पपुलर +

गाेरखाकाे राजनीतिमा देखिएका घटनाक्रम : एक ‘सल्यक्रिया’

4KNationalDaily
२०७८ चैत्र २४, बिहीबार ०९:३७ बजे

विस २००७ सालको परिवर्तन वा क्रान्तिमा गोरखा जिल्लाको भूमिका ऐतिहासिक छ । त्यो क्रान्ति राष्ट्रवादी नेता राजेश्वर देवकोटाको नेतृत्वमा गोरखा सदरमुकाम कब्जा गर्न र बडा हाकिमको गिरफ्तारी गर्न सफल भएको थियो । त्यतिबेलाको सदरमुकाम कब्जा र बडाहाकिमको गिरफ्तारीकाे उपलब्धि टिक्न चाँहि जम्मा २ दिन मात्र टिकेको थियाे ।

पछि त आन्दोलनका कमाण्डर देवकोटा नै गिरफ्तारीमा परे । राणापक्षधर सुरक्षा दस्ताले पुन : प्रशासन कब्जा गरि जिल्ला चलाउन थाल्यो । दिल्ली सम्झाैता भएपछि देशमा प्रजातन्त्र आयो । त्यसपछि मात्र गोरखा पनि मुक्त भएको हो। २००९ मा त राजेश्वर देवकोटा स्वयंले नेपाली कांग्रेस छाडे । तिनताका पनि गोरखामा कांग्रेस भन्दा राणापक्षधर नै बलिया थिए। २०१५ सालको निर्वाचनमा गोरखाको दुवै निर्वाचन क्षेत्रवाट नेपाली कांग्रेसले चुनाव हार्याे । दुवै निर्वाचन क्षेत्रबाट राणापक्षधर पाटी ‘राष्ट्रवादी गोरखा परिषद’ले चुनाव जित्याे।

२०१५ साल सम्ममा त गोरखामा कम्यूनिष्ट पाटी पनि अस्तित्वमा आईसकेको थियो । तर, कम्युनिष्ट पार्टी र उसको जनमत कमजोर नै थियो । यहाँ रमाइलो कुरा के चाँही छ भन्ने २०१५ सालको निर्वाचनमा देशभरी कांग्रेसले चुनाव जितेको भएता पनि दुईतिहाई बहुमत ल्याएकै भएपनि यता गोरखामा भने कांग्रेसले दुवै निर्वाचन क्षेत्रबाट चुनाव हार्न पुग्याे । देशमा उसले दुइतिहाई सरकार बनायाे तर गोरखामा चुनाव
जित्ने कमल बहादुर कुंबर र विश्वनाथ सुवेदी दुवै जना कांग्रेसका थिएन।

उनीहरु त राजा र राणापक्षधर ‘राष्ट्रवादी गोरखा परिषद’का मान्छेहरु थिए । कांग्रेस सरकारसंग राष्ट्रवादी गोरखा परिषद पार्टीका कमल बहादुर कुंबर, विश्वनाथ सुवेदीवीच चर्काे संघर्ष चर्कियो । प्रधानमन्त्री विशेश्वर कोइरालाले गोरखामा आफ्नो पक्षधर बडाहाकिम नियुक्ति गरिदिए। देशभर दुई तिहाईकाे कांग्रेसकाे सरकार छ । तर गोरखाली जनता ‘एन्ष्टि कांग्रेस’ देखिदै गए । गाेरखामा कांग्रेस विरोधी जनमतको नेतृत्व पहिले राष्ट्रवादी गोरखा परिषद् र पछि राजावादी योगी नरहरीनाथको ‘कर्मविर महामण्डलले गर्दै गए ।

कांग्रेस विरोधी जनतालाई तत्कालीन बडाहाकिमले दमन गर्न थाले। अर्थात २०१७ साल असोजमा स्वंयम योगी नरहरीनाथ गोरखा आए। कर्मविर महामण्डलको नाममा बडाहाकिमको अड्डा कब्जा गर्न निर्देशन दिएर गए । त्यसको एक महिना पछि २०१७ साल कार्तिक ९ गते ३ हजार गोर्खाली जनताले कांग्रेस सरकार विरुद्ध नारा लगाउँदै बडा हाकिमको अड्डामाथी हमला गरे । त्यस क्रममा वडाहाकिमले सुरक्षाकर्मिलाई गोली हान्ने आदेश दिए । त्यसक्रममा ९ जना आन्दोलनकारी मारीए । त्यसपछि गोरखाली जनता झनै कांग्रेस विरोधि देखिए । यो घटना भएको २ महिना पुग्दा नपुग्दै देशमा निक्कै ठूलो राजनीतिक उथलपुथल हुन पुग्याे ।

तत्कालीन राजा महेन्द्रले दुई तिहाईको कांग्रेस सरकार अपदस्त गराई दिए । राजा महेन्द्रले सबै राजनीतिक दलहरू माथी ‘प्रतिबन्ध लगाएर निर्दलिय पञ्चायति व्यवस्था लागु गरे। यसको प्रभाव गोरखामा पनि प¥याे । तर कसरी ? पञ्चायति व्यवस्थाको स्थापनासँगै गोरखाको राजनीतिमा के त्यस्तो व्यबस्था विशेष परिवेश देखा पर्यो त ? यो धेरै महत्वपूर्ण प्रश्न छ। कर्मविर महामण्डलकाे निर्देशानमा आन्दोलन गरेका र आफ्ना ९ जना याेद्वाहरू गुमाएका ति आन्दोलनकारीहरुले कांग्रेससंग बदला लिन पाए।

‘कर्मविर महामण्डल’ र उसको ठूलो जनमत पञ्चायतमा कन्भर्ट भएर पञ्च भए। यसपछि पञ्चहरू सत्ताधारी भएकाले  बलिया र कांग्रेसले सत्ता गुमाएकाले कमजोर हुन गयाे । कांग्रेसले लगातार पञ्चहरूकाे प्रतिरोध गरिरह¥र्याे । यहि क्रममा कांग्रेसका दुई नेताहरू टेक बहादुर गुरुङ र होमनाथ ढकाल अलग-अलग समयमा मारिए । पञ्चहरूले कांग्रेसलाई भन्दा कम्युनिष्टहरुलाई अलिकति नरम व्यवाहार देखाए । एउटा अचम्म र आश्चर्य लाग्दो कुरा के छ भने २०३६ सालमा त गोरखामा कम्युनिष्ट र र पञ्चहरु मिलेर बहुदलवादीहरूकाे आमसभामाथि भौतिक हमला नै गरेका थिए। ठाँटीपोखरी र पालुङटारमा तत्कालिन पञ्च र कम्युनिष्ट मिलेर बहुदलवादीलाई खेदे । गोरखाको राजनीतिक इतिहासमा यो अराजनीतिक घटनाको साँगो पाँगो समिक्षा आजसम्म पनि भएकै छैन ।

२०३६ सालपछि पनि पञ्चहरूले कांग्रेस र कम्युनिष्टहरुलाई दमन गर्दै आए। अब २०४६ को राजनीतिक परिस्थिति आयो । निर्दलीय पञ्चायति व्यवस्थाको पराजय र बहुदलिय व्यवस्थाको विजयले गोरखामा विचित्र-विचित्रको घटनाका स्वरुपहरु देखा परे । सारा पञ्चहरू कम्यूनिष्ट र कांग्रेसमा कन्भर्ट भए। पञ्चहरुको आधा भन्दा ठूलो हिस्सा तत्कालीन संयुक्त जनमोर्चा नेपाल’ तिर लाग्न थाले । २०४८ को आम निर्वाचनमा कांग्रेसको स्थिति गोरखाको सन्दर्भमा फरक परिणाम दिन पुग्याे । २०१५ मा गोरखावाट बढारिन पुगेकाे कांग्रेस ०४८ सालमा तिन वटै निर्वाचन क्षेत्रबाट विजयी हुन सफल भयो । ०४८ सालपछि कांग्रेसकाे एकल र बहुमतिय सरकारले संयुक्त जनमोर्चा नेपाल तिर कन्भर्ट भएका हिजोका पञ्चहरुलाई निर्मम दमन मच्चायो । यहि समयमा नेकपा (माओवादी)ले २०५२ फागुनबाट दिर्धकालिन जनयुद्धको शुरुवात ग¥याे ।  महान जनयुद्धले विस्तारै-विस्तारै कांग्रेशको दमनका विरुद्ध प्रतिरोध गर्दै गयो ।

तर यहि विचमा तिनवटा निर्वाचन भए । ति थिए २०५१ काे मध्यावधि निर्वाचन, २०५४ काे स्थानीय निर्वाचन र २०५६ को आवाधिक निर्वाचन । यी तिन वटा निर्वाचनमा  कांग्रेस विराेधि जनमत एमालेमा पो कन्भर्ट हुन् आइपुग्यो । कांग्रेस माथिको प्रतिरोध कार्वाही नेकपा (एमाले) ले भन्दा नेकपा (माओवादी) ले कयौ ‘गुणा बढाएर लग्यो । यसैको परिणाम २०६४ को संविधान सभाका चुनावमा कांग्रेस विरोधि वामपंथि जनमत फेरी माओवादीमा कन्भर्ट भएर संश्लेषित  हुन पुग्याे ।

२०६४ सालको गोरखाको सबै निर्वाचन क्षेत्रवाट माओवादीले चुनाव जितिदियो । २०७० सालको दोस्राे ‘संविधान सभाको चुनावमा पनि गोरखाका तिनवटै निर्वाचन क्षेत्रमा राजनीतिक शक्ति संतुलनमा कुनै पनि खालका अदली बदली आएन। २०६४ र २०७० को दुवै चुनावमा एउटै परिणाम दिएको एकिकृत नेकपा (माओवादी)को दम्म, घमन्ड, रवाफ र फुर्तिफार्ति भ्यागुताले भुँडि फुलाएर आफ्नै भुंडी फुटाएको कथा जस्तै हुन पुग्याे ।

नेकपा (माओवादी केन्द्र)को ज्यादति र व्यथिति बयान गरि साध्य भएन । माओवादीमा व्यापक टुटफुट र विभाजन आयो । यसको प्रत्यक्ष असर स्थानीय निर्वाचन २०७४ मा देखा प¥याे । ११ वटै स्थानीय तहको चुनावमा माओवादी पूरै खुम्चिएर २ स्थानीय तहमा सिमित हुन पुग्यो । माओवादी विरोधी जनमत कांग्रेस केन्द्रित हुन पुग्यो । लगतै भएकाे प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा एमाले र माओवादी केन्द्र मिलेर वाम गठवन्धन गरे। शुसासन, स्थायित्व र आर्थिक संवृद्धिको असाध्यै भ्रम पार्ने नारा चर्काएका हुनाले देशैभरी वामगठवन्धनले विजय हासिल गरे । यसकाे प्रभाव आंशिक मात्रामा गोरखामा पनि प¥याे ।  संघ २ र प्रदेश ४ को गरी ६ सिटमा वाम गठबन्धको ३ र वाम इतरको ३ गरि बरावर परिणाम देखा प¥यो । यहाँसम्म आइपुग्दा जनतालाई ठगी र किर्ते गरी झुक्याउने राजनीतिक क्रियाकलापमा कांग्रेस र माओवादी केन्द्र सराबरी देखिए।

अब ०७९ वैशाख ३० गते स्थानीय तहको चुनाब आउँदै छ । यो भनेको एक महिना पछि मात्र हाे। २०७४ पछि गोरखामा कांग्रेसको व्यापक दबदवा कायम नै छ । देश, काल र परिस्थितिको कुनै आंकलन गर्नै नसक्ने अवस्थामा नेकपा (माओवादी केन्द्र) गोरखा देखा परेको छ । माओवादी केन्द्र गोरखाले इतिहासकाे सबैभन्दा ठूलो भुल गर्दैछ । त्यो भुल भनेको कांग्रेससंग गरिने ‘चुनावी गठवन्धन’ हो । यदि साँच्चै गोरखामा माओवादी केन्द्रले कांग्रेससंग चुनावी गठबन्धन गरेर कांग्रेसलाई शिरमा चढायो भने कांग्रेसकाे दबदबा अझै सयौं गुणा बढ्ने छ । कांग्रेसका दबदबा बढाएको सिधा ‘बात’ माओवादीलाई नै लाग्नेछ  । प्रजातन्त्र र जनवादको अभ्यासमा अभ्यस्त हुँदै आएका गोरखाली जनताहरु अहिले पनि दुई खेमामा नै ध्रुविकृत हुनेछन् ।

प्रजातान्त्रिक खेमा फेरी पनि कांग्रेस तिर नै ध्रुविकृत हुनेछ भने वामपंन्थी खेमाको जनमत भने माओवादीमा ध्रुविकृत हुने छैन। किनकि यसपाली गोरखाको बामपंन्थी जनमतलाई नेकपा (क्रान्तिकारी माओवादी) काे बहिष्कार आन्दोलनमा जोड्न त अधिकतम प्रयास गर्ने नै हो । तर पूरा संम्भव नहोला जस्तो देखिन्छ ! हामी असहमत नै किन न हैँ । तर, यसपाली गोरखाली वामपंथि जनमत भने नेकपा (एमाले) मा कन्भर्ट हुने कुरा नै पक्का पक्की छ । हुन चाँही समस्याको समाधान यो पनि होइन है ! वहस गर्दै गरौला ।

‘लेखक नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य तथा गाेरखा जिल्ला ईन्चार्ज हुन् ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily