+
Search

ताजा अपडेट +

पपुलर +

गोरखामा बढ्याे चुनावी सरगर्मी : कार्यालयमा भेटिन्नन् जनप्रतिनिधि !

गोरखा नगरपालिका-१, ताप्लेमा बाख्रा बाड्ने र कृषकलाई सम्मान गर्ने कार्यक्रममा नेपाली कांग्रेसमा प्रवेश गराउदैं मेयर राजनराज पन्त । तस्बिर : समाजिक सञ्जाल
लीलाधर काेइराला
२०७८ चैत्र १५, मंगलवार १८:०१ बजे

गोरखा- २०७४ को स्थानीय निर्वाचनमा प्रमुखमा पराजित एक उम्मेदवारले एक छलफलमा भनेका थिए- ‘२०७४ को निर्वाचन र अहिलेको निर्वाचनमा धेरैको अन्तर छ हाम्रा लागि । अघिल्लो तहको निर्वाचनमा सबै आफ्नै स्रोत साधनमा चुनावी मैदानमा होमिएको भए पनि अहिलेको निर्वाचन हाम्रालागि निकै फरक छ हुनेवाला छ । किन पनि भने अहिलेको निर्वाचनमा जनप्रतिनिधिहरूले स्थानीय तहको स्रोत तथा साधन दुरुपयोग गरी निर्वाचनमा होमिने छन् । हामी जहाँको त्यही छौँ ।’

यो कुराले पनि बहालवाला जनप्रतिनिधिले स्थानीय तहको साधन स्रोतको दुरुपयोग गरी चुनावी मैदानमा होमिने चिन्ता छ । यदि स्थानीय निर्वाचनमा उम्मेदवारी दिने उम्मेदवारले राजीनामा दिनुपर्ने कानुनी प्रावधान रहेको भए स्थानीय तहको स्रोत साधन दुरुपयोग रोकिन सक्थ्यो कि ? अथवा सत्ता र सत्ता बाहिर रहेका उम्मेदवार बराबरी हिसाबले निर्वाचनमा जाँदा सहज हुन्थ्यो कि भन्ने उनको गुनासो बुझ्न सकिन्थ्यो ।

निर्वाचन आयोगले स्थानीय तहका निर्वाचन जनप्रतिनिधिले राजीनामा दिनुपर्ने भने पनि बहालवाला जनप्रतिनिधिबाट विरोध भयो । सर्वोच्च अदालतले राजीनामा दिनु नपर्ने भन्दै आदेश दिएपछि झन् स्थानीय तहका जनप्रतिनिधिले सरकारी स्रोत साधनको दुरुपयोग बढ्ने निश्चित भएको छ ।

गोरखाका ११ स्थानीय निर्वाचनमा कुल १ हजार २२ भन्दा बढी जनप्रतिनिधि निर्वाचित भएका छन् । उनीहरू नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) र नयाँ शक्ति पार्टी, नेपालबाट निर्वाचित जनप्रतिनिधि हुन् । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि वैशाख ३० गते मिति तोकेको छ ।

जिल्लामा पाँच वटा दलले राष्ट्रिय मान्यता पाएका छन् भने बाँकी १८ वटा दलले राष्ट्रिय स्तरको दलको मान्यता पाउन सकेनन् । उनीहरूले आफ्नो दलको चुनाव चिन्हबाट निर्वाचनमा उम्मेदवार बन्न पाउने छन् । २०७४ को स्थानीय निर्वाचनमा जिल्लामा १६ वटा राजनीतिक दलले निर्वाचनमा भाग लिएका थिए । २०७४ मा निर्वाचित जनप्रतिनिधिको कार्यकाल यही ज्येष्ठ ५ गतेबाट सकिँदै छ ।

२ नगरपालिका र ९ गाउँपालिका गरी ११ वटा स्थानीय सरकार रहेको गोरखामा २०७४ को स्थानीय निर्वाचनबाट काँग्रेसले ९ वटा र माओवादीले २ वटामा नेतृत्व पाएका थिए । निर्वाचन नजिकिँदै गर्दा गोरखामा राजनीतिक दलहरूको सक्रियता जनस्तरमा बढ्न थालेको छ । जिल्लामा सक्रिय सबै दलहरूले अहिले धमाधम पार्टी प्रवेशदेखि विभिन्न कमिटी गठन गर्दै टोल टोलमा प्रचारप्रसारको गतिविधि बढाउन थालेको छ ।

जिल्लामा सक्रिय दलहरू मध्य अधिकांशले अहिले आगामी निर्वाचनबाट परिणाम आफ्नो पक्षमा पार्ने उद्देश्यका साथ राष्ट्रिय स्तरका नेताहरू ल्याएर चुनाव केन्द्रित कार्यक्रम गर्न थालेका छन् ।

अधिकांश पार्टीहरूले गरेको चुनाव लक्षित कार्यक्रममा उनीहरूले क्षेत्र छुट्टाएर आफ्ना नेतादेखि अधिकांश जनप्रतिनिधिहरूलाई खटाएका छन् । निर्वाचन नजिकिँदै गर्दा चुनाव लक्षित कार्यक्रमहरूमा सबै दलले जनप्रतिनिधि खटाउन थालेपछि अहिले जनप्रतिनिधि आफ्नो कार्यकक्षमा भेटिनै छाडेको भन्दै सेवाग्राहीहरूको गुनासो गरेका छन् । जनप्रतिनिधि चुनाव लक्षित कार्यक्रममा धाउन थालेकै कारण अहिले सेवाग्राहीहरूले सास्ती व्यहोर्नु परेको छ ।

आगामी निर्वाचनमा पनि अहिलेकै जनप्रतिनिधिहरूलाई टिकट दिने कुरामा प्राथमिकता दिने अधिकांश पार्टीको केन्द्रीय धारणा छ । सोही कारण पनि आगामी कार्यकालका लागि पनि दोहोरिन चाहने जनप्रतिनिधि विशेष अहिले जनताको माझमा जाने, अघिल्लो निर्वाचनमा गरेका प्रतिबद्धता पुरा नभएको ठाउँमा टुक्रे बजेटबाट भए पनि सम्बोधन गर्ने र मतदाता फकाउने काममा व्यस्त छन् ।

यस्तै, आगामी कार्यकालमा दोहोरिन नचाहने र चाहे पनि टिकट पाउने सम्भावना नदेख्नेहरू भने पार्टी भित्रका आकांक्षीहरुका लागि माहोल बनाइदिने गरी मतदाता भेटघाटमा व्यस्त छन् । यद्यपि गत निर्वाचनमा गरेको प्रतिबद्धता र घोषणा पत्र अनुसार काम नगरेको भन्दै जिल्लाका अधिकांश स्थानीय सरकारका जनप्रतिनिधिहरूसँग मतदाताहरू रुष्ट देखिन्छन् ।

जनप्रतिनिधिहरूले कार्यकर्तामुखी काम गरेको, अनियमितता र भ्रष्ट्राचारमा संलग्न भएको, जनअपेक्षा र जनभावना अनुसार काम नगरेको भन्दै आम जनताहरू दुखेसो पोख्ने गरेका छन् ।

कार्यकक्षमा भेटिन्नन् जनप्रतिनिधि !

गत बिहीबार पालुङटार नगरपालिका मेयर दीपकबाबु कँडेल आफ्नो कार्यकक्षमा भेटिएनन् । उनले प्रयोग गर्दै आएको सम्पर्क नम्बरसमेत अफ गरेर मेयर कँडेल निर्वाचन प्रचार प्रसारमा दौडिन् थालेका छन् । सेवाग्राही उनलाई भेट्न आए पनि नगरपालिकाका कर्मचारी मेयर सा’प नआउने भन्दै सेवाग्राहीलाई सम्झाउन व्यस्त थिए । त्यस्तै, नगरपालिकाकी उपमेयर तथा न्यायिक समितिको संयोजक पम्फा बसेलससेत कार्यालयमा भेटिन् छोडेकी छिन् ।

अजिरकाेट गाउँपालिका अध्यक्ष फणीन्द्र धिताल पनि कार्यालयमा भेट्न मुस्किल पर्छ । उपाध्यक्ष एवं न्यायिक समिति संयोजक चन्द्रमाया गुरुङ महिनामा १० दिन मात्रै कार्यालयमा हुन्छिन् । घर वडा न १ ध्याचोक भए पनि उपाध्यक्ष गुरुङ बिहान बेलुका गोरखा बजार आउने–जाने गर्छिन् । समाचार स्रोतका अनुसार उनी दैनिक गाउँपालिकाको गाडीमा ८० किलोमिटरको बाटो यात्रा गर्छिन् ।

गोरखा नगरपालिकाका मेयर राजनराज पन्त नगरपालिकाको गाडी दुरुपयोग गर्दै नगरपालिकाको कार्यक्रम भन्दै कांग्रेसको कार्यक्रममा व्यस्त हुन थालेका छन् । कांग्रेसबाट निर्वाचित पन्त फेरी मेयरको टिकट हात पार्न कम्मर कसेर लागेका उनी अहिले धुलो उडाउँदै गाउँ–गाउँ पुगेका छन् । उनी पनि कार्यालय समयमा कार्यालयमा भेट्न सकिन्न ।

जिल्लाका प्राय अध्यक्ष, उपाध्यक्ष यसरी कार्यालय समयमा कार्यालय भेटिनन् । बारपाक-सुलिकाेट गाउँपालिका अध्यक्ष विष्णु भट्ट, उपाध्यक्ष सनमाया गुरुङ, भीमसेन थापा गाउँपालिका अध्यक्ष ईश्वर पाण्डे तथा उपाध्यक्ष बिनु वाग्ले, सहिद लखन गाउँपालिका अध्यक्ष रमेश थापा तथा उपाध्यक्ष इन्दिरा तिवारी, गण्डकी गाउँपालिका अध्यक्ष होमबहादुर राना तथा उपाध्यक्ष ललिता अधिकारीसमेत कार्यालयमा भेट्न मुस्किल छ ।

त्यस्तै, आरूघाट गाउँपालिका अध्यक्ष पूर्ण बहादुर दाहाल तथा उपाध्यक्ष कल्पना तिवारी, धार्चे गाउँपालिका अध्यक्ष सन्त गुरुङ तथा उपाध्यक्ष फुलमाया गुरुङ, चुमनुव्री गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङ तथा उपाध्यक्ष कुमारी गुरुङ र सिरानचाेक गाउँपालिका अध्यक्ष राजु गुरुङ र उपाध्यक्ष रिता देवकोटासमेत कार्यालय समयमा भेट्न मुस्किल छ ।

याे पनि,

गाेरखामा २३ राजनीतिक दलले स्थानीय तह निर्वाचनमा भाग लिन पाउने

गाेरखामा २ लाख २० हजार मतदाता : २१५ मतदान स्थल, ३२१ मतदान केन्द्र

स्थानीय निर्वाचनको रौनक : गोरखामा कुन तहमा को बलियो ?

फर्केर हेर्दा स्थानीय निर्वाचन २०७४ : गाेरखाका कुन स्थानीय तहमा कस्तो नतिजा, अब कस्ताे हाेला ?

प्रतिक्रिया

लेखकको बारेमा

लीलाधर काेइराला