काठमाडाैं- प्रमुख सत्तारुढ नेपाली कांग्रेसले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि राष्ट्रिय अभियान सुरु गर्ने निर्णय लिएको छ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्य सम्पदान समिति बैठकले यस्तो निर्णय लिएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।
‘स्थानीय निर्वाचन वैशाख ३० मा गर्ने सरकारको निर्णय स्वागत गर्दै यो बैठक सम्पूर्ण एकता र सम्पूर्ण सक्रियता साथ स्थानीय निर्वाचनमा केन्द्रित हुने निर्णय गर्दछ’, कांग्रेसले भनेको छ, ‘स्थानीय निर्वाचन घोषणा पत्र तयारी समिति सभापतिले आवश्यक परामर्श गरी अविलम्ब गठन गर्ने निर्णय गरिएको छ’
कांग्रेसले संगठन सुदृढीकरण गर्दै आगामी स्थानीय निर्वाचनमा पार्टीलाई विजयी गराउने लक्ष्य पनि लिएको छ। त्यसका लागि ‘घर-घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु गरिने महतले बताए।
उनले पार्टीको सबै तह, सबै भ्रातृ र शुभेच्छक संस्था एक भएर यो अभियानमा सहभागी हुने निर्णय गरिएको बताए। अभियान आगामी फागुन २० देखि चैत २० सम्म चल्ने उनले बताए।
प्रतिक्रिया