काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आसन्न स्थानीय तहको निर्वाचनमा सबै पालिकामा उम्मेदवारी दिने भएको छ।
अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बिहीबार बसेको राप्रपाको केन्द्रीय पदाधिकारीको बैठकले सबै पालिकामा उम्मेदवार खडा गर्ने निर्णय गरेको हो।
स्थानीय तह निर्वाचनमा अत्यधिक सफलता हासिल गर्नेगरि अघि बढ्ने राप्रपाले जनाएको छ। बैठकमा महामन्त्री एवं स्थानीय तह निर्वाचन परिचालन समितिका संयोजक भुवन पाठकले यसबारे कार्ययोजना प्रस्तुत गरेका छन्।
जसअनुसार, पार्टीको संगठन सुदृढ र क्रियाशील तुल्याउने, पार्टीको नीति, विचार, सिद्धान्त र कार्ययोजनाबारे आमजनतालाई जागरुक गराउन देशव्यापी घरदैलो कार्यक्रम सञ्चालन गर्ने, फागुन महिनालाई प्रशिक्षणको महिना बनाउने, केन्द्रीय, प्रदेश र जिल्ला तहमा प्रशिक्षण सञ्चालन गर्ने, जिल्ला कार्यसमिति र स्थानीय तह अन्तर्गतका समितिको सिफारिसमा फागुन मसान्तभित्र उमेदवार छनोट गर्ने, देशव्यापी पार्टी प्रवेश र कोणसभा सञ्चालन गर्ने र राप्रपाको सम्पूर्ण शक्ति स्थानीय तहको निर्वाचनमा परिचालन गर्ने भनिएको छ।
त्यस्तै, बैठकले समान विचार भएकाहरुसँग एकता, मोर्चा वा सहकार्यका लागि भइरहेका प्रयासको समीक्षा गर्दै जारी वार्तालाई निरन्तरता दिने, संवाद सुरु नभएका व्यक्ति, समूह र दलसँग एकता, मोर्चा वा सहकार्यको लागि बैठकले आह्वान गरेको छ।
यस्तै, राप्रपालाई अनुशासित, मर्यादित बनाउन र पार्टी हित विपरीतका गतिविधिलाई निरुत्साहित गर्न वरिष्ठ नेता नवराज सुवेदीको संयोजकत्वमा प्रवक्ता भक्ति प्रसाद सिटौला र वरिष्ठ अधिवक्ता राजु बस्नेत सदस्य रहेको ३ सदस्यीय केन्द्रीय अनुशासन समिति गठन गरिएको छ।
पार्टीको केन्द्रीय कार्यसमितिको बैठक फागुन ११ गते बुधबार काठमाडौंमा बस्ने निणर्य गरिएको प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
प्रतिक्रिया