+
Search

ताजा अपडेट +

पपुलर +

गोरखा नगरपालिकामा मेयर पन्तको रजाइँ, पुरस्कारको नाममा आसेपासेलाई सम्मान !

लीलाधर काेइराला
२०७८ माघ २२, शनिबार ११:५० बजे

गोरखा– गोरखा नगरपालिकाका मेयर राजनराज पन्तको ५ बर्षे कार्यकाल लगभग अन्तिम अवस्थामा छ । उनी नेपाली कांग्रेसबाट निर्वाचित मेयर हुन् ।

आफ्नो कार्यकाल सकिन लाग्दा समेत उनले आफ्नो चुनावी प्रतिबद्धतासमेत पूरा गर्न सकेका छैनन् । नगरपालिकाका १४ वडामा मेयर पन्तले विकास भन्दा विनाश धेरै गरेको गुनासोको चाङ्नै छ । तर, पछिल्लो समय निर्वाचन केन्द्रित रहेका मेयर पन्तले अनेकौँ हत्कण्डा अपनाउँदै आएका छन् ।

उनले ८औँ नगरसभाबाट पारित भएका ७६ वटा योजनाका करिब २ करोड हाराहारीका बजेट नवौँ नगरसभाबाट रकमान्तर गरेका छन् । चुनाव केन्द्रित योजना राख्दै मेयर पन्तले नगर सभामा बहुमतका आडमा रकम रकमान्तर गरेको वडाध्यक्षले आरोप लगाएका छन् ।

गत बिहीबार नवौँ नगर सभा तयारी बैठकमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)बाट निर्वाचित ६ जना वडा अध्यक्षले मेयर पन्तले एकलौटी निर्णय गरी रकम रकमान्तर गरेको भन्दै बैठक नै बहिस्कार गरेका थिए । ७२ जना नगर सभा सदस्य रहेको नगरपालिकामा २४ जना नगर कार्यपालिका सदस्य छन् ।

नगर कार्यपालिका र नगर सभामा दिइतुहाई बहुमतमा रहेका मेयर पन्तले आफ्ना र कमिसन आउने योजनामा धेरै रकमान्तर गरेको आरोप लगाएका छन् । अझ पछिल्लो समय स्थानीय निर्वाचन केन्द्रित योजनाले प्राथमिकता पाएका छन् । किनकि, ५ वर्षसम्म पनि नगरपालिकाको विकास गर्न नसकेका मेयर पन्त कम्युनिस्टका कारण नगरपालिकाको विकास गर्न नसकिएको भन्दै फन्छिदैं आएका छन् ।

उनले प्रदेश र केन्द्र सरकारका क्षेत्राधिकारको सडक भएकाले नगरपालिकाले बनाउन नसकेको बताउँदै आएका छन् । गत हप्ता गोरखा नगरपालिका-१३, लुदीखोला घाटमा अवैध दोहन गरेपछि चर्को विवाद भएको थियो । विरोधका कारण टोल सुधार समिति, वडा कार्यालय हुदैं नगरपालिकामा सो क्षेत्रका घाट बन्द गर्न माग गरिएको थियो । त्यसपछि फिर्ता भएका मेयर पन्तले अझै पनि दरौंदी नदीको विभिन्न स्थानहरूमा अवैध दोहन गरिरहेका छन् ।

तर, नवौँ नगरसभाबाट बर्थिङ सेन्टरमा सुत्केरी गराए बापत पौष्टिक आहार वितरणका लागि विनियोजन गरिएको कार्यक्रमको बजेटसमेत वृत्तचित्र निर्माण गर्न रकमान्तर गरिएको छ । त्यस्तै महिला सिप विकास कार्यक्रमको बजेट पनि नगरपालिकाले वृत्तचित्र निर्माणका लागि रकामन्तरण गरेको छ।

वडा न ४ फिनामका वडाध्यक्ष खोप बहादुर अधिकारीको अनुरोधमा सो कार्यक्रम रकमान्तर गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत दिनेशराज पन्त बताउँछन् । ‘वडाको योजना भएकाले वडाको अधिकारको कुरो रह्यो’ उनले भने ‘वडाले हामी यो कार्यक्रम गर्न सक्दैनौँ, यसको योजना परिवर्तन गर्नु¥यो भनेपछि नगर सभाले रकमान्तर गरेको हो ।’

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा नगरपालिकाको वडा नम्बर ४ मा २०७४ देखि ०७८ सम्म भएका कामको वृत्तचित्र निर्माणका लागि सुत्केरी पोषण कार्यक्रम र महिला सिप विकास कार्यक्रमको बजेट समेत कटौती भएको छ ।

रकमान्तर गरिएका योजनाहरू दलित सिपमूलक कार्यक्रमदेखि लिएर सडक बाटो निर्माण, गोरेटो बाटो निर्माणसम्मका योजनाको बजेट रहेको नगर सभामा पेस गरिएको प्रस्तावमा उल्लेख छ । नगर सभाले नगरपालिकाको वडा नम्बर १ अन्तर्गत वडा स्तरीय ४ वटा र नगरपालिका स्तरीय २ वटा योजनाको बजेट रकमान्तर गरेको छ । त्यस्तै वडा नम्बर २ को वडा स्तरीय ८ वटा, नगर स्तरीय १ वटा, वडा नम्बर ३ को वडा स्तरीय ४ वटा, नगर स्तरीय २ वटा योजनाको बजेट रकमान्तर गरेको हो ।

त्यस्तै वडा नम्बर ४ वडा स्तरीय ९ वटा, वडा नम्बर ५ को नगर स्तरीय र वडा स्तरीय गरी दुई वटा योजना, वडा नम्बर ६ को वडा स्तरीय ५ वटा र नगर स्तरीय एउटा योजनाको बजेट रकमान्तर गरेको छ । नगरपालिकाले वडा नम्बर ७ को वडा स्तरीय २ वटा, वडा नम्बर ८ को वडा स्तरीय ८ वटा, नगर स्तरीय क्रमगत सहित ४ वटा, वडा नम्बर ९ को वडा स्तरीय ५ वटा, वडा नम्बर १० को वडा स्तरीय र नगर स्तरीय गरी ३ वटा वडा नम्बर ११ को वडा स्तरीय २ वटा र नगर स्तरीय क्रमगत एउटा योजनाको बजेट रकमान्तर गरेको हो ।

त्यस्तै वडा नम्बर १२ को वडा स्तरीय ५ वटा, वडा नम्बर १३ को वडा स्तरीय एउटा र वडा नम्बर १४ को वडा स्तरीय ३ र नगर स्तरीय ३ वटा योजनाको बजेट रकमान्तर गरेको हो ।

खल्तीको मान्छे पुरस्कृत

नगरपालिकाका जनप्रतिनिधिको अन्तिम कार्यकाल भएकाले पनि नगरसभाबाट धेरैले सम्मान पाएका छन् । सम्मान पाउनेहरूमा मेयर पन्तका निजी ड्राइभरदेखि नजिकका व्यवसायीकरण समेत छन् । पछिल्लो समय मेयर पन्तका निजी सचिवकै रूपमा रहेका वातावरण विज्ञ भनिएका धुव्रराज घिमिरेदेखि करिब ३५ हजारमा नगरपालिकाको लोगो बनाएका मोहसिन अलि मियाँसमेत सम्मानित भएका छन् ।

आर्थिक वर्ष २०७६/७७ को विविध शीर्षकबाट नगरपालिकाको लोगो निर्माणका लागि मियाँले जिम्मा पाएका थिए । उनले बनाएको नगरपालिकाको लोगो ०७६ चैत ३ गतेको कार्यपालिका बैठकबाट पारित भएको थियो । सूचनाको हद प्रयोग गरी मागिएको सूचनाका अनुसार नगरपालिकाले लोगो निर्माण गरेबापत उनलाई ३४ हजार ८५० रुपैयाँ भुक्तानी गरेको सूचना अधिकारी चेतप्रसाद अंगाईद्वारा प्रमाणित सूचनामा उल्लेख छ ।

तर, नगरपालिका प्रशासकीय अधिकृत पन्तले भने मियाले नगरपालिकालाई निःशुल्क लोगो बनाइदिएको दाबी गरेका छन् । भन्छन्- ‘नगरपालिकाको लोगो उहाँले निःशुल्क बनाइदिनुभएको हो । त्यसैले उहाँलाई सम्मान गरिएको हो ।’

नगरसभाबाट सम्मान पाउनेमा अधिकांश मेयर पन्त निकटका कर्मचारी रहेका छन् । महामारी रूपमा फैलिएको कोरोनाको कहर तथा प्रथम र दोस्रो चरणको लकडाउनको समयमा मेयर पन्तलाई सहयोग गरेका कर्मचारी सम्मान पाउने सूचिमा छन् । उनीहरूलाई मेयर पन्त, उपमेयर विना कुमारी श्रेष्ठलगायतले सम्मान गरेका थिए ।

पाँच विधेयक पारित

नगरसभाबाट पाँच विधेयकसमेत पारित भएको छ । वन विधेयक, कर्मचारी सेवा व्यवस्थापन गर्न बनेको विधेयक, प्रज्ञा प्रतिष्ठान विधेयक, विकास प्राधिकरण विधेयक र सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयक रहेका छन् ।

नगर सभामा वडा नम्बर ११ का वडाध्यक्ष रामबहादुर खड्काले वन विधेयकलाई प्रस्तावका रूपमा पेस गरेका थिए । यसै गरी वडा नम्बर १४ का वडाध्यक्ष राम बहादुर खड्काले गोरखा नगरपालिकाको कर्मचारी सेवा व्यवस्थापन गर्न बनेको विधेयक सभामामा पेस गरेका हुन् भने प्रज्ञा प्रतिष्ठान विधेयकको प्रस्ताव वडा नम्बर २ का वडाध्यक्ष रहमतुल्ला मियाँले गरेका थिए ।

यसै गरी वडा नम्बर ४ का वडाध्यक्ष अधिकारीले विकास प्राधिकरण विधेयकलाई सभाबाट पास गर्न प्रस्ताव गरेका हुन् । त्यस्तै सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयकलाई सभामा वडा नम्बर १२ का वडाध्यक्ष डिलबहादुर थापा मगरले प्रस्तावका रूपमा पेस गरेका हुन् ।

नगरपालिकाको सहकारी ऐन २०७४ लाई संशोधन गर्न प्रस्तुत प्रस्ताव समेत पास भएको छ । सभामा नगर सभा सदस्य आनन्द गुरुङले सो प्रस्तुत प्रस्तुत गरेका थिए ।

यसै गरी उपमेयर श्रेष्ठले सभामा नगरपालिकाको आर्थिक ऐन र विनियोजन ऐन २०७८ लाई पहिलो संशोधनका लागि प्रस्ताव गरेकी थिइन् । संशोधनका लागि पेस भएका दुवै ऐन समेत सर्वसम्मते पारित भएको नगरपालिको जनाएको छ ।

याे पनि,

नगरपालिकाकै मिलेमतोमा ‘लुदिखोला घाट’मा उत्खनन्

ठेकेदार सांसद र मेयर ‘कनेक्सन’ : संरक्षणको नाममा अवैध उत्खनन्, जोखिममा दरौँदी पुल

मेयर पन्तका चार बर्ष : कम्युनिष्टकाे असहयोगले नगरपालिकाको बिकास गर्न सकिन

आर्थिक अनुशासन र नियम कानुनकाे धज्जी उडाँउदै गाेरखा नगरपालिका

१५ लाखमा खरिद गरेकाे ड्राेन दुईबर्ष देखि स्टोरमै थन्कियो

नियामक निकायको मिलेमत्तोमा ‘अबैध क्रसर’

दरौंदीमा नदिजन्य पर्दाथ उत्खनन् : राजश्वको लोभमा क्रसरलाई खोला सुम्पिदै स्थानीय सरकार

सार्वजनिक सुनुवाई विना घाटगद्दी ठेक्का लगाउँदै गोरखा नगरपालिका

दरौंदी पुलमा मेयरकाे ‘गिद्दे नजर’ : संरक्षणकाे नाममा अवैध दाेहन

दराैंदीमा अवैध दाेहन, अलपत्र गोरखा-आरुघाट सडकखण्ड

गोरखामा पहिलो पटक प्याराग्लाइडिङ परिक्षण उडान

गोरखाका मेयरलाई गिज्याईरहेको ‘गोरखा गेट’

अवुवा क्षेत्रमा अबैध सालका रूख कटान : दोषी उम्काउन मेयरको दवाव

प्रतिक्रिया

लेखकको बारेमा

लीलाधर काेइराला