काठमाडाैं- नेपाल टेलिकमले ग्राहकलाई आफ्नो मोबाइल सेटमा अनावश्यक र शंकास्पद एपहरु इन्स्टल नगर्न वा हटाउन आग्रह गरेको छ।
विगत केही समयदेखि नेपाल टेलिकमका मोबाइल नम्बरमा विदेशबाट मिस्ड कल आउने र सो नम्बरमा कल गर्दा कल सफल भएपनि कोही नबोल्ने, मेसिनले स्वचालित जवाफ दिने र कल गर्ने ग्राहकको व्यालेन्सबाट पैसा काटिने अवस्था यदाकदा देखिएको टेलिकमले जनाएको छ।
टेलिकमका अनुसार केही दिन यता कम्पनीको मोबाइल सेवाका ग्राहकहरुको मोबाइलबाट अटो डायल हुने, अटो डायल भएका ग्राहकको मोबाइलमा कल लग नदेखिने र बाह्य कल सफल भएको अवस्थामा पैसा काटिने जस्ता अवस्था पनि पाइएको छ।
यस्ता घटना सम्भवतः ग्राहकको मोबाइलमा रहेको कुनै एप वा वेबसाइटको माध्यमबाट हुनसक्ने भएकाले ग्राहकले आफ्नो मोबाइल सेटमा अनावश्यक र शंकास्पद एपहरु इन्स्टल नगर्न वा टेलिकमको आग्रह छ।
सामान्यतया कम्पनीका उपकरणबाट यस्ता अनधिकृत कलहरु नहुने भएतापनि कम्पनीका ग्राहकको सुविधाका लागि सम्भवतः कुनै एप तथा वेबसाइटमार्फत हुनसक्ने यस्ता अनधिकृत कार्यका सम्बन्धमा कम्पनीका तर्फबाट आवश्यक विश्लेषणको कार्य भइरहेको टेलिकमको भनाई छ।
साथै, अनधिकृत र अनावश्यक कल हुनसक्ने अवस्थाबाट बच्नका लागि ग्राहक पनि सतर्क रहन तथा कम्पनीले उपलब्ध गराउने लकिङ कोड प्रयोग गरी आवश्यक परेको समयमा आईएसडी सेवा खोली कल गर्ने र आवश्यक नहुने समयमा सो सेवा पुनः बन्द गर्न सकिने विकल्प उपयोग गर्न पनि आग्रह गरिएको छ।
प्रतिक्रिया