गोरखा- राजनीतिले ग्रस्त गाेरखामा रहेकाे एकमात्र सरकारी अस्पातल गाेरखा अस्पातलकी मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु ) शान्ति भुर्तेलको काज फिर्ता भएको छ । स्वास्थ्यकर्मी र कर्मचारीको जागिर खाईदिन्छु भन्दै धम्क्याउने तथा दुर्व्यवहार गर्ने भुर्तेलकाे भरतपुर अस्पतालमा काज फिर्ता भएकाे हाे ।
सोमबार बसेको नेपाल सरकार, स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयको सचिवस्तरीय वैठकले मेसु भुर्तेललाई मंगलबार काज फिर्ता गरेकाे हाे । मन्त्रालयले काटेको पत्रमा लेखिएको छ, ‘यस मन्त्रालय (सचिवस्तर) को मिति २०७८।०४।११ को निर्णयानुसार तपाईलाई पदाधिकार रहेको कार्यालय भरतपुर अस्पताल , चितवनमा काज फिर्ता गरिएको हुँदा पदाधिकार रहेको निकायमा नियमानुसार हाजिर हुन जानुहुन अनुरोध छ ।’
भुर्तेलको काज फिर्ता भएसँगै उनी कन्सल्टेण्ट एनेस्थेसियोलोजिष्ट (अधिकृत नवौ) को रुपमा भरतपुर अस्पतालमा नै फर्कने भएकी छिन् ।भुर्तेल मेसु भएर आएदेखि गोरखा अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीहरुलाई बोलाएर जागिर खाइदिने, सरुवा गर्दिने, करारकालाई म्याद थप नगर्ने भन्दै धम्क्याएर दुर्व्यवहार गर्ने गरेकी थिईन् ।
उनले आफ्नो पदिय जिम्मेवारी र मर्यादा विपरित काम गरेकाले बर्खास्त गर्न माग गर्दै गत जेठ २३ गते गोरखा अस्पतालका चिकित्सक र कर्मचारीहरू विरोधमा उत्रिएका थिए ।
बिरोधमा उत्रिएका कर्मचारी र चिकित्सकहरुले मेसुलाई १० बुँदे आरोप समेत लगाएका थिए । मेसुले जिम्मेवारी पूर्ण रुपमा पालना नगरेको र पूर्वाग्रहपूर्ण नेतृत्व भएकाले काम गर्न सक्ने बाताबरण नभएको भन्दै अस्पतालका कन्सल्टेन्ट अर्थोपेडिक सर्जन हेमन्त दुजानाले गत असार १ गते राजीनामा दिएका थिए ।
प्रतिक्रिया