+
Search

ताजा अपडेट +

पपुलर +

प्रहरी प्रशासनलाई गृहमन्त्री पौडेलको निर्देशन- सरुवा, बढुवा तथा थमौतीका लागि मकहाँ नआउनू

4KNationalDaily
२०७८ असार ११, शुक्रबार १६:२९ बजे

काठमाडाैं- गृहमन्त्री विष्णुप्रसाद पौडेलले नतिजाप्रति जवाफदेही भएर आफ्नो जिम्मेवारी अनुरुपको काम गर्न प्रहरी प्रशासन स्वतन्त्र रहेको बताएका छन्।

शुक्रबार गृहमन्त्रीको रुपमा कार्यभार सम्हाल्दै मन्त्री पौडेलले आफूले मन्त्रीको रुपमा गृह प्रशासन र प्रहरीलाई कुनै पनि प्रकारको हस्तक्षेप नगर्ने बताए। जवाफदेही भएर आ-आफ्नो परिभाषित काम गर्न सबै स्वतन्त्र रहेको उनको भनाइ छ।

उनले आफूसहित गृहसचिवले पनि कुनै प्रकारको हस्तक्षेप नगर्ने बताए। संवैधानिक व्यवस्था र कानुनी प्रबन्धका आधारमा आफ्नो जिम्मेवारी पूरा गर्न उनले निर्देशन दिए। मन्त्री पौडेलले नतिजामुखी काम आफूले खोजेको पनि बताए।

‘मैले काममा हस्तक्षेप गर्ने कुरामा विश्वास गर्दिन। म हरेक व्यक्ति आफ्नो कामप्रति, परिभाषित जिम्मेवारीप्रति जवाफदेही हुनुपर्छ। कामप्रति जवाफदेही हुने, परिणामप्रति जवाफदेही हुने, त्यसहिसाबले अगाडि बढ्नुपर्छ भन्ने मान्यता राख्छु,’ उनले भने, ‘आ-आफ्नो परिभाषित जिम्मेवारी सम्पादन गर्नका निम्ति यहाँहरु सबै स्वतन्त्र हुनुहुन्छ। कुनै प्रहरी संगठनका प्रमुखलाई, सुरक्षा निकायका प्रमुखलाई मन्त्रीले कुनै प्रकारको हस्तक्षेप गर्दैन। गृहसचिवले हस्तक्षेप गर्दैन।’

मन्त्री पौडेलले सरुवा, बढुवा तथा थमौतीका लागि एक जना प्रहरी पनि आफूकहाँ नआउन निर्देशन दिए। आफू मन्त्रीको हैसियतमा गर्नुपर्ने निर्णय र निर्देशनका लागि जिम्मेवार भएको भन्दै उनले प्रहरी प्रमुखका हैसियतले गर्ने काममा प्रमुख स्वतन्त्र भएर काम गर्नसक्ने बताए।

‘मकहाँ एउटा पनि पुलिस नआओस्। अन्याय भयो भनेर साँच्ची नै अन्याय अनुभूत गरेर आउँछ भने त्यो उजुरी सुन्नका लागि म तयार छु। नभए प्रमोसनका निम्ति, थमौतीका निम्ति, सरुवा, बढुवाका निम्ति अथवा स्वदेश, विदेश पठाउने अवसरका निम्ति कुनै एउटा पुलिस मकहाँ नआओस्,’ उनले भने, ‘प्रहरी संगठनका प्रमुखका हैसियतले गर्नुपर्ने कामका निम्ति उहाँहरु स्वतन्त्र हुनुहुन्छ। मेरो जिम्मेवारी सहजीकरणको हो। हामीले गर्नुपर्ने निर्णय, निर्देशनका लागि हामी जवाफदेही÷जिम्मेवार छौँ, त्यस ढंगले गर्नेछौँ। त्यसबाहेकका यावत् कामहरु यहाँहरुले गर्नुपर्दछ।’

उनले राजनीतिक परिस्थितिको प्रभाव गृहमन्त्रालयमा पर्न नहुने पनि बताए। अदालतमा भएका मुद्दा र वर्तमान राजनीतिक परिस्थितिको प्रभावमा नपरी आफ्नो काम गर्न पनि उनले निर्देशन दिए।

मन्त्री पौडेलले आफू मन्त्रालयको कामका साथै राजनीतिक काममा पनि लाग्नुपर्ने भएकाले मन्त्रालयमा समय दिन नसक्ने पनि बताए। उनले गृहसचिवसँग दिनमा एक पटक भेट गर्ने भन्दै प्रहरी प्रमुखलाई आवश्यक परेमात्रै भेट्न अन्यथा गृहसचिवसँगकै समन्वयमा काम गर्न निर्देशन दिए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily