+
Search

ताजा अपडेट +

पपुलर +

बाढीले मनाङका तीन स्थानीय तह पूर्ण क्षतिग्रस्त, दुईसय घरका एक हजार नागरिक विस्थापित

4KNationalDaily
२०७८ असार २, बुधबार १८:१८ बजे

मनाङ– लगातार परेको वर्षाका कारण मनाङमा बाढी आएपछि तीन वटा स्थानीय तहमा पूर्णरुपमा क्षति पुर्‍याएको छ। जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार बाढीले चामे, नासो र ङिस्याङ गाउँपालिकाका अधिकांश स्थानमा क्षति पुगेको हो।

जिल्लाको नासोँ र चामे गाउँपालिका सबैभन्दा बढी बाढीबाट प्रभावित बनेको छ। विभिन्न स्थानीय खोलामा उर्लिएको बाढी बस्तीमा पस्दा चामे र नासोँमा ठूलो क्षति भएको हो। यहाँका कैयौँ घर डुबानमा परेका छन् भने भौतिक संरचनामा क्षति पुगेको छ। बाढीका कारण जिल्लाभर २०० घरका एक हजार नागरिक विस्थापित भएका छन्।

अविरल वर्षासँगै विभिन्न ठाउँमा पहिरो पनि खसेको छ  । स्थानीय प्रशासनका अनुसार घट्टे र च्याट्टु खोलामा आएको बाढीले सदरमुकाम चामेमा छ घर पूरै डुबानमा परेका छन्। प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार ती घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन्।

बाढीबाट विस्थापित तथा जोखिममा रहेका स्थानीयवासीलाई चामे गाउँपालिका–५ माडाकुनामा निर्माण गरिएको कारागारको नयाँ भवनमा सारिएको छ। चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेका अनुसार चामे बजार, नयाँ बजार, तिमाङ र स्यार्कु क्षेत्रका बासिन्दालाई त्यहाँ राखिएको छ।

बाढीले चामे बजारमै रहेको हुलाक कार्यालयसमेत बगाएको छ। दुई खोलाका बीचमा रहेका निजी घरदेखि सरकारी कार्यालयहरू जोखिममा परेका छन्। बाढीले विद्युत् गृह, बेलिब्रिज र काठेपुल बगाएको छ।

यस्तै मस्र्याङ्दी नदीमा आएको बाढीले नासोँ गाउँपालिका–१, ताल गाउँका ५० घर डुबानमा परेका छन्। नासो गाउँपालिका—३ धारापानीमा सरकारी कार्यालय र बैंकका भवनहरु पनि बगाएको छ। बाढीले नासो गाउँपालिकाको प्रशासनिक भवन, अस्थायी प्रहरी चौकी, प्रभु बैंक, कैलाश बैंक, होटल, टहरा र घरहरु बाढीले बगाएको हो।

नासो गाउँपालिका वडा नं २ बाहेक १, ३, ४, ५, ८ र ९ वडा पूर्णरुपमा बाढीपहिरोबाट प्रभावित भएको छ। बस्तीमा बाढी पहिरो आएपछि स्थानीयहरु डाँडातिर भागेर ज्यान जोगाएका छन्। अहिले पनि निरन्तर वर्षा भइरहेकाले एक ठाउँबाट अर्को ठाउँमा जाने अवस्था नभएको स्थानीयवासीले बताएका छन्।

उनीहरु अहिले जङ्गलमा त्रिपालमुनि बसिरहेका छन्। स्थानीयवासीले उद्धारको माग गरिहेको भएपनि मौसम खराबीका कारण अहिलेसम्म उद्धार हुन सकेको छैन। रासस

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily