+
Search

ताजा अपडेट +

पपुलर +

गाेरखा अस्पतालमा मेडिकल सुपरिन्टेन्डेन्टसंगकाे विवादपछि डाक्टरले दिए राजिनामा

4KNationalDaily
२०७८ असार २, बुधबार ०८:०० बजे

गोरखा– गोरखा अस्पताल प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. शान्ति भुर्तेलसँगको विवादपछि कन्सल्टेन्ट अर्थोपेडिक सर्जन (नवौँ तह) डा. हेमन्त ढुंगानाले राजीनामा दिएका छन् । अस्पताल प्रमुख भुर्तेलले आफूसँग प्रतिशोधको व्यवहार गरेको भन्दै ढुंगानाले मंगलबार अस्पतालमार्फत गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयमा राजीनामा बुझाएका हुन् ।

गत चैत ८ गतेदेखि अस्पतालमा करारमा कार्यरत ढुंगानाले असार १ देखि लागू हुने गरी राजीनामा बुझाएका हुन् । गत जेठ २३ गते ढुंगानासहितका केही चिकित्सक तथा स्वास्थ्यकर्मीले अस्पताल प्रमुखको व्यवहारप्रति असन्तुष्टि जनाउँदै प्रमुख जिल्ला अधिकारी र अस्पताल व्यवस्थापन समितिलाई १० बुदे ज्ञापनपत्र बुझाएका थिए ।

ज्ञापनपत्रमा अस्पताल प्रमुखले मनपरी निर्णय गरेको, कर्मचारी तथा चिकित्सकलाई जागिर खाइदिन्छु भन्दै दुव्यवहार गरेको, अस्पतालको सेवा सुधारमा कुनै चासो नदिएको र समन्वय नगरेको जस्ता आरोप लगाइएको थियो । प्रदेशबाट छानबिन टोली आएर अस्पताल विकास समितिको समन्वयमा कोभिडको समयमा मिलेर काम गर्ने सहमति भएको थियो । तर, अस्पताल प्रमुख भुर्तेलले प्रतिशोधको भावना राखेर असहयोग गर्न थालेपछि राजीनामा दिन बाध्य भएको ढुंगाना बताउछन् ।

‘मन्त्रालयले तोकेको कार्यादेश अनुसार एक चिकित्सकको हैसियतले गोरखा अस्पतालमा मैले मेरो विशेषज्ञताको आधारमा उपलब्ध साधन र स्रोतको प्रयोग गरी विरामी लाई सेवा दिएको आम जनमानसमा सवै लाई विदितै छ । तर अस्पतालको सेवा लाई थप प्रभावकारी बनाउनका लागि पटक पटक अस्पतालका नेतृत्व समक्ष राखिएको काम गर्दाको समस्या , सुधारका विषय लगायतका सुझाव वारे सुनुवाई हुन सकेन । अस्पतालको प्रगति तथा विकासका लागि चिकित्सक डाक्टर तथा स्वास्थ्यकर्मीहरुले राखेको समस्या र सुझावका विषयमा अस्पतालका प्रमुख (मेसु) ले सकरात्मक रुपमा लिएर पहल थाल्नु पर्नेमा उल्टै पूर्वाग्रह लिएर असहयोग थाल्नु अत्यन्त दुःखत विषय हो’, राजिनामा पत्रले लेखिएको छ ।

‘कोभिडको बेला यो विषयलाई थाँती राखी मिलेर अघि बढौं भन्ने सहमति भए पनि प्रमुखले प्रतिशोधको भावना राख्दै अनावश्यक दबाब दिन थाल्नुभयो, काम गर्ने वातावरण नै बन्न सकेन,’ उनले भने । सामान्य शल्यक्रियाका लागि आवश्यक सामग्री ल्याउन आग्रह गर्दा पनि भुर्तेलले बेवास्ता गरेको ढुंगानाले बताए ।

गोरखा अस्पताल अहिले गुटबन्दी, आरोप–प्रत्यारोप र दबाबको भूमरीमा अल्मलिएको ढुंगानाको भनाइ छ । २०६९ सालमा १५ शैयाबाट ५० शैयामा स्तरोन्नति भएको जिल्लाको एकमात्र सरकारी अस्पतालमा राजनीतिको चरम रुप देखिएको छ । २०२९ मा स्थापना भएको अस्पतालले दरबन्दी अनुसारका चिकित्सकको पदपूर्ती नहुदाँ राजनीतिकाे चरम रूप देखिएकाे छ।

भद्रगोल गोरखा अस्पताल

अस्पतालकी प्रमुख भुर्तेलको कार्यशैलीप्रति चिकित्सक र कर्मचारी असन्तुष्ट हुन थालेपछि अस्पतालको सेवा समेत प्रभावित हुन थाल्यो । एकजुट भएर नागरिकलाई सेवा प्रदान गर्नुपर्नेमा अस्पताल प्रमुखबाट पटक–पटक दुव्र्यवहार भोग्नुपरेको भन्दै त्यहाँका कर्मचारी तथा चिकित्सकले गुनासो गर्ने गरेका छन् ।

अस्पतालमा प्रशासक र कर्मचारीबीचको आन्तरिक द्धन्द्धका कारण कोरोना महामारीको यस समयमा अस्पताल रेफर सेन्टर जस्तै बन्न पुगेको छ । अस्पतालबाट जटिल खालका बिरामीले अस्पतालमा उपचार पाउँदैनन । यहाँबाट अधिकांस जटिल खालका बिरामी चितवन, पोखरा, काठमाण्र्डौँ रेफर हुने गरेको छ ।

अस्पताल प्रमुख भन्छिन्, ‘आरोप लगाउन पाईन्छ, प्रमाणित हुनपर्याे’

अस्पताल प्रमुख भुर्तेलले भने आरोप जो कसैले लगाउन पाउने तर त्यसको प्रमाण्ति हुनुपर्ने भन्दै टिप्पणी गरेकी छिन् । उनी भन्छिन्–‘आरोप त जो कसैले लगाउन पाईन्छ त । तर, आरोपको पुष्टि हुनपर्याे नि । आरोपको छानविन गर्न प्रदेशबाट टोली आउनु भयो, छानविन गर्नुभयो । आरोप प्रमाणित भएन, त्यसको विज्ञप्ती पनि जारी भईसक्यो । मन्त्रालयले गरेको छानविनबाट आरोप एउटा पनि पुष्टि भएन । त्यसमा उहाँ सहमती हुनुहुन्न भने त त्यो उहाँको कुरा हो ।’ कर्मचारीहरुले भनेअनुसार अस्पताल नचल्ने उनको तर्क छ । तर, प्रदेशबाट आएको ३ जनाको टोली सुपरिबेक्षणमा आएको भन्दै फन्छिएको छ ।

अस्पतालबाट सरुवा हुने क्रम बढ्यो

अस्पतालबाट सरुवा हुने क्रम बढेको छ । विगत ८ महिनामा अस्पतालबाट ६ जना विशेषज्ञ डाक्टरहरु सरुवा भइसकेका छन । अस्पतालमा आएका विशेषज्ञहरु जनरल फिजिसियन डा. अभिषेश वाग्ले असोज १४, प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डा.केशव आचार्य कात्तिक २४, एमडिजिपी डा.सन्तोष बास्तोला चैत २१, मानसिक रोग विशेषज्ञ डा.सुप्रिया शेरचन २०७८ बैशाख २, हाडजोर्नी विशेषज्ञ डा.केशवमणी गौतम बैशाख १५ मा र एनेस्थेसियोलोजिष्ट डा. सुरज ढकाल सरुवा भइसकेका छन ।

अस्पतालमा बालरोग, मानसिक रोग र रेडियोलोजिस्ट लगायतका विशेषज्ञ जरुरी छ । सरुवा भएकाहरु सबै विशेषज्ञ डाक्टरहरु अध्ययन पछि २ वर्षे छात्रवृत्ति करारका हुन । सरुवा भएका मध्ये सबै भन्दा छोटो समयमा जनरल फिजिसियन डा.अभिषेश वाग्ले आएको २१ दिनमै सरुवा भएका हुन । यस्तै, गोरखा अस्पतालमा अहिले छात्रवृत्ति करारकै एमडिजीपी डा. सुदेश्ना लम्साल, प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डा. इरिशा तन्डुकार, जनरल सर्जन डा. विधान सिग्देल, जनरल फिजिसियन डा. अजयराज गौतम, हाडजोर्नी विशेषज्ञ डा. हेमन्त ढुङ्गाना विशेषज्ञहरु कार्यरत छन ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily