काठमाडौं- सिजी कम्युनिकेसनले मंगलबारबाट काठमाडौं उपत्यकामा इन्टरनेट सेवा सुरु गरेको छ। मासिक ९ सय ९९ रुपैयाँमा १ सय २० एमबिपिएस गतिको इन्टरनेट प्रयोग गर्न पाइने ‘सिजी नेट’ ले गुणस्तरमा सम्झौता नगर्ने कम्पनीले जनाएको छ।
सिजीका अनुसार हाल बजारमा उपलब्ध अन्य कम्पनीका इन्टरनेट सेवाभन्दा यो लगभग आधा सस्तो मूल्य हो। सिजी नेटले व्यावसायिक र व्यक्तिगत दुवैका लागि इन्टरनेट सेवा उपलब्ध गराउने छ। चाँडै आइपिटिभी र अन्य सेवा पनि ल्याइने छ।
भिडियो, ओटिटी प्लेटफर्म, वर्क फ्रम होम, अनलाइन कक्षाको बढ्दो प्रयोग र माग सम्बोधन गर्न सीजी नेटले विश्व बजारमा उपलब्ध पछिल्लो पुस्ताको प्रविधि प्रयोग गरेको जनाएको छ।
कम्पनीका अनुसार सुुरुवातमा काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा उपलब्ध हुने तत्कालका लागि जावलाखेल, झम्सिखेल, भनिमण्डल र एकान्तकुनाका बासिन्दाले सेवा लिनसक्नेछन्। १२ महिनाभित्र उपत्यकाका सबै क्षेत्रमा सेवा विस्तार हुनेछ।
ग्राहकले माग गरेको ६ देखि २४ घन्टाभित्र इन्टरनेट जडान गरिने छ। यो वर्ष अन्त्यसम्ममा देशभरि सिजी नेट विस्तार गर्ने लक्ष्य छ। हालका लागि जावलाखेल, कुमारीपाटी, कीर्तिपुर, नयाँबजार, मीनभवन र ट्रेड टावर थापाथलीमा सिजी डिजिटलका शाखा हुनेछन् ।
सेवा सुरुवातका अवसरमा १ सय २० एमबिपिएस गतिको इन्टरनेटका लागि मासिक ९ सय ९९ रुपैयाँ शुल्क तोकिएको छ। ११ हजार ९ सय ८८ रुपैयाँको वार्षिक प्याकेज लिनेलाई जडान खर्च, राउटर र केबुल निःशुल्क गरिएको छ। त्यस्तै मासिक, तीन महिने र ६ महिने प्याकेज लिँदा जडान र केबुल निःशुल्क हुनेछ।
सिजी कम्युनिकेसन्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले उपभोक्तालाई उच्च गुणस्तर र सस्तो दरमा इन्टरनेट प्रदान गर्ने प्रतिबद्धताअनुसार सीजी नेट सुरु गरिएको बताए।
‘दैनिक जीवनमा उच्च गतिको गुणस्तरीय इन्टरनेट अत्यावश्यक भइसकेको छ र माग पनि बढ्दो छ,’ चौधरीले भने, ‘नेपालको प्रतिस्पर्धी ब्रोडब्यान्ड बजारमा आफ्नो बलियो उपस्थिति जनाउन सिजीले कुनै कसर बाँकी राखेको छैन। मुलुकलाई डिजिटल युगमा लैजान हाम्रो उपस्थितिले ठूलो अर्थ राख्नेछ।’
नोकियाको प्रविधिले उच्च गतिको सेवा प्रदान गर्न र भविष्यको बढ्दो बजार माग पूर्ति गर्न आफूहरू सक्षम हुने उनले बताए। सिजी कम्युनिकेसन्स चौधरी ग्रुप (सिजी) अन्तर्गत सूचना प्रविधि क्षेत्रमा काम गर्ने कम्पनी हो।
प्रतिक्रिया