काठमाडौं- नेकपा एमालेका सांसद लालबाबु पण्डितले विधेयक अधिवेशनमा एउटा पनि विधेयक पास हुन नसकेको भन्दै विरोध जनाएका छन्। उनले विधेयक अधिवेशन भनिने सातौं अधिवेशनमा एउटा पनि विधेयक पास हुन्छ कि हुँदैन भनेर जनताले हेरिरहेको बताएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा उनले भने, ‘नाम विधेयक अधिवेशन भनिएको छ। एउटा पनि विधेयक पास गर्छ कि गर्दैन भनेर जनताले हेरिरहेका छन्।’
उनले संसद्मा ६५ विधेयक रहेको बताएका छन्। कतिपय सन्धिसम्झौताहरु अनुमोदनका निम्ति पर्खिरहेको उनले जानकारी गराएका छन्। नेपालको नागरिकता ऐन विधेयकका रुपमा पर्खेर बसिरहेको उनले बताए।
उनले भने, ‘सवा लाखभन्दा बढी नागरिकता पाउने युवाहरु कुरिरहेका छन् र आँशु झारिरहेका छन्। संघीय निजामती ऐनसँग जोडिएको विधेयक यहीँ छ।’
कति समितिले रिपोर्टसहित विधेयक पठाएको तर त्यसलाई संसद्ले अघि नबढाएको उनको आरोप छ। उनले प्रश्न गरे, ‘संसद्लाई सरकारले काम दिएन भनेको सुन्छु। सरकारले ल्याएका विधेयक काम होइन? सन्धिसम्झौता काम होइन?’
यदि जानकारीको अभाव भए संसद्को रिपोर्ट शाखाबाट लिन उनले सुझाए।
उनले यो संविधान समाप्त गर्न चाहनेहरु, संसद्को काम छैन भन्ने ठान्नेहरु, सरकारको मात्रै विरोध गर्न चाहनेहरु र अवैधानिक तरिकाले आफू सरकारमा जान चाहनेहरुले भ्रम फैलाइरहेको बताए।
प्रतिक्रिया