+
Search

ताजा अपडेट +

पपुलर +

ओलीसँग जसपाले सत्तासाझेदारी गर्न लागेको हो? यादव भन्छन् : कुनै सम्भावना नै छैन 

4KNationalDaily
२०७७ चैत्र २, सोमबार ०७:४२ बजे

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्ता सहकार्य नहुने स्पष्ट पारेका छन्।

‘ओलीसँग सत्तासाझेदारीको कुनै सम्भावना नै छैन । अस्ति (बिहीबार)को भेटमा हामीले ओलीलाई प्रस्ट भनी नै सकेका छौँ ,’ नेता यादवले भनेका छन्।

आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित नेता यादवको अन्तर्वार्ताको सारसंक्षेप:

कहिले बालुवाटार, कहिले बुढानीलकण्ठ त कहिले पेरिसडाँडा दौडिरहनुभएको छ । तपाईंहरूको यो दौडधुप केका लागि हो र कहिले सकिन्छ?

मधेस र थरुहट आन्दोलनका क्रममा लगाइएका मुद्दाहरू खारेज गराउने र रिहाइ गराउने हाम्रो प्रमुख एजेन्डा हो । दोस्रो एजेन्डा, प्रतिगमनकारीहरूको हातबाट मुलुकलाई छुटकारा दिलाउने हो । हामीले सबै दलसँग प्रारम्भिक चरणका छलफल सकाएका छौँ । द्विपक्षीय र त्रिपक्षीय छलफलहरू अझै केही समय लम्बिन्छन्।

शुक्रबार बुढानीलकण्ठमा भएको कांग्रेस नेताहरूसँगको छलफलमा कांग्रेस, माओवादी र जसपाबीच सहकार्य गर्ने सहमति बनेको हो?

सहमति बनेको होइन, तर नजिक पुगेको हो।

माओवादी केन्द्रसँगको छलफलमा के कुरा भयो?

सहकार्य गर्ने कुरामा छलफल भयो । हामी निकै उत्साहित भएका छौँ । उहाँहरू हाम्रोजस्तै भाषा बोल्नुहुन्छ । हाम्रो र उहाँहरूको भाषा मिलेको छ।

कांग्रेस, माओवादी केन्द्र र जसपा नै सहकार्य गर्छन् भन्ने निश्चित नै भएको हो?

राजनीतिमा निश्चित भन्ने केही पनि हुँदैन । तर, सम्भावना धेरै छ।

ओली सरकारमै सहभागी हुनेबारे पनि तपाईंहरू वार्तामा हुनुहुन्छ, कांग्रेस र माओवादीसँग पनि छलफलमा हुनुहुन्छ । दुईतिर खुट्टा किन राख्नुभएको?

ओलीसँगको छलफल सत्तासाझेदारी, समर्थन वा सरकार टिकाउनका लागि होइन । केवल रेशम चौधरीको रिहाइका लागि मात्रै हो।

के अब ओलीसँग सत्तासाझेदारीका विषयमा कुनै छलफल नै हुँदैन त?

ओलीसँग सत्तासाझेदारीका कुनै सम्भावना नै छैन । अस्ति (बिहीबार)को भेटमा हामीले ओलीलाई प्रस्ट भनी नै सकेका छौँ । बाँकी विषयमा छलफल त होला, छलफल नै नहुने भन्ने त हुँदैन।

हामी ओलीबाहेकका सबै विकल्पमा खुला छौँ । तर, बल कांग्रेसको कोटमा छ, कता लैजान्छ हेरौँ । हामीले मात्रै त पुग्दैन ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily