+
Search

ताजा अपडेट +

पपुलर +

एमालेमा छुट्टै कमिटी बनाउने माधव नेपाल पक्षको घोषणा, केन्द्रीय कमिटी र राष्ट्रिय भेला डाकियो

4KNationalDaily
२०७७ फाल्गुन २९, शनिबार ०७:५३ बजे

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (एमाले)को माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले छुट्टै पार्टी संरचना खडा गरेको भन्दै आफूले पनि छुट्टै कमिटी बनाउने घोषणा गरेको छ।

शुक्रबार साँझ नयाँ बानेश्वरस्थित अर्याल होटलमा बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकले यस्तो घोषणा गरेको हो।

स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पार्टीमा छुट्टै कमिटी बनाउने अभ्यास सुरु भइसकेको बताए।

‘उहाँहरू (ओली पक्ष)ले पार्टी भनेको हाम्रो मात्रै हो भनेपछि हामीले पनि पार्टी संरचना बनाउनुपर्‍यो नि,’ पाण्डेले नेपाल लाइभसँग भने, ‘हिंजो-अस्तिदेखि नै यो अभ्यास सुरु भएको छ, अब अघि बढाउँछौं।’

बैठकले शनिबार ११ बजे केन्द्रीय कमिटीका सदस्य र सांसदहरूको आकस्मिक बैठक बोलाएको छ। त्यसैगरी चैत ४ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाउने निर्णय गरिएको पाण्डेले बताए। ‘भेलाको निर्णय भोलिको बैठकले गर्नेछ,’ उनले भने।

शुक्रबार ओली पक्षधरको केन्द्रीय कमिटी बैठकले माधव नेपाल पक्षका नेताहरूको जिम्मेवारी खोस्दै पूर्वमाओवादीका २३ जना नेतालाई केन्द्रीय सदस्य मनोनीत गर्नेलगायत निर्णय गरेको थियो।

नेपाल पक्षले त्यो बैठक नै नभएको र त्यस्ता बैठकलाई विधानले नचिन्ने भन्दै त्यसलाई खारेज गरिएको बताएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily