गाेरखा– गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सांसद हरिराज अधिकारीले बिहानै सामाजिक सञ्जाल फेसबुकमा ‘जनयुद्ध’का प्रथम सहिद दिलबहादुर रम्तेलको गोली लागि मृत्यु भएको दिनको सम्झना गरे।
प्रतिनिधि सभा पुन:स्थापना भएर संसद अधिवेशन बोलाउने तयारी भइरहेको समयमा अधिकारीले ०५२ साल फागुन १ गतेदेखि चलेको १० वर्षे सशस्त्र युद्धका पहिलाे सहिदको सम्झना गरे।
गोरखा–१ बाट प्रत्यक्षतर्फ तत्कालीन वाम गठबन्धनको तर्फबाट निर्वाचित अधिकारी पूर्वमाओवादी पक्षका सांसद हुन्। ‘जनयुद्ध’देखि प्रतिनिधि सभा विघटन र पुन:स्थापनासम्मको परिस्थितिलाई सम्झना गर्दै रम्तेलजस्ता सहिदप्रति सच्चा सम्मान हुन नसकेको उनले लेखेका छन्।
कसरी भयो रम्तेलको मृत्यु?
२०५२ साल फागुन १४ गते गोरखामा स्कुल पढ्न गएका ११ वर्षीय बालक दिलबहादुर रम्तेलमाथि प्रहरीको गोली लाग्दा मृत्यु भएको थियो। तत्कालीन विद्रोही पक्ष माओवादीले उनलाई ‘जनयुद्ध’का क्रममा पहिलो पटक गोली हानी हत्या गरिएको भन्दै पहिलो सहिद मान्यो।
२०५२ फागुन १४ गते गोरखाको सूर्यज्योति माध्यामिक विद्यालय ताकुकोटका प्रधानाध्यापक वीरबहादुर गुरूङ र शिक्षक आशाकाजी श्रेष्ठलाई विद्यालयबाटै गिरफ्तार गर्न ठूलो संख्यामा प्रहरी परिचालन भएको थियो। आशाकाजी उम्कन सफल भए तर, वीरबहादुरलाई प्रहरीले गिरफ्तार गर्यो।
उनलाई लिएर ताकुबाट पन्द्रुङ देउराली हुँदै घ्याम्पेसाल जानु पर्ने प्रहरी पन्द्रुङ देउराली जराङतिर लाग्यो। जराङस्थित् ब्रह्मचारिणी निम्न माध्यामिक विद्यालय नजिक पुग्दा विद्यार्थीले शिक्षक गिरफ्तारीको विरोध गरे। विद्यार्थीहरुले शिक्षक पक्राउ गरेर लैजान नहुने भन्दै विरोध स्वरुप प्रहरीलाई अवरोध गरे।
यसरी विवाद हुदै जाँदा प्रहरीको तर्फबाट फाइरिङ सुरु भयो। प्रहरीले चलाएको गोली लागि दुई विद्यार्थी घाइते भए। गोली लागि रामप्रसाद भट्ट र ४ कक्षामा पढ्ने ११ वर्षीय दिलबहादुर रम्तेल घाइते भए। उपचारपछि भट्ट बाँचे भने उपचार गर्न लैजाने क्रममा साविक ताप्ले गाविस छापथोकमा पुर्याउदा दिलबहादुरको मृत्यु भयो।
‘जनयुद्ध’ सुरु भएपछि राज्यले हत्या गरेको पहिलो व्यक्ति भएकोले रम्तेललाई तत्कालीन माओवादीहरुले ‘जनयुद्ध’का प्रथम सहिद मान्न थाले।
रम्तेलको जन्म घरमा बारपाक सुलिकोट-८ जराङ्ग हो। बारपाक सुलिकोट गाउँपालिकामा रम्तेलको नाममा सहिद स्मृती पार्क बनाएको छ। पुष्पकलम दाहाल ‘प्रचण्ड’ले उक्त शहिद पार्कको २०७५ सालमा उद्घाटन गरेका थिए।
प्रतिक्रिया