+
Search

ताजा अपडेट +

पपुलर +

नेपालको आफ्नै स्याटेलाइट : परामर्शका लागि नौ कम्पनीको आवेदन

4KNationalDaily
२०७७ पुष २९, बुधबार ०७:३२ बजे

काठमाडौं- अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट राख्न आवश्यक प्रक्रियागत परामर्शका लागि विभिन्न देशका नौ कम्पनी इच्छुक देखिएका छन्।

स्याटेलाइट सञ्चालनका लागि आवश्यक कानुनी, आर्थिक र सञ्चालन ‘मोडालिटी’मा समेत परामर्श उपलब्ध गराउने गरी नेपाल दूरसञ्चार प्राधिकरणले गरेको आह्वानमा ती कम्पनीको आवेदन परेको हो।

प्राधिकरणका अनुसार आवेदन दिनेमा चीन, फ्रान्स, बेलायत, भारत, दुबई, सिङ्गापुर र जर्मनीका कम्पनी रहेका छन् ।

अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्गठन (आईटीयू)ले अन्तरिक्षमा स्याटेलाइट राख्न सक्ने गरी नेपाललाई दुईवटा ‘अर्बिटल स्लट’ उपलब्ध गराएको छ । त्यही स्लटमध्ये उपयुक्त छनोट गर्ने, सहकार्यमा स्याटेलाइट सञ्चालन गर्न सक्ने, नेटवर्क क्षमता र स्याटेलाइट प्रविधिमा भएका पछिल्ला परिवर्तनको जानकारी राख्ने, स्याटेलाइट निर्माताबीच तुलनात्मक अध्ययन गर्ने, स्याटेलाइट स्थापनाको खर्च तथा त्यसबाट भविष्यमा हुने आम्दानीको आकलन गरेर प्राधिकरणलाई परामर्श उपलब्ध गराउनु पर्नेछ।

आवेदन दिएकामध्ये तीन वा छवटाको सङ्क्षिप्त सूची बढीमा १५ दिनभित्र सार्वजनिक गरिने प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।

सूचीमा परेका कम्पनीबाट आर्थिक तथा प्राविधिक प्रस्ताव माग गरेर त्यसको मूल्याङ्कनपछि परामर्श लिने कम्पनी टुङ्गो लगाइने उनले बताए । यसका लागि बढीमा दुई महिनासम्म लाग्न सक्ने प्राधिकरणको अनुमान छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily