काठमाडौं- नेपाल–भारत पूर्वी सीमावर्ती क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले जबर्जस्ती पिलर गाडेको थाहा पाएपछि स्थानीयले रोकेका छन्।
इलामको सूर्योदय नगरपालिकाको हिलेभन्ज्याङमा आइतबार राति एसएसबीले पिलर गाडेको थाहा पाएपछि घटनास्थल पुगेर स्थानीयले पिलर गाड्न रोकेका खबर आजको राजधानी दैनिकमा भगीरथ भण्डारीले लेखेका छन्।
स्थानीयको हुलसहित सशस्त्र प्रहरी पुगेपछि आफूले गाडेको पिलर उखेलेर एसएसबी त्यहाँबाट भागेको छ।
एसएसबीले ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) ले देखाएको ठाउँ भन्दै नेपाली भूभागपट्टि पिलर गाड्ने प्रयास गरेको सशस्त्र प्रहरी बलको पशुपतिनगरस्थित बोर्डर आउट पोस्ट (बीओपी)का इन्स्पेक्टर नवीन खतिवडाले बताए । उनले भने, ‘हामी कसैलाई थाहै नदिई विवादित ठाउँमा एसएसबीले पिलर गाड्न खोजेको रहेछ।’
भारतले सीमा क्षेत्रमा राखेको एसएसबीको बीओपीमा नयाँ नेतृत्व आएपछि पिलर गाड्ने प्रयास भएको सशस्त्र प्रहरी निरीक्षक खतिवडाले बताए।
नेपाल र भारतको सिमानामा लामो समयदेखिको विवाद र मिचामिचको अवस्था अहिले पनि जस्ताको त्यस्तै छ । पटक पटक सिमानामा भएको विवादले स्थानीय समस्यामा पर्न थालेका छन् । केही समय अघिदेखि सीमामा समस्या नभएजस्तै गरे पनि सानोतिनो समस्या अहिले पनि देखिरहने गरेको छ।
भारतीय सीमा क्षेत्र इलामको पशुपतिनगरसहित सलकपुर, समालवुङ, छब्बिसे, कालपोखरी र जौवारीमा बीओपी स्थापना भइसकेका छन् । मानेभन्ज्याङमा बीओपी राख्ने तयारी अन्तिम चरणमा पुगेको छ भने पाटापुर, मेघमा, गोर्खे र सन्दकपुर पनि प्रस्तावित छन्।
प्रतिक्रिया