+
Search

ताजा अपडेट +

पपुलर +

अहमदाबादको होटलमा भाँडा माझ्दा नै सन्तोषले देखेका थिए सेफ बन्ने सपना

4KNationalDaily
२०७७ पुष ४, शनिबार १०:२९ बजे

काठमाडौं- रियालिटी सो ‘बिबिसी मास्टर सेफ प्रोफेसनल्स’ को उपाधि जित्न नसके पनि नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएका छन् सिरहाका सन्तोष साह।

उनी मधेस, पहाड र हिमालको खान्की पस्केर ‘बिबिसी मास्टर सेफ प्रोफेसनल्स’ प्रतियोगिताको उपविजेता बन्न सफल भएका छन्। पाककलाको प्रतिस्पर्धा हुने यो रियालिटी सोमा व्यावसायिक सेफहरूले भाग लिन्छन्। नोभेम्बरको दोस्रो साता सुरु भएको प्रतियोगिता सात सातासम्म चलेर बिहीबार अन्तिम चरण सम्पन्न भएको छ।

सन्तोषले प्रतियोगितामा लगातार नेपाली परिकार पस्केर निर्णायकको मन जितेका छन्। उत्कृष्ट तीनका लागि भएको प्रतिस्पर्धामा आफ्नो सबैभन्दा प्रिय व्यक्तिलाई समर्पित गर्दै परिकार बनाउने भन्दा सन्तोषले आमालाई सम्झेर परिकार बनाएका थिए।

सिरहाको कर्जन्हा नगरपालिका–९ सुडियानी गाउँमा ३५ वर्षअघि सुमारीदेवीको कान्छो छोराका रूपमा जन्मेका हुन् सन्तोष। उनी पाँच वर्षकै छँदा बुवा सीताराम साहलाई गुमाएका थिए। उनलाई आमा सुमारीदेवीले हुर्काइन्।

कमजोर आर्थिक अवस्थाका कारण सन्तोषको बाल्यकाल कष्टपूर्ण बित्यो। उनले स्कुलको पढाइसमेत राम्ररी पूरा गर्न पाएनन्। सानो छँदा आर्थिक अभाव टार्न सन्तोष स्थानीय हाटबजारमा प्लास्टिकका झोला तथा पाउरोटी बेचेकाे खबर आजको नागरिक दैनिकमा मिथिलेश यादवले लेखेका छन्।

उनले कमला सिँचाइ नहरमा मजदुरीसमेत गरे। सानै उमेरमा खर्च धान्न मजदुरी गर्नुपर्ने बाध्यताका कारण उनले पढाइमा समय दिन सकेनन्। फलतः उनी एसएलसी परीक्षामा अनुत्तीर्ण भए। १६ वर्षको उमेरमा उनी कामको खोजीमा भारतको अहमदाबाद पुगे।

सन्तोषका बालसाथी प्रमोद महतो भन्छन्, ‘हामी सँगै अहमदाबादको एउटा रेस्टुरेन्टमा भाँडा माझ्ने काम गथ्र्यौं। त्यहींबाट सन्तोषले प्रख्यात सेफ बन्ने सपना पाल्न थालेका थिए। लगनशीलता, धैर्य र निरन्तरको मेहनतले उनी शिखर चुम्न सफल भए, आफ्नो सपना साकार पारेरै छाडे।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily