+
Search

ताजा अपडेट +

पपुलर +

शिक्षक र विद्यार्थीका लागि टेलिकमले ल्यायो ५ जिबी डेटा तथा भ्वाइससहितको निःशुल्क सिम

4KNationalDaily
२०७७ मंसिर २१, आईतवार १७:१२ बजे

काठमाडौं– नेपाल टेलिकमले देशभरका सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई ‘पाठशाला क्लोज्ड युजर ग्रुप (सियुजी) सिम’ योजनाअन्तर्गत निःशुल्क सिमकार्ड वितरण गरिरहेको छ।

कोरोना महामारीको समयमा पनि अनलाइन माध्यमबाट विद्यालयको पठनपाठन जारी राख्नका लागि कम्पनीले निःशुल्क सिम उपलब्ध गराइरहेको हो।

सो सिममार्फत् ग्रुपमा आबद्ध सबै विद्यार्थी वा शिक्षकहरुले एकआपसमा जति पनि (असीमित) कुराकानी गर्न शिक्षा मन्त्रालयको कक्षा १ देखि १० सम्मको पाठ्यसामग्री रहेको वेबसाइट चलाउन ५ जिबी डाटा र एकैपटक धेरै सन्देश अर्थात् बल्क एसएमएससमेत पठाउन सक्नेछन्।

यी सुविधा प्रयोग गरेवापत मासिकरुपले लाग्ने जम्मा ९९ रूपैयाँ ‘विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना २०७७’ बमोजिम स्थानीय निकायमार्फत् सरकारले व्यहोर्नेछ।

यस योजनाबमोजिम कक्षा १ देखि १२ सम्मका सरकारी वा सामुदायिक विद्यालयका हरेक विद्यार्थी र शिक्षकले १ थान निःशुल्क पाठशाला (सियुजी) सिमकार्ड लिन सक्नेछन्।

प्रशस्त सहुलियत प्रदान गरिएको आकर्षक यस योजनामा आबद्ध हुन नेपाल टेलिकमको जिएसएम वा सिडिएमए प्रिपेड मोबाइल नम्बर आवश्यक पर्दछ। विद्यार्थी र शिक्षकले चाहेमा पहिलेदेखि नै प्रयोग गरिएको प्रिपेड सिमकार्डलाई पनि पाठशाला सियुजीमा आबद्ध गर्न पनि सकिनेछ। नेपाल टेलिकमको प्रिपेड सिमकार्ड नहुने विद्यार्थी वा शिक्षकहरुले निःशुल्क रुपमा उपलब्ध हुने नयाँ प्रिपेड सिमकार्ड लिनसमेत सक्नेछन्।

विद्यार्थीको लागि सिमकार्ड लिँदा विद्यार्थीको नाममा वा अभिभावकको नाममा लिन सकिनेछ। निःशुल्क सिम प्राप्त गर्नका लागि शिक्षक तथा विद्यार्थीले कम्पनीले निर्धारण गरेको प्रिपेड मोबाइलको आवेदन फाराम रीतपूर्वक भरी सम्बन्धित सार्वजनिक विद्यालयमा बुझाउनु पर्नेछ।

यसरी आवेदन फारामको साथमा विद्यार्थीको परिचयपत्रको प्रतिलिपी, विद्यार्थीको नागरिकताको प्रतिलिपी वा नागरिकता नबनेको भएमा अभिभावकको नागरिकताको प्रतिलिपी संलग्न गर्नुका साथै आवेदन फारामको निर्धारित स्थानमा एकप्रति फोटो टाँसिएको हुनुपर्नेछ। विद्यार्थीले सिमकार्ड उनीहरुकै वा अभिभावकको नाममा पनि लिन सक्नेछन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily