+
Search

ताजा अपडेट +

पपुलर +

खुमलटार र बालुवाटारमा गुटका भेला बन्द गरौँ : गृहमन्त्री थापा

4KNationalDaily
२०७७ कार्तिक १७, सोमबार ०८:०२ बजे

काठमाडौँ- नेकपा सचिवालय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले खुमलटार र बालुवाटारमा गुटका भेला बन्द गरेर पार्टी कमिटीमा छलफल गर्नु सुझाव दिएका छन्।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ दुवै जनालाई भेटेर बालुवाटार र खुमलटारमा चलेका गुटका भेला बन्द गर्न आग्रह गरेका हुन्।

आइतबार बिहान ११ बजे प्रचण्डले बोलाएको छलफलमा थापा सहभागी भई एकताको पक्षमा धाराणा राखेको थापाको सचिवालयले जनाएको छ। लगतै थापाले पार्टी विभाजनलाई रोक्ने चार बुँदे अवधारणा लिएर अर्का अध्यक्ष ओलीलाई भेट्न दिउँसो बालुवाटार पुगेका थिए।

पार्टी कमिटीले गरेको निर्णय दुई अध्यक्षले पालना गरे विभाजनको स्थिति नआउने थापाको ठहर छ।

थापाले चारबुँदे सुझावमा यसअघि स्थायी कमिटी बैठकले गरेको निर्णय अक्षरसः पालना गर्नुपर्ने, दुई अध्यक्षले बालुवाटार खुमलटारमा गुटका भेला बन्द गर्नुपर्ने, पार्टी एकतामा पहिलो नम्बरका अध्यक्ष केपी ओली सबैभन्दा धेरै जिम्मेवार हुनु पर्ने र पार्टीभित्रको विवाद सचिवालय,स्थायी कमिटी र केन्द्रीय कमिटीमा छलफल हुने पर्ने माग गरेको थापाको सचिवालयले जनाएको छ।

‘पार्टी हो, छलफल हुन्छ, बहस हुन्छ, विवाद हुन्छ। त्यस्ता विषय आ–आफ्ना गुटका भेला बोलाएर गर्ने होइन,’ थापाको सचिवालय स्रोतले भन्यो, ‘पार्टीमा देखिएका विवाद सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा छलफल गरौँ।’

पार्टीभित्र देखिएका विवादका विषयमा कमिटीमा छलफल गर्दापनि सहमति नभए आ–आफ्नो बाटो लाग्दा राम्रो हुने थापाको भनाइ छ।

पार्टी विभाजन नै गर्ने भएपनि कमिटीभित्र छलफल गरेर व्यवस्थित रुपमा गर्नु पर्ने उनको सझुाव छ। गृहमन्त्री थापा दुई अध्यक्षको समदुरीमा छन्। तर, प्रचण्डले बोलाउने गुटको भेलामा भने नियमित पुग्ने गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily