काठमाडौं- सुन्धारास्थित ईशान होटलमा एउटा हल्ला सुनियो ‘मसँग ११ लाख छ, यत्ति पैसा सचिव र महानिर्देशकलाई दिनका लागि हो ।’ बुधवार मध्यराती होटलमा यसरी हल्ला गरेको सुनेपछि प्रहरी कन्ट्रोलको १०० नम्बरमा कसैले फोन गरे ‘सरकारी कर्मचारी लाखौं छ भन्दै हल्ला गरिरहेका छन् ।’
प्रहरी तत्काल घट्नास्थल पुग्यो । महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले महाकाली सिँचाई आयोजनाका निमित्त प्रमुख प्रचण्डदेव विष्टलाई पक्रियो ।
युवतीको साथमा होटलमा मस्ति गरिरहेका विष्टको साथबाट प्रहरीले स्रोत नखुलेको ११ लाख रुपैयाँ बरामद गरेको छ ।
बरामद गरिएको ११ लाखसहित उनलाई प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा बुझाएको छ ।
दार्चुला घर भएका ५१ वर्षीय प्रचण्डदेव विष्टलाई नियन्त्रणमा लिईएको पुष्टि गर्दै अख्तियारका प्रवक्ता (सहसचिव) तारानाथ अधिकारीले भने– ‘११ लाख रकमको स्रोत खुलेको छैन्, थप अनुसन्धान प्रक्रिया अगाडी बढाएका छौं ।’
प्रतिक्रिया