+
Search

ताजा अपडेट +

पपुलर +

आज सुरेश वाग्ले स्मृति दिवस : को हुन् वाग्ले ?

4KNationalDaily
२०७७ भाद्र २३, मंगलवार ११:२८ बजे

महान जनयुद्ध´को क्रममा उच्च शहादत प्राप्त नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का तत्कालीन वैकल्पिक पोलिटब्युरो सदस्य सुरेश वाग्ले (वासु)को जन्म गोरखाको पालुङ्ग्टार नगर पालिका वार्ड नं.-२ (साबिक आँपपिपल गा.वि.स. -५ )स्थित रातडाँडा भन्ने गाउँमा २०१० साल भाद्र २४ गते बुधवारका दिनमा बुबा भोजराज वाग्लेका ज्येष्ठ सुपुत्रका रूपमा आमा दुर्गादेवी वाग्लेको कोखबाट भएको थियो ।

गरिब किसान परिवारमा जन्मिनु भएका वाग्ले बाल्यावस्थामा भौतिक रूपमा अत्यन्तै कमजोर तर कुशाग्र बुद्धिका हुनुहुन्थ्यो । ६ वर्षको उमेरमा संस्कृत शिक्षा पढ्नका लागि मावली घर बक्राङ जानुभएका वासुले त्यही मामा घरमै बसेर साहिँला हजुरबा गणेशप्रसाद अर्याल (काना गुरु) सँग कक्षा ७ बराबरको औपचारिक शिक्षारम्भ हासिल गर्नुभएको थियो ।

याे पनि,

को हुन् ‘महान् सहिद’ सुरेश वाग्ले

पछि २०२४ सालमा काठमाडौंमा गएर रानीपोखरीस्थित भानु मा.वि. बाट कक्षा ८ मा मध्यमा द्वितीय श्रेणीमा उत्तीर्ण गर्नुभयो । त्यसै गरी रानीपोखरी संस्कृत छात्र वासमा बसेर २०२८ सालमा वाल्मीकि क्याम्पसबाट उत्तर मध्यमा र २०३० सालमा शास्त्री सम्मको अध्ययन पनि नियमित रूपमा पूरा गर्नुभएको थियो ।

यसै क्रममा २०२७ सालबाटै उहाँ नेपाल र नेपालीको मुक्तिका लागि सबै प्रकारका प्रतिक्रियावादसँग लड्दै आएको `नेपाल कम्युनिस्ट पार्टी´प्रति आकर्षित हुन पुग्नुभएको थियो ।

त्यति बेलै उहाँले ऐतिहासिक द्वन्द्वात्मक भौतिकवाद, कम्युनिस्ट घोषणा पत्र, मार्क्सवादी दर्शन र लेनिनका क्रान्तिकारी ग्रन्थहरूको अध्ययन गर्नुका साथै माओका संकलित रचनाहरूको समेत अध्ययन गरेर आफूलाई पनि समाज परिवर्तनको महान् क्रान्तिकारी बाटोमा हिँडाई सक्नुभएको थियो । सृजनशील क्षमता र सही विश्लेषण गर्न सक्ने तागत भएका क. सुरेश वाग्ले विद्यार्थी अवस्था देखि क्रान्तिकारी संगठन (गण्डकी विद्यार्थी परिषद्) मा आबद्ध भई त्यसको सचिव समेत हुनुभएको थियो ।

उहाँले त्यस बेला गण्डकी विद्यार्थी संगठनको मुख पत्र ‘लालुपाते’मा म्याक्सिम गोर्कीको बारेमा विश्लेषणात्मक लेख समेत छपाउनुभएको थियो ।२०३१ सालमा आफ्नै गृह जिल्ला गोरखा फर्किएर २०३२ मा आफ्नै गाउँ आँपपीपलको जनता मा. वि.मा शिक्षण पेसामा आबद्ध भएयता २०३४ सम्ममा त उहाँ तत्कालीन ने.क.पा.(चौम) को पार्टी सदस्य समेत भइसक्नु भएको थियो ।

उहाँले शिक्षकहरूको छाता संगठन `नेपाल राष्ट्रिय शिक्षक संगठन´मा पनि काम गर्नुभएको थियो । २०३६ साल सम्म पुग्दा उहाँ गोरखाको क्रान्तिकारी शिक्षकहरूको नेता बनिसक्नुभएको थियो ।

२०३५/३६ साल तिर गोरखाको हंसपुर गाविसको `ज्ञान ज्योति मा.वि.´ मा सरुवा हुनु भएका वाग्लेसँग त्यहाँ टुकनाथ अधिकारी, तुलसी खनाल, विजेश्वरी यादव, ऋषि अधिकारी, भोजनाथ धिताल आदि वामपन्थी शिक्षकहरूसँग सहकार्य गर्न पुग्नु भयो। दिउँसो उहाँहरू विद्यालयको शिक्षणलाई अनुशासित ढंगले अगाडि बढाउँदै र बिहान/ बेलुका स्थानीय जनतालाई अन्याय र अत्याचारको विरुद्ध गोलबन्द गराउँदै गरिब र निमुखाको सत्ता ल्याउने मार्क्सवादी शिक्षाले प्रशिक्षित र संगठित गर्दै लैजानुहुन्थ्यो ।

उहाँहरूका यस्ता क्रान्तिकारी गतिविधिहरूलाई पञ्चायतका भरौटेहरूले देखिसहेनन् । अनेक बहना बनाएर यी संगठित शिक्षकहरूलाई पञ्चका भरौटेबाट षड्यन्त्रमूलक ढंगले तितरबितर बनाइयो । वाग्ले पुनः आँपपीपलमै सरुवा हुनुभयो ।

ज्ञान ज्योति स्कुलबाट वाग्ले, खनाल लगायत वामपन्थी शिक्षकहरूलाई तितरबितर बनाइ सकेपछि उक्त स्कुल कांग्रेसिहरुको बिना बर्दीको सिपाही पाल्ने भर्ती केन्द्र बन्न पुग्यो। अखिल विद्यार्थीहरूलाई झुट्टा आरोप लगाउने, यातना दिने, २-३ वर्ष नियोजित ढंगले फेल गरिदिने, गुन्डा लगाएर पिटाउने, खेद्ने जस्ता अत्यन्तै बर्बर दमन गरियो । पीडा सहेर ज्ञान ज्योतिमा अखिलका विद्यार्थीहरूले आफ्नो अध्ययनलाई अगाडि बढाइरहे। धेरै प्रतिकार गरेमा आफ्नो भविष्य नै खत्तम हुने डरले धेरै विद्यार्थीहरू त्राहिमाम् पढ्न विवश भए ।

२०३७ सालमा नेपाल राष्ट्रिय शिक्षक संगठन गोरखा´को पहिलो जिल्ला अधिवेशनमा सचिव पदमा वाग्ले निर्वाचित हुन पुग्नुभयो । त्यसपछि उहाँ नेपाल राष्ट्रिय शिक्षक संगठन गोरखा´बाट केन्द्रीय प्रतिनिधि बन्नुभयो । `नेपाल राष्ट्रिय शिक्षक संगठन´को प्रत्येक बैठकमा वाग्ले पार्टीको लाइन लिएर जानुहुन्थ्यो र प्रस्तावित त्यो लाइनको सही विश्लेषण गरी बैठकमा पास गराउने अग्रिम भूमिका खेल्नु हुन्थ्यो ।

यसरी यस क्षेत्रमा कम्युनिस्ट पार्टीको नेतृत्व गरेकै कारणले तत्कालीन पञ्चायती व्यवस्थाले वाग्लेलाई अस्थायी शिक्षकको रूपमा रहन बाध्य पारिरह्यो, स्थायी हुनै दिएन । आफ्नो घरायसी र व्यक्तिगत समस्यालाई उहाँ शिक्षक संगठन र कम्युनिस्ट पार्टीको समस्याको तुलनामा जहिले पनि गौण ठान्नुहुन्थ्यो । पार्टी र संगठनको समस्यालाई प्रधान समस्याको रूपमा लिनुहुन्थ्यो ।

२०४१ सालमा गोरखा जिल्लाका तत्कालीन पञ्चायती व्यवस्थाका दूतहरूले उहाँलाई “नेपाल राष्ट्रिय शिक्षक संगठनबाट राजीनामा दिए मा.वि. स्थायी शिक्षक बनाइदिन्छौ, बरु स्थायी भएपछि तपाईँ पुनः नेपाल राष्ट्रिय शिक्षक संगठन´को जिम्मेवार सदस्य भए पनि त्यसमा हामीलाई कुनै मतलब छैन र तपाईंले राजीनामा दिएको कुरा पनि गोप्य राख्छौँ” भन्दा पनि वाग्ले संगठन´मा रहेर ‘अस्थायी नै बस्नु परे पनि ठिक छ, म आफ्नो नैतिकतालाई धरौटी राखेर स्थायी शिक्षक बन्ने मेरो नैतिकताले दिँदैन’ भनी पञ्चायती व्यवस्थाका दूतहरूको प्रस्तावलाई सिधै अस्वीकार गर्नुभएको थियो ।

कठोर साधना र तपस्यापछि २०४६ र ४७ को आन्दोलनपछि उहाँ स्थायी शिक्षक बन्न पुग्नुभयो । १७ वर्षसम्म शिक्षण पेसामा अविच्छिन्न सेवा गरेका वाग्लेलाई पञ्चायती शासकहरूले त्यस बेलासम्म स्थायी हुन दिएका थिएनन् । उल्टै उहाँले उग्र वादी´ को बिल्ला भिर्नुपरेको थियो ।उग्र वादी´ आरोपकै कारण वि. सं. २०३६ सालमा प्रहरीको गिरफ्तारीमा समेत पर्नु भयो। गिरफ्तारीमा परेकै कारण उहाँ स्थायी हुन पाउनुभएको थिएन ।

२०४७ सालको प्रतिनिधि सभाको चुनावमा नेकपा (एकता केन्द्र)ले चुनाव उपयोग गर्ने उद्देश्यले डा. बाबुराम भट्टराईको संयोजकत्वमा बनाएको पार्टीको वैधानिक मोर्चा `संयुक्त जनमोर्चा, नेपाल´को तर्फबाट उहाँलाई गोरखा क्षेत्र नं. ­२ को उम्मेदवारमा छनौट गर्‍यो । चुनावी कलाको अभावमा उहाँ सो चुनावमा १३ हजार ६७८ मत ल्याएर पनि झिनोतमले तत्कालीन नेपाली काँग्रेसकी उम्मेदवार मायादेवी श्रेष्ठबाट पराजित हुनुपर्‍यो ।

चुनावमा पराजित भएपछि उहाँ तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एकता केन्द्र)को पूर्णकालीन कार्यकर्ता बन्न पुग्नुभयो। त्यसै वर्ष उहाँ जिल्ला पार्टी सचिवमा चुनिनुभयो । २०४८ सालबाट २०५२ सालसम्म वाग्ले नेकपा (एकता केन्द्र) गोरखाको जिल्लाको नेतृत्व तहमा हुनुहुन्थ्यो । मार्क्सवादको गहिरो अध्ययनले उहाँको उचाइ धेरै माथि पुगिसकेको थियो ।

मार्क्सवाद-लेनिनवाद-माओवाद प्रति पूर्ण आस्था र विश्वास गर्दै यसलाई नै आफ्नो पथप्रदर्शक सिद्धान्तको रूपमा मान्दै नेकपा (माओवादी)को कार्यदिशा अनुकूल नयाँ जनवादी क्रान्ति´ सम्पन्न गरी समाजवाद र साम्यवादको ध्येय र उद्देश्य हासिल गर्नका लागि आफ्नो महान् जिम्मेवारी पूरा गर्न उहाँ ०५२ साल फागुन १ गतेबाट नेकपा (माओवादी)ले थालेको महान जनयुद्ध´मा सरिक हुन केही समय पहिलेबाट नै भूमिगत हुनुभएको थियो ।

रोल्पा, रुकुम, गोरखा, सिन्धुली लगायतका जिल्लाबाट सुरु भएको जनयुद्ध´को झिल्कोलाई देशव्यापी विस्तार गर्दै पार्टीको महत्त्वपूर्ण जिम्मेवारी बहन गर्ने,प्रतिक्रियावादी राजतन्त्रात्मक संसदीय व्यवस्था´लाई ध्वंस गर्दै नयाँ जनवादी व्यवस्था स्थापना´ गर्न नेपाली भूमिमा विकास भएको जनयुद्ध´को योजनाकारहरू मध्य उहाँ पनि एक हुनुहुन्थ्यो। उहाँलाई त्यसै क्षमताको कारणले नै ०५५ मा नेकपा (माओवादी)ले पोलिटब्युरो वैकल्पिक सदस्य बनाएको थियो ।

२०५६ भदौमा पार्टीको केन्द्रीय समितिकोको पूर्ण बैठकपछि पार्टीकै कामको सिलसिलामा जनसेनाको प्लाटुन कमान्डर तथा पार्टीको जिल्ला सदस्य भीमसेन पोखरेल (जो यो वर्ष निकै चर्चामा रहनु भएकी क.उमा भुजेलको श्रीमान् हुनुहुन्थ्यो) र एक महिला प्लाटुन सदस्य चिजा गर्तौलासँग गोरखाको गाँखुमा भाद्र २३ गते छोप्राक मैदानबाट गस्तीमा गएका नेपाल प्रहरीको स्पेसल कमाण्डो फोर्ससँग जम्काभेट भयो । त्यसपछि घेरा तोड्न खोज्दा उहाँसँगै रहनुभएका प्लाटुन कमान्डर भीमसेन पोखरेलको गोली लागेर मृत्यु भयो । प्लाटुन सदस्य सरु चाहिँ घेरा तोड्न सफल हुनुभयो ।

भीमसेन पोखरेलको हत्या गरिसकेपछि प्रहरीले वाग्लेलाई केही समय कब्जामा राख्यो । त्यसपछि उहाँलाई आत्मसमर्पण गर्न भनिएको थियो तर त्यो कुरा उहाँले नमानेपछि त्यहीँ गोली हानी प्रहरीले हत्या गरेको थियो ।

यसरी उहाँको महान जनयुद्धमा शहादत हुन पुगेको थियो। आज भाद्र २३ उहाँहरूको २१ औँ स्मृति दिवस´ हो। यस स्मृति दिवस´मा उहाँहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily