आजकाल सधैं मिडियाले दिने न्यूज खासगरी उस्तै छ । यतिजनालाई कोरोना लाग्यो यति जना मरे । यसमा अर्को न्यूज पनि थपिन्छ, सरकारले एक हप्ता लकडाउन वा सटडाउन बढाएको छ । जे जस्तो नाम राखेपनि आखिर जनताले भोग्नु पर्ने सास्ति नै त हो ।
यति दिन लकडाउन गर्ने, यो तरिकाबाट यसरी खुकुलो बनाउंदै लैजाने भनेर कुनै आधिकारिक सरकारी तवरबाट कुनै भिजनको कुरा बाहिर आउंदैन । लगातार लकडाउनमाथी लकडाउन थपिदां जनताहरूमा अन्योल माथी अन्योल बढ्दै गएको छ ।
राहतको नाममा सरकारले लकडाउनबाहेक केही दिन सकेन ! तर दिनहुं ज्याला मजदुरी गरेर हिंड्नेहरू आज भोकभोकै बस्नु परेको छ । रोगले मरिन्छ कि भनेर भारतबाट कयौं दिन लगाएर देश फर्किएकाहरू आज भोकले मरिने भैयो बरू रोगले मरे मरौंला भन्दै फेरि भारत तर्फ लागेका छन ।
यो भन्दा सरकारको लागि लाजामर्नु कुरा अरू केही छैन ! बिपन्न परिबार देखि सामान्य परिवारलाई आजकाल पिडाले सताएको छ ! अब के खाने ! अब कतिञ्जेल थुनिएर बस्ने !
कोरोना भाइरस नेपालमा मात्र देखिएको रोग होइन, यो बिश्वब्यापी महामारीको रूपमा फैलीएको रोग हो । यो छिटै नियन्त्रणमा आउने रोग पनि होइन ! त्यसैले बिश्वका अन्य देशहरूले कसरी रोगसंग लडेर अगाडि बढेका छन त्यो बुझ्नु जरूरी छ । हामीले पनि रोगलाई रोग नै मानेर अगाडि बड्नु पर्छ !
कोरोनालाई ठूलो भूत बनाएर जनता तर्साएर घरभित्र थुनेर मात्र समस्याको समाधान हुंदैन । कुनै पनि चिजसंग डराएर भाग्नु समस्याको समाधान होइन । समस्यासंग कसरी जुध्ने र कसरी जनतालाई सुरक्षित राख्ने भनेर सरकार लाग्नु पर्दछ । घरभित्र थुनिएर मात्र कोरोना नियन्त्रणमा आउदैन भन्ने कुरा बन्दिगृहमा रहेका सयौं कैदीबन्दिहरूलाई कोरोना लागेर प्रमाणित भइसकेको छ । कोरोनालाई सधैं धेरै स्थान दिइयो, यसलाई हाउगुजी बनाइयो र जनतालाई तर्साउने मात्र काम गरियो ।
बिश्वको आकडा हेर्ने हो भने, रोग लागेका मध्य 1 प्रतिशत मानिसको पनि मृत्यु भएको छैन । अमेरिका बेलायत जस्ता देशमा कोरोनालाई सामान्य रोग ठानेर मानिसहरू आफ्नो काममा फर्किसकेका छन । हामिले पनि कोरोनालाई एउटा रोग ठानौं ! त्यसबाट कसरी बच्ने भन्ने तर्फ सजग हौं । माक्स अनिवार्य गरौं ! माक्स नलगाउनेलाई दण्ड र जरिवाना गरौं ।
पञ्जा लगाऔं, साबुनपानीले हात धोऔं ! सेनिटाइजर प्रोयोग गरौ भौतिक दुरि कायम गरौ र सबै आफ्नो काममा फर्कियौं । तत्कालको अवस्थामा स्कूल कलेज खोल्न, सिनेमा हल, तथा सार्वजनिक यातायात खोल्न असम्भव भएपनि अन्य ब्यपार ब्यवसाय तथा उद्योग धन्दाहरू नियमित सञ्चालन ल्याऔं । देशमा आर्थिक गतिबिधि सञ्चालनमा ल्याऔ देशलाई टाट हुनबाट तथा आम साधारण जनतालाई भोकमरी बाट बचाऔं ।
मानिसहरूमा बढ्दै गएको मानसिक तनावले पक्कै पनि मानिसभित्रको इम्यूनिटी पावरलाई झन कमजोर गर्दछ । सरकारले कोरोना भाइरस सामान्य रोग हो ! यसबाट यसरी बचौं भनेर ब्यापक रूपमा जनचेतना जगाउनु पर्ने भएको छ ! धेरै मेडियाहरूले भ्युज र चर्चाको लोभले मानिसहरूलाई भ्रम सृजना गर्ने कुराहरूलाई बढी प्रचारमा ल्याएको पाइन्छ !
तत्कालको समयमा मेडिया आतकंलाई पनि रोक्न पर्ने देखिन्छ ! गलत सूचनाले जनस्तरमा ठूलो र गलत प्रभाव पार्छ ! त्यसैल सरकारले गलत सूचनालाई कडाई गरेर कसरी कोरोना बाट सुरक्षित हुन सकिन्छ ! इम्यूनिटी सिस्टमलाई कसरी मजबुद बनाउन सकिन्छ भनेर जनस्तरमा ब्यापक प्रचार गर्नु पर्ने देखिन्छ ।
आगामि दिनमा पनि सरकारले एकोहोरो लकडाउन मात्र गरिरहने हो भने जनस्तरबाट ठूलो बिरोध हुन सक्छ र अवस्था झन भयावह हुन सक्छ । त्यसैले अब सरकारले लकडाउन नगरोस तर संक्रमित बढी देखिएको केही स्थानमा सिल गरोस । धेरै जनताहरू मानसिक तनावको सिकार भएर डिप्रेसनको सिकार भएका छन ।
आफ्ना देशको नागरिकको रक्षा गर्नु हरेक देशको सरकारको कर्तब्य हो । जनताले पनि स्वयम बिज्ञ बनेर सरकारले भनेबमोजिम सुरक्षित रहेर आफ्नो गतिबिधि सञ्चालन गर्नु पर्दछ ! भविश्यमा केही पर्यो भने मलाईनै पर्छ र म जिम्वेवार हुनपर्छ भनेर जनताले पनि सोच्नु पर्दछ । सरकारले पनि यति दिन भित्र यो काम गर्ने भनेर खाका निर्माण गरेर अगाडि बढ्नु पर्छ तब मात्र हामी सुरक्षित रहन सक्छौं ।
प्रतिक्रिया