काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३९ हजार ४६० पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबार विभिन्न जिल्लामा ३०३ महिला र ५९६ पुरुष गरेर ८९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।
यस्तै प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ५८८ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
योसँगै कोरोनाबाट निको हुनेको संख्या २१ हजार ४१० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय २८ पुग्यो ।
काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण तिब्र गतिमा बढेको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया