हरेक क्षेत्र सक्षम हुनुमा सबैभन्दा पहिलो श्रेय त्यसको नेतृत्वलाई जान्छ । नेतृत्वको सक्षमता त्यतिबेला देखिन्छ, जतिबेला उसले नेतृत्व गरेको संस्था एउटा सफल संस्था बन्छ ।
कुशल नेतृत्वको अभावमा देशका कैयन संघसंस्थाहरु तहसनहस भएको उदाहरण प्रशस्त छ । त्यसको एउटा ज्वलन्त उदाहरण बारपाक सुलिकोट गाउँपालिका वडा नं. ६ ताकुकोटलाई हेर्दा पुग्छ ।
स्थानीय तहको निर्वाचनमा वडा नं. ६, साबिकको ताकुकोट गाविसबाट वडा हाँक्नका लागि आफूलाई अब्बल सारथिका रूपमा उभ्याएका नेपाली कांग्रेसका निर्मल धिताल र तत्कालीन माओवादीका बाबुलाल गुरुङ बिच वडा अध्यक्षको कडा प्रतिस्पर्धामा बाजी गुरुङले मारे ।
जनताले शैक्षिक तथा बौद्धिक पृष्ठभूमिबाट आएका धिताल भन्दा जनयुद्ध लडेर आएका गुरुङलाई वडा चलाउने ‘म्यान्डेट’ दिए । तर, अहिले आएर जनताहरूलाई पक्कै पनि सो समयमा गरेको भूलको प्रायश्चित भएकै होला ।
एउटा सानो उदाहरण हेरौँ, तत्कालीन माओवादीको मुख्य भोट बैँकको रूपमा रहेको पाल्खु, भन्ज्याङ (जहाँ जनयुद्धका सहिद आशाकाजी श्रेष्ठको घर छ) का जनताले आफ्नो मान्छेलाई जिताए पक्कै त्यस भेगका लागि केही राम्रो होला भनेर गुरुङलाई भोट दिए । तर त्यहाँका जनतालाई लोप्पा खुवाउँदै वडाध्यक्ष गुरुङले बाहाकोट सौरपानी जोड्ने बाटो बाहाकोटबाट नै तल ओह्रालो लगाइदिए ।
उक्त बाटो भन्ज्याङ, पाल्खु, चाहापानी हुँदै मानवबस्तीलाई छुवाएर लैजान सकिएको भए अहिले पाल्खुको जुन पुरानो व्यापारिक केन्द्रको पहिचान कायम थियो त्यो त रहने नै थियो, भन्ज्याङ र चाहापानी लगायतका हजारौँ जनताहरूले पनि आफ्नो घर दैलौ मै कालोपत्रे बाटो देख्न पाउने थिए ।
उक्त सडकको सवालमा वडा अध्यक्षका प्रतिस्पर्धी धितालले सुरुवात देखि नै चाहापानी हुँदै लैजानुपर्ने अडान राखेका थिए । तर सुनुवाइ नभएको र निर्णय गर्ने ठाउँमा उनी नपुगेका कारण उक्त सडक बाहाकोटबाट सोझै ओह्रालो लागेको तथ्य पाल्खु, भन्ज्याङ, डाँडाथोक, चाहापानी लगायतका जनताले सायदै भुल्लान् । अझ एउटा भुल्नै नहुने कुरा के हो भने उक्त सडक योजनाको नाम नै पाल्खु हुँडिखोला योजना थियो, तर सडक बन्ने बेलामा बाहाकोट हुँडिखोला बन्यो ।
बाटो कै उदाहरण हेर्ने हो गोरखा सदरमुकामबाट सबैभन्दा छोटो बाटोका रूपमा रहेको उल्टे भालुस्वाँरा ताकु सडकलाई पहिलो प्राथमिकतामा राखेर काम हुनुपर्छ भन्ने अडान लिएका धिताल वडाध्यक्षमा पराजित हुनाले एउटा कांग्रेसको प्रतिनिधिले मात्रै हारेन, उल्टे, मसार देखि डाँडागाउँ मोहोरिया सम्मका जनताहरूले पनि त्यसको ठुलो मूल्य चुकाउनु परेको तथ्य अहिले घाम जत्तिकै छर्लङ्ग छ ।
अहिले उक्त सडकलाई प्राथमिकतामा नराखीकन वडाध्यक्ष गुरुङले आफ्नै घर टोल नै सोझ्याउँदै लामो रहेको मसेल, जराङ हुँदै बाहाकोट, गाउँपालिकाको खत्रीपाटी सम्मको बाटोलाई प्राथमिकता दिएर योजना अगाडी बनाइँदै छ ।
उल्टे भालुस्वाँरा मोहोरिया हुँदै आहाल डाँडा पाल्खु जाने बाटोले ताकुुकोटका ६५ प्रतिशत जनता प्रत्यक्ष लाभान्वित हुने थिए र अहिले जुन बाटो मसेल जराङ हुँदै बाहाकोट खत्री डाँडामा टुङ्ग्याइँदै छ, त्यसले कति जनता लाभान्वित हुन्छन् ? अब सायद जनता आफैले हिसाब पक्कै गर्नेछन् ।
वडाको काम गर्नका लागि अत्यावश्यक वडा कार्यालय नहुनुमा सबैभन्दा प्रमुख कमजोरी कसैको छ भने त्यो वडा अध्यक्षकै भएको कुरा गाउँका एउटा सानो बच्चालाई पनि थाहा छ । ऐतिहासिक तथा धार्मिक रूपमा हिजोका दिनदेखि प्रख्यात रहेको ताकुकोट कोट थोकका जनताको मतको अवमूल्यन गर्दै कोट थोकमा रहेको वडा कार्यालयलाई सोही स्थान वरपर व्यवस्थापन गर्नुका साटो २/२ आर्थिक वर्ष सम्म पनि गाउँपालिकाले वडा कार्यालय भवन निर्माणका लागि छुट्टाएको रकम फ्रिज हुनुमा वडाध्यक्ष गुरुङको व्यक्तिगत स्वार्थ प्रस्ट छ ।
अस्थायी रूपमा कार्यालय सञ्चालनका लागि कोट थोकमा नै टहरो बनाइएकोमा उक्त टहरोमा कार्यालय सञ्चालन नगरीकन पाल्खुमा भाडाको घरमा मासिक रूपमा हजारौँ रुपैयाँ जनताको करबाट भाडा तिरिँदै आएको छ । भाडा कै घरमा सञ्चालन गर्नु थियो भने कोट थोकमा के त्यस्ता योग्य घरहरू नै बनेका थिएनन् त ? किन कोट थोकमा वडा कार्यालय स्थापना गर्नका लागि जग्गाको बहाना बनाउँदै वर्षैसम्म अनिर्णयको बन्दी बनाइन्छ ? कोट थोकमा किनिएको वडा कार्यालयको जग्गा किन खेर फालिँदै छ ?
किनकि वडाध्यक्ष गुरुङ कोट थोक उक्लनै चाहँदैनन् । यो कुरालाई कोट थोकका जनताले पनि बुझिसकेका छन् । त्यहाँका जनताहरूलाई जसरी राजनीतिक बल प्रयोग गरेर कोट थोकको प्रहरी चौकी पाल्खु हुँदै भन्ज्याङ पुर्याइयो, त्यसै गरी वडा कार्यालय कोट थोकबाट अन्यत्र सार्नका लागि ढिलासुस्ती हुँदै आएको प्रस्ट छ । यदि कोट थोक उपयुक्त स्थान होइन भने अन्य उपयुक्त स्थानमा वडा कार्यालय सार्न किन हिचकिचाइएको हो, सबैले अनुमान गरिसकेका छन् ।
देशकै नमुना विद्यालय घोषित वडा भरिकै नेतृत्वदायी विद्यालय सूर्य ज्योति माविको सुधारका लागि भन्दै आफै विद्यालय व्यवस्थापन समिति अध्यक्ष बनेका वडाध्यक्ष गुरुङले आफू अध्यक्ष बनेपछि सूर्य ज्योतिमा के के सुधार गरे ? त्यहाँको शैक्षिक अवस्था कस्तो छ ? अरू केही हेर्नै पर्दैन, विगत ३ वर्षदेखिको एसइई परीक्षा र कक्षा ८ को आधारभूत परीक्षाको नतिजा केलाउने हो भने प्रस्ट देखिन्छ ।
हिजो कक्षा ८ सम्म पनि मुस्किलले चलेको माई कोट माविमा आफ्नो प्रधानाध्यापकको कार्यकालमा धितालको कुशल नेतृत्वले कक्षा १० मात्र चलाएन, शैक्षिक रूपमा अझै पनि माई कोट मावि पालिका मै एक अब्बल विद्यालयको रूपमा रहेको माथि उल्लेखित परीक्षाको नतिजाले देखाउँछ ।
गाउँमा गाउँमा सिंहदरबारको आशा राखेर आफ्नो मत दिएका भालुस्वाँरा, उल्टे, मसार, डाँडागाउँ, केउरेपानीका जनताहरू अझै पनि पखाला लाग्दा जीवनजल र ज्वरो आउँदा सिटामोल लिन कि त पाल्खु नै पुग्न पर्छ, कि त छिमेकी सिरानचाेक गाउँपालिकातिर ओह्रालो कुद्न पर्छ । त्यहाँका जनताले अझै पनि स्वास्थ्य सुविधा केही पाउन सकेका छैनन् ।
भालुस्वाँराका महिलाहरू आफ्नो एक महिने शिशु बोकेर सालघारीको उकालोमा बच्चालाई खोप लाउन डाँडागाउँ सम्म पुग्नुपर्ने बाध्यता तब सम्म कायमै रह्यो, जब सम्म त्यहाँका एउटा छोरो अधिकृत बनेन । भालुस्वाँराका शिव गुरुङ प्रमुख प्रशासकीय अधिकृत बनेर बारपाक सुलिकोटमा पुगेपछि मात्रै बल्ल उनैको पहलमा भालुस्वाँरामा पनि एक गाउँघर क्लिनिक बन्न सकेको हो । होइन भने त्यहाँ जनताले वडाबाट पाउने हरेक सुविधाका लागि पाल्खु नै धाउनु पर्ने बाध्यता अझै हटेको छैन । यदि उक्त स्थान हुँदै जाने बाटो धितालको योजना जस्तै गरी सडकको स्तरोन्नति भइदिएको भए पक्कै केही सहज हुने थियो ।
यहाँ लेखिएका कुराहरू कुशल नेतृत्व नहुँदाका केही उदाहरणहरू मात्रै हुन् । अझै यसको फेहरिस्त लामो छ । स्वास्थ्य चौकी जस्तो संवेदनशील स्थानमा जाने बाटो भत्केको महिना दिन हुँदा पनि हामीसंग एक सुका पैसा छैन भन्दै पन्छने, भदौको आधाआधी हुँदा समेत कृषिप्रधान समुदायका जनतालाई रासायनिक मलको व्यवस्थापन गर्न नसक्ने नेतृत्वलाई ताकुकोटका जनताले अझै २ वर्ष थेग्नै पर्ने बाध्यता छ ।
स्थानीय स्तरका खानेपानी योजना अलपत्र हुने कुरा त निरन्तरता नै छ, तर निरन्तरतामा क्रमभंगता गर्दै बाह्रमुलेको खानेपानी पाल्खु सम्म मात्रै लैजाने र कोट थोक नउकाल्ने वडाध्यक्ष गुरुङको नियतले व्यक्तिगत रूपमा गुरुङलाई के कति नोक्सान गर्छ, समयले देखाउला तर सिंगो नेकपाले नै ठुलो मूल्य चुकाउनु पर्ने देखिन्छ ।
एउटा परिवारको मुली कुशल भयो भने उसले आफ्नो परिवार राम्रो बनाउँछ । त्यसै गरी एउटा वडाध्यक्ष कुशल भइदिनाले सिंगो वडा राम्रो बन्छ । तर आफ्नो वडालाई राम्रो बनाउने ताकुकोटका जनताको सपना यो ३ वर्षमा त पूरा भएन नै, आगामी २ वर्षमा हुने आशा पनि झिनो नै छ । एउटा माघले जाडो जाँदैन भनेजस्तो एउटा निर्वाचनले नै सधैँ भरिलाई नपुग्ला । आगामी दिनमा पक्कै पनि चुनाव आउला, त्यसका लागि जनताहरू अहिले देखि नै सजग हुन जरुरी छ ।
प्रतिक्रिया