न केही शब्दले वर्णन नै गर्न सकिन्छ न त केही उपहारले भरपाई नै गर्न सकिन्छ तर पनि मलाई यस सुन्दर धरातलमा जन्म दिएर मलाई यो लेख लेख्नसम्म सक्षम बनाइदिनु भएकोमा मेरो बुबा आमा दुवै प्रति धन्यवाद व्यक्त गर्न चाहान्छु।
‘बुबा’ यत्ति सम्बोधनले तपाईंको मानसपटलमा कस्तो आभास हुन्छ ? तपाईंले भन्ने उत्तर, ‘मेरो आदर्श’, ‘मेरो पथप्रदर्शक’, ‘मेरो प्रगतिको कारक’, ‘मेरो हौसलाको स्रोत’, ‘मेरो असल साथी’…यस्तै यस्तै धेरै । तपाईंले अहिले सिक्नु भएको सबै श्रेय आफ्नो बुबालाई नै जान्छ । आमाको ममताबाट हुकिर्ने बालक बुबा संर्घष हेर्दै अघि बढ्छ । त्यसैले त बुबाको अर्थ यो ‘ब्रम्हाण्ड’भन्दा व्यापक छ ।
`बुबा’ शब्द आफैँमा अर्थपूर्ण शब्द हो। संसारको हरेक कुनामा गएर खोजेता पनि बुबाको अर्थ एउटा सिंगो, अनुशासित र संस्कारी परिवारको रूपमा भेटिन्छ। बुबा घरको जग हो, बुबा नै परिवारको उज्यालो हो। संसारको आठौँ आश्चर्य बुबा हो, जसलाई दिनमात्र आउँछ, सन्तानबाट कहिल्यै लिन आउँदैन। दुनियाँका सबै बैंक खाली भएपनि सन्तानका लागि पिताको गोजी सँधै भरी हुने मान्यता राखिन्छ ।
जहाँ आवश्यकता भन्दा पहिले इच्छापुर्ति गर्ने क्षमता हुन्छ । एक सन्तानको जीवनमा पिताको स्थान सबैभन्दा महत्वपूर्ण र शीर्ष स्थानमा हुन्छ । आर्दश सन्तान बनाउने पिताको संघर्ष एक विशाल तपस्या हो । सन्तानको पालनपोषण नैतिक मूल्य, मान्यता, अनुशासन, शिष्टाचार र संस्कार सिकाउने प्रथम गुरु नै पिता हो । त्यसैले त अधिकांश धार्मिक शास्त्रमा पितालाई नै उच्चस्थानमा राखी व्याख्या गरिएको हुन्छ ।
हरेक पिताको चाहना हुन्छ, आफ्ना सन्तानले आफ्नो जिम्मेवारी बुझेर त्यसको पालना गरुन् । पिताले आँसुबाट मुस्कान निकाल्ने क्ष्ँमता राख्छन् । समुन्द्रभन्दा विशाल, आकाशभन्दा व्यापक रहेका पितालाई ब्रम्हाण्डसँग् तुलना गरिन्छ ।
त्यसैले त भनिन्छ पितासँग खेल्ने सन्तानलाई त्यहाँ भित्र आउने हलचलबारे थाहा हुदैन । कसैको डर, धम्कि वा असहज परिस्थितमा पनि पिताको अंकमालमा पुग्नासाथ हामी आफुलाई सुरक्षित पाउछौ।
त्यो बुबाआमा नै हो जस्ले आफ्नो सन्तानको लागि आफूसँग भएको अन्तिम चिज पनि बेचिदिने। हरेक बुबाको सपना हुन्छ, उसको बच्चाले आफूले भन्दा धेरै राम्रो गरोस्।
बुबा हिम्मत हो, बुबा नै सन्तानको सुरक्षाकवच हो। बुबा सहारा हो, बुबा सन्तानको पहिलो मार्गदर्शन हो। बुबा नै संसारको सबैभन्दा बलियो र शक्तिशाली व्यक्ति हो। बुबा नै मेरो परिवार हो। बुबा नै मेरो घरको जग हो। बुबा नै हो हामीलाई संसारमा सबैभन्दा अप्रदर्शित माया गर्ने मान्छे। आमाको ओठको मीठो हाँसो बुबा हजुर हो ।
बुबा नै आमाको अभिमान हो, स्वाभिमान हो। बुवा नै हो हाम्रो सपनालाई पुरा गर्ने, जिम्मेवारी आफ्नो थाकेको काँधमा सजाउने, बुबा नै हो आफ्नो परिवारको लागि आफैँलाई आफैँले पर कतै लगेर बेचिदिने व्यापारी।
कस्तो प्रगाढ सम्बन्ध यो बुबा र सन्तानको! बच्चा थोरै पीडामा भए पनि आफैँ अगाडि आएर सबै दु:ख पानी पिएजस्तो घुटुक्क निलिदिने, बुबा एकमा अनेक हुनुहुन्छ जस्ले आफ्नो बच्चाको दु:खको काँडा आफ्नै पोल्टोमा सिउरिनु हुन्छ, साच्चै नै त्यो काँडाले बुबालाई कति घोच्छ होला है? तर कहिल्यै आफ्नो घाउ देखाउनु नै हुन्न। र त्यो महसुस कहिल्यै गराउनु हुन्न ।
पछिल्लो समय भावनात्मक सम्बन्ध पनि देखावटी बन्न थालेको छ । सामाजिक सञ्जालको लतमा फसेका सन्तान बुबाआमाको सम्मान भन्दापनि सामाजिक सञ्जालमा धेरै लाइक, कमेन्ट र इन्गेज्मेन्टको अपेक्षासहित प्रतिस्पर्धामा उत्रनका लागि मात्र सम्मान गर्ने गर्दछन् ।
आदर्श सन्तानका लागि बुबाको मुखहेर्ने दिनमात्र होइन । प्रत्येक दिन बुबाको सम्मानका लागि हुनुपर्छ । चार्डको विशेष महत्व त होला तर, भावना चार्डको दिन एक र अरु ३६४ दिन फरक हुनु हुँदैन ।
तपाईं आफैं कल्पना गर्नुहोस त, बुबाले सन्तानका लागि गरेको त्याग, तपस्या र संर्घष एक दिनको सम्मान र एक सेल्फीले पूरा होला ? बुबालाई खुसी बनाउन धेरै गर्नै पर्दैन । थोरै बेर सँगै बसेर कुरा गर्नुहोस्, हालखबर सोध्नुहोस, दुःखसुखको कुरा गर्नुहोस् ।
यो भन्दा ठूलो सम्मान उहाँका लागि केही हुने छैन । कहिकतै पिताको मन दुखाउनु भएको छ भने पनि तपाईको सामिप्यता र सौहाद्रपुर्ण सम्बन्धले तपाईहरुबीचको तित्तता हराएर जान्छ ।
त्यसैले भगवान रुपि मातापिताको मन नदुखाउनुहोस् । गल्ति भए क्षमा माग्नुहोस् । सेवा गर्नुहोस् । खुशी दिनुहोस् । तब मात्र तपाई आफ्नो अस्तित्व प्राप्तिमा सफल हुनुहुनेछ ।
‘मेरो आदर्श’, ‘मेरो पथप्रदर्शक´ मेरो बुबा बाट मैले सत्कर्म, आत्मबल, मातृ भुमि प्रतिको माया, काम गर्ने संस्था प्रतिको उत्तरदायित्व, सहि सोच अनि निडर पन, साथै आफ्नो माटो प्रतिको शाहस अनि सम्मानको कदर र जीवन मा धैर्य र आदर्शवान बन्ने पाठ सिकेको छु” ।
म अझै पनि दोधारमै छु हाम्रो लागि दु:ख गर्दागर्दै गलेको त्यही शरीरमाथि चढेर हामीले देखेका सौन्दर्य सपना पूरा भए भने हामी उहाँहरुसँगै बसेर उहाँले पूरा गरेको जिम्मेवारीको ऋण चुकाउन सक्छौ होला? या फेरी पनि बहाना बनाउँदै परपर भाग्छौँ होला? आफ्नो सन्तान भन्दाभन्दै परिवारलाई संस्कारी मूर्तीमा राख्दाराख्दै, बुढेसकालमा पनि नथाक्ने त्यो बूढो काँधको भारी अब हामीले आफ्नो काँधमा सार्न सक्छौ होला?
बुबाले जवानीमा खर्चिएको सम्पूर्ण त्याग उहाँकै इच्छाको बलिदान, उहाँकै अस्तित्वको सम्मान गर्दै उहाँलाई नै त्यो सम्पूर्ण माया अब हामी फिर्ता गर्न सक्छौँ होला ? बुवबाले हामीलाई सानो छँदा दिएको संस्कार, शिक्षा, सही मार्गदर्शन, सुरक्षा, अप्रदर्शित माया, त्यो काँधको जिम्मेवारी हामी अभिभावक हुँदा त्यो सबै कर्तव्य उहाँहरुले जस्तैगरी आफ्नो सन्तानको लागि पूरा गर्न सक्छौ होला? बुबाको सम्पति होइन, बुबाको छाया आफूसँग झल्कनु नै ठूलो आशिर्वाद हो। मैले संसारमा सबैभन्दा बढी विश्वास गर्ने व्यक्ति नै बुबा हो, उहाँको पेट दस दिनकै भोको किन नहोस्। तर उहाँले आजसम्म आफ्नो इमान बेचेर क्षणिक खुसी हुने दुस्प्रयास कहिल्यै गर्नुभएन।
मलाई मेरो जीवनको अन्तिम क्षणसम्म आफ्नो जीवनदाताको कथा कोर्न मन छ,सम्पूर्ण बुबाहरुमा धेरै माया, अब त आफ्नो काँधको भारी बिसाइदिनुस् न है? कुशेऔँसीको हृदयदेखि नै सम्पूर्ण बुबाहरुमा समर्पित यो शुभकामना !
प्रतिक्रिया