काठमाडौं- कोरोना संक्रमण भयावह हुने स्थिति देखिएपछि काठमाडौं उपत्यकामा पनि निषेधाज्ञा लागू गर्ने तयारी भइरहेको छ ।
त्यसका लागि उपत्यकाका ३ जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीबीच आन्तरिक छलफल भइरहेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।
‘जुन ढंगले उपत्यकामा कोरोना संक्रमण बढिरहेको छ, नियन्त्रणका लागि निषेध लागू नगरी नहुने देखिएको छ,’ प्रमुख जिल्ला अधिकारी पाण्डेले भनिन्, ‘अब चाँडै संयुक्त बैठक बसेर यसबारे निर्णय गर्ने तयारी छ ।’ प्रमुख जिल्ला अधिकारी पाण्डेका अनुसार अत्यावश्यकबाहेक सबै गतिविधि बन्द हुने गरी निषेध लागू गर्ने तयारी भइरहेको हो । यस विषयमा सरकारले पनि छलफल गरिरहेको उनको भनाइ छ ।
अहिले काठमाडौंमा दिनहुँ सयभन्दा बढी संक्रमित थपिएका छन् भने मृत्यु हुनेको संख्या पनि दिनहुँ बढीरहेको छ । यस्तो अवस्थामा सरकारले केही ठोस कदम चाल्नु पर्ने देखिएको छ ।
अहिले देशका ७७ जिल्लामध्ये आधाभन्दा बढी जिल्लामा निषेधाज्ञा लागू गरिएको छ । तर कोरोना संक्रमणको उच्च जोखिमकै क्षेत्रमा पर्ने काठमाडौं उपत्यकामा भने अझै प्रतिबन्ध लगाइएको छैन ।
प्रतिक्रिया