काठमाडौं- जघन्य अपराधहरूमध्ये कर्तव्य ज्यानसम्बन्धी मुद्दालाई सबैभन्दा गम्भीर प्रकृतिको अपराध मानिन्छ । तर, सजायको अवस्था भने त्यस्तो छैन ।
कर्तव्य ज्यान मुद्दाका कैदीहरू अन्य जघन्य प्रकृतिका अपराधका मुद्दाभन्दा छिटो छुट्ने गरेका छन् ।
श्रीमतीको हत्या गरी शव नै जलाएर प्रमाण नष्ट गर्ने प्रयास गरेका सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइराला साढे ११ वर्ष कैद छुट पाएर बिहीबार जेलमुक्त हुँदै गरेकाे खबर आजको नयाँ पत्रिका दैनिकमा शिल्पा कर्णले लेखेकी छन्।
सर्वोच्च अदालतले १५ असारमा उनको सजाय घटाउने फैसला गरेको हो । श्रीमती गीता ढकालको हत्या गरेको मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र तेजबहादुर केसीको इजलासले उनी साढे आठ वर्ष जेल बसे पुग्ने फैसला गरेको हो।
सर्वस्वसहित जन्मकैद अर्थात् २० वर्ष कैद र उनको भागको सम्पत्तिमा दुुई छोराबाहेक उनको हिस्सा सरकारले लिनेगरी जिल्ला र तत्कालीन पुनरावेदन तहमा फैसला भएको थियो । तर, अब उनको सजाय आठ वर्ष ६ महिना कायम भएको छ । जसका कारण उनी बिहीबार जेलमुक्त हुँदै छन्।
पुनरावेदनबाट सर्वोच्चमा आउँदा कर्तव्य गरी मारेको, अनुसन्धान अधिकारी र अदालतमा बयान बदलेको जस्ता सबै तथ्य न्यायाधीशद्वारा स्वीकार गर्दागर्दै पनि उनको सजाय घटाइएको छ ।
यसमा मुख्य आधार कोइरालाले श्रीमतीलाई तत्काल आवेशमा आई हत्या गरेको देखिएकाले र गीताको मृत्युपछि दुई छोराको हेरचाह, संरक्षण र शिक्षादीक्षामा दूरगामी प्रभाव पर्न जाने हुँदा सजाय घटाइएको उल्लेख छ । अन्य मुद्दामा महिनौँपछि पूर्णपाठ तयार गर्ने सर्वोच्चले यो मुद्दाको पूर्णपाठ १५ दिनमै तयार गरिसकेको थियो।
प्रतिक्रिया