अजिरकाेट गाउँपालिकाले निम्चेपोखरीसम्म पदमार्ग निर्माणका लागि ७० लाख बजेट बिनियोजन गरेको कार्यक्रममा स्थानिय युवा परिचालन गरिने सम्बन्धि गाउँपालिकाको एक सुचनामा स्थानिय एक युवाले लेखे ‘यो महामारीको समयमा यो कार्यलाई पर धकेलेर वरु भच्चेक अस्पतालमा एउटा विशेषज्ञ डाक्टरको दरबन्दी राखेको भए गाउँलाई कति फाइदा हुन्थो होला ? जनप्रतिनिधि, कहिले फिर्छ बुद्धि ?’
आक्रोशयुक्त त्यो सुझावले मलाइ गाउँ आएको तीन महिनामा आफुले देखेको गाउँपालिकाको योजना अनि जनप्रतिनिधिको रबैयाबारे लेख्न हौसायो ।
लाग्यो, त्यत्राे पैसा खर्चेर बरु केही युवाहरूलाई स्वरोजगार बनाउन सकेको भए पो राम्रो हुन्थो कि ? केही दिनको भन्दा कुनै परियोजना बनाएर स्थायी रोजगारी सिर्जना गर्न पाए पो ?
लाग्यो, माओवादीलाई जसरी पनि हराउने भनेर नयाँ शक्तिसंग मिलि अनेकौं सपना बाडेका तत्कालीन नेपाली कांग्रेसका उम्मेद्बारहरु निर्वाचित भएको अढाइ बर्षमा के पो गरे ?
पहिले स्वास्थबारे कुरा गरौं है ।
हरेक पटक गाउँ आउँदा म स्वास्थ चौकीमा जाने गर्छु । कोरोना महामारीबिच त्यहाँ जादा मेरो अँखा सधै त्यो स्वास्थ चौकी स्थापना भएको मितिमा जान्छ । चार दशक अगाडी स्थापना भएको यसले कहिल्यै स्वाहार सुसार पाएन ।
गाउँपालिका केन्द्रमा रहेको अनि लगभग बीस हजारबढी जनसंख्या भएकाे पालिकाको एकमात्र स्वास्थ केन्द्र ‘भच्चेक स्वास्थ्य केन्द्र’ न प्राथमिक स्वास्थ चौकीमा बढुवा हुन सक्यो, न त साधरण क्षमताको अस्पताल नै ?
मानिसहरु भन्छन्, ‘यो स्वास्थ चौकीमा काम गर्नेले नजिकै आफ्नो फार्मेसी चलाएर घर-घडेरी जाेडे । आफ्नो जिन्दगीका सारा आवश्यकता पूरा गरे । तर, जनताले सर्वसुलभ स्वास्थ सेवा कहिल्यै पाएनन् ।’
भच्चेक स्वास्थ चाैकि कहिल्यै नपुगेको र त्यहाँको धरातलीय यथार्थता नदेखेकालाई यी गुनासो पत्याउन मुस्किल होला ।
तर,
याद गर्नुस् त, यदि तपाईं त्यहाँ पुग्नुभएको छ भने ?
नजिकै रहेको त्येहि कै कर्मचारीका फार्मेसीहरु
कहिल्यै उपयोगमा नआउने ल्याब सेवा
प्रयोगमा नआएका भवनहरु
दिमागमा सफाट चित्र आए होला नि है?
एकदिन म एउटा आफन्तको ‘एक्सरे रिपोर्ट’ हेर्न गएको थिए। करिब चार महिना अघी ‘समिट नेपाल‘ ले १२ लाखमा राखिदिएको डिजिटल एक्सरेबाट रिपोर्ट पाउन नमिल्ने गरि बिग्रीएको रहेछ ।
बुझ्दा, कर्मचारीले भने ‘यस्तो भएको त धेरै भाछैन । बनाउने मान्छे आउने भनेको यो बन्दले रोकिएको मात्र हो ।’
पछि बुझ्दा पो थाहा भयो, ‘यसरी काम चलाउन थालेको निकै भैसकेको रहेछ ।’
यो लेख पढिरहनु भएका तपाईहरु कहिल्यै स्वास्थ चौकीमा सरकारले निशुल्क बाड्ने औषधि माग्न जानुभएको छ?
त्यहाँका कर्मचारीले कस्तो ब्यवहार गर्छन् याद राख्नुभएको छ?
लगभग ४० प्रकारको विभिन्न औषधि शित्तैमा पाइने स्वास्थ चौकीमा औषधि लिन कहिल्यै जानुभएको छ भन्ने मेरो प्रश्नमा कयौंको एकै जवाफ थियो ‘कहिलेकाहीँ गइन्छ बाबू, तर गाली गर्छन् । छैन भन्छन् । दिइहाले एकदुई दिनको लागि मात्र दिन्छन् ।’
दैनिक जीवनमा आइपर्ने स्वास्थ समस्याका प्रायः औषधि निशुल्क स्वास्थ चौकीबाट उपलब्ध भएर पनि सर्व साधारणको पहुँच बाहिर राख्दा प्रायः म्याद गुज्रिएको हुनपुग्छ ।
यो बारे कसले पो सोचेको होला र !
अनि,
यति सानो काममा त तदारुकता नदेखाउने कर्मचारीले बिग्रीएका मेसिन बनाउन के अघि सर्थे होलान् !
स्वास्थमात्र समस्या होइन !
अजिरकाेटका निर्वाचित जनप्रतिनिधि आफ्ना चुनाबी बाचा पूरा गर्न असमर्थ भएका छन् । कार्यकालको आदि समय बितिसक्दा पनि उनिहरु कहिलेसम्म गाउँपालिकाको कार्यलय कहाँ बनाउने टुंगो छैन ।
कहिले भच्चेक बजार, कहिले नम्की, कहिले सामुदायिक भवन हुँदै अहिले अजिरकाेटको एक पाखामा निजि व्यक्तिकाे जग्गामा बनाउन कम्मर कसेर लागेका छन् ।
सामुदायिक बनको जग्गामा भवन बनाउन प्रदेश सरकारले रकम बिनियोजन गरिसक्दा पनि प्रतिनिधिहरु अजिरकाेटको पाखामै बनाउने धुनमा छन् । किनकी त्यहाँ कांग्रेसी ब्यवसायीको प्रशस्त जग्गा छ ।
जमिनको सन्दर्भमा त जनप्रतिनिधिले यो समयसम्म केही उपयोगी काम गरेकै छैनन् ।
एसियाली विकास बैंक (एडिबि)ले बनाइदिएको लुइटेल भ्याञ्याङ्ग-भच्चेक सडकलाइ आफुले बनाएको भनेर गर्व गरिरहने प्रतिनिधिहरु गाउँको सिंचाइलगायत अन्य समस्यालाई निराकरण गर्न खोजदैनन !
प्रश्न आउँछ-
प्रतिनिधि यतिसम्म गैरजिम्मेवार र लाचार कसरी हुनसक्छन् ?
फेरिपनि जनताको घरदैलोमा जादा कुन मुख लाएर जालान ?
अजिरकाेटमा कांग्रेसले मौका/भाग्यले जितेको चुनाब हो। बाबुरामले कांग्रेसलाइ समर्थन गरिदिएपछी माओवादी झिनो अन्तरले चुनाब हार्न पुग्यो ।
देशैभरि निराशजनक हार ब्यहोरोको कांग्रेसले जितेको सिमित ठाउँमा आफ्नो प्रभाव देखाउन पर्नेमा अझ अब कहिल्यै जनताकोमा जानै नपर्ने गरि निर्लज्ज तरिकाले बजेट अनि पदिय दुरुपयोग गरिरहेको छ ।
प्रिय जनप्रतिनिधि ,
आधा समय बाकी रहेको सन्दर्भमा बिगतका गल्ती सुधार्दै अगि बढे कति गज्जब हुन्थो ।
कुनै एउटा दीर्घकालीन महत्त्वको काम गरेर आजिबन ब्याज लिनु राम्रो कि सिमित स्वार्थमा आफ्नो अहिलेसम्मको पहिचान मेटाउनु राम्राे ?
एक कुराकानीमा यस क्षेत्रका संघीय प्रतिनिधि डा. बाबुराम भट्टराइले भनेको सम्झन्छु- ‘अलैंची पकेट एरिया बनाउने देखि लिएर भच्चेक स्वास्थ्य चाैकीलाइ १५ बेडको अस्पताल बनाउने सन्दर्भमा अजिरकोटका प्रतिनिधिले कुनै सुझाव सुन्दैनन । तपाईहरुले पनि बेला मौकामा सचेत गराइरहनु होला है!’
सुनेपछी लाग्यो, अजिरकाेटले नेतृत्व पाएनछ ।
जनप्रतिनिधि समक्ष मेरा एउटै प्रश्न छ, आफ्नो कार्यकाल सकिनु अघि गाउँपालिकाको आफ्नै भवन बनाउन सक्नुहुन्छ?
सक्नुभयो भने यो पाँच बर्षको तपाइको उपलब्धि यहि हुन्छ।
सक्नुभएन भने,
चुनाब त आइहाल्छ नि।
हामीले ‘छोटे राजा’ चुनेका होइनौ नि !
याे पनि :
प्रतिक्रिया