मानिस सामाजिक प्राणी हो उ जहिल्यै स्वतन्त्रता चाहन्छ । वास्तविक रुपमा स्वतन्त्रता लोकतन्त्रको सौन्दर्यता पनि हो, यसमा कुनै शंका छैन । तर यहाँ स्वतन्त्रताको खिल्ली उडाइन्छ त्यसको मूल्य बुझिदैन ।
खासमा स्वतन्त्रताको प्रयोग गर्दा त्यसको मर्यादालाई पनि ख्याल गर्नु पर्ने हो । स्वस्थ आलोचना यसको एक अभिन्न अङ्ग हो । तर अरुको आलोचना गर्दै गर्दा के मर्यादा बिर्सेर अरुको चरित्र हत्या गर्नु नियम सम्मत हुन्छ ?
आलोचना स्वच्छ हुनु पर्छ । शिष्ट र सभ्य रूपले कसैको आलोचना र विरोध गर्नु अलंकार मानिन्छ अन्यथा त्यो अहंकार हुन्छ । शालीन ढङ्गले गलत प्रवृत्तिको विरोध गर्नमा व्यक्तिको व्यक्तित्व झल्किन्छ ।
उक्त कुरा कथित् स्वतन्त्र सामाजिक व्यक्त्तित्वले सिक्नु पर्दैन ? विकृतिकाे विरोध काइदाले गर्नु अलौकिकता हो । अरुको मानहानिमै उत्रिनु कदापि न्यायोचित हुँदैन । यो कसरी सामाजिक काम हुन्छ ? के गफले मात्रै चिउरा भिज्छ ?
एक असल मान्छेमा कति धैर्यता, शिष्टता र विनम्रता हुनुपर्छ भन्ने कुरा हामी हिन्दु धर्म शास्त्र अनुसार, भगवान् श्रीकृष्णबाट सिक्न सक्छाैँ । द्वापर युगमा श्रीकृष्ण पनि एक क्रान्तिकारी अभियन्ता थिए, गलतलाई गलत नै देख्ने र सहीलाई सही नै देख्ने । तसर्थ सबैले उठाएका हरेक मुद्दा सही नै हुन्छन् भन्ने पनि हुँदैन ।
आजभोलि केही व्यक्ति अहंकारले केही शक्ति र गिरोहबाट पनि परिचालित भएकाछन् । यिनीहरू सही काम गर्नेहरू वा ईमानदारतिर पनि खनिने गर्छन् । न त पहिचान र विवेक देखाउन सक्छन् ।
त्यस्ता व्यक्तिहरु हरेक मञ्चमा तीनचौथाइ समय अरुको कित्ता काट्नमै बिताउँछन् । यिनले हरेक समय फलानोले केही गरेन । ढिस्कानोले यो गर्यो भनेर हरेक बोलीमा क्रीडा पोख्छन् । तर, आफूले कहिल्यै केही गर्न सकेनन् । कहीँ न कहीँबाट परिचालित दूतजस्ता हुन्छन् ।
यस्ता कथित् आधुनिक, सभ्य, सामाजिक, इमानदार भनौदा बाँझो जमिनजस्तै हुन् ।
यिनले न केही रोप्छन्, न त अरुलाई नै रोप्न दिन्छन् । केही गरी कुनै दिन रोपिहाले भने यिनले जरुर धतुरो रोप्नेछन् । खाली नकारात्मक मात्रै देख्नु उनीहरुको दिनचर्या हुन्छ ।
वास्तवमा हरेक समस्याको समाधान सिर्फ नकारात्मक मात्रै देख्नु मूर्खता हो ।
जसले राजनीतिक विरोध गर्नकै लागि मात्र अभियान बनाउँछ भने कि त्यो सभ्य र सचेत नागरिक पनि होइन, बरू कतैबाट परिचालित छ, अचेत छ, उसमा अभिमान छ वा उसमा घमण्ड मात्रै छ भनेर पनि बुझ्न सकिन्छ ।
बरु उचित यो हुन्छ कि उसले आफूलाई एक बौद्धिक सामाजिक, राजनीतिक विचारकका रूपमा स्थापित गरोस्, न कि एक सम्भ्रान्त वर्गको हेपाह प्रवृति ।
प्रतिक्रिया