आम नागरिकले आफ्नो आवाज मिडियामार्फत अभिव्यक्त गर्न पाउने, कहीँ कतै अंकुश नलाग्ने अधिकार नै प्रेस स्वतन्त्रता हो ।
अर्थात आमनागरिकको आवाज प्रेसमार्फत लिपिवद्ध भएर सबैले बुझ्ने भाषामा अभिव्यक्त गर्ने काम मिडियामार्फत हुनु नै प्रेस स्वतन्त्रता हो ।
प्रेस स्वतन्त्रता भनेको नागरिकका लागि हो भन्ने कुरा स्वयं सिद्ध तथ्य हो । पत्रकार भनेका त माध्यम अर्थात् औजार मात्रै हुन् ।
प्रेस मार्फत जनताले एकातिर आफ्नो धारण अभिव्यक्त गर्छन्, अर्कोतिर अरूको भावनाबारे सुसूचित हुन्छन् । जनअधिकारको उत्तम रूप भनेको प्रेस स्वतन्त्रता हो । जहाँ प्रेस स्वतन्त्रता हुँदैन त्यहाँ जनअधिकार हुँदैन ।
प्रेस स्वतन्त्रता विना अभिव्यक्ति स्वतन्त्रता हुँदैन । अभिव्याक्ति स्वतन्त्रता विना लोकतन्त्र हुँदैन ।
लोकतन्त्रविना जनअधिकार हुँदैन । तर, नेपालका सन्दर्भमा विश्लेषण गर्ने हो भने प्रेस स्वतन्त्रता भनेको पत्रकारहरूको लागि मात्रै हो भन्नु आमजनबुझाइ छ । कतिपय मिडियाकर्मी पनि यही भ्रममा छन् ।
जसरी पावर हाउसमा जलविद्युत् उत्पादन हुन्छ । तारको माध्यमबाट त्यो विद्युत जनताको घरमा पुगेर उज्यालो दिन्छ । तार भनेको माध्यम मात्रै हो मुख्य कुरा उत्पादन र प्रयोग हो ।
त्यसरी नै पत्रकार भनेका माध्यम मात्रै हुन् । लोकतान्त्रिक संविधानमा अभिव्यक्ति तथा सूचनाको हकलाई मौलिक हकका रूपमा राखिएको हुन्छ । त्यो मौलिक हक पत्रकारको माध्यमबाट जनताले उपभोग गर्छन् ।
जसलाई प्रेस स्वतन्त्रता भनिन्छ ।
प्रेस स्वतन्त्रता केवल पत्रकारका लागि नभएर आमनागरिकका लागि हो तर आमनागरिकका तुलनामा पत्रकारको स्वर्थसँग प्रेस स्वतन्त्रता केही बढी जोडिएको कुरा भने सत्य हो । प्रेस स्वतन्त्रतामा पत्रकारहरूको व्यवसाय फस्टाउँछ ।
जहाँ प्रेस स्वतन्त्रता हुन्छ त्यहाँ मिडिया क्षेत्रमा व्यवसायिक लगानी भित्रिन्छ ।
मिडिया क्षेत्रमा व्यवसायिक लगानी भित्रिनु वा वढ्नु भनेको पत्रकारहरूको रोजगारी बढ्नु हो । यही स्वार्थका लागि पत्रकारहरूले प्रेस स्वतन्त्रता दिवसलाई विशेष पर्वका रूपमा मनाउने गरेका हुन् ।
सूचना प्रविधिको विकासले फड्को मारेसँगै मिडिया क्षेत्रमा विविधता आएको छ ।
यस हिसावले नेपालको वर्तमान पुस्ता धेरै भाग्यमानी छ । विश्वका अन्य मुलुकहरूमा अखवार प्रकाशित हुन थालेको करिब चार सय वर्षपछि मात्रै नेपालमा अखबार प्रकासित हुन थालेको हो ।
विश्वका अन्य मुलुकमा रेडियो प्रसारण हुन थालेको दुई सय वर्षपछि मात्रै नेपालमा रेडियो प्रसारण हुन थालेको हो ।
विश्वका अन्य मुलुकमा टेलिभिजन प्रसारण हुन थालेको ५० वर्षपछि मात्रै नेपालमा टेलिभिजन प्रशारण हुन थालेको हो ।
तर अनलाइन र समाजिक सञ्जालको प्रयोग भने विश्वका सवैभन्दा विकसित मुलुकका जनताले र नेपाली जनताले सँग सँगै प्रयोग गर्न पाए ।
अब अभिव्यक्ति स्वतन्त्रतालाई राज्यले चाहेर पनि निस्तेज गर्ने अवस्था रहेन । तर नेपालका सत्ता संचालकहरूले यो यर्थाथतालाई आत्मसात गर्न नसकेका हुन् कि जस्तो देखिएको छ ।
उदाहरणका लागि शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा बनेको र ओली सरकारका पालामा गत भदौ १ गतेबाट लागू भएको मुलुकी देवानी संहिता, फौजदारी संहिता सम्बन्धी ऐनलाई लिन सकिन्छ ।
यो ऐनका विभिन्न दफाले प्रेसलाई संकुचित बनाउने प्रयास गरेको छ ।
यो प्रयास विरूद्ध पत्रकारहरूले आवाज नउठाएका होइनन् । तर सर्वसाधरण तथा नागरिक समाजका अगुवाबाट आवज उठेको सुनिदैन ।
यो मामिला केवल पत्रकारको मात्रै होइन भन्ने कुरा दलका नेता कार्यकर्ता , नागरिक समाजका अगुवा तथा सर्वसाधरणले अझै पनि बुझेको देखिँदैन ।
प्रेस स्वतन्त्रताले मिडियालाई व्यवसायिक बनाउँछ । मिडिया व्यवसायमा गरिएको लगानीले राम्रो प्रतिफल दिने अवस्था सिर्जना हुन्छ ।
२०४६ सालको परिवर्तन पछि नेपालमा यो अवस्था सिर्जिना भएको पनि छ । मिडिया व्यवसाय मार्फत अर्बपति बनेका व्यापारीहरू पनि नेपालमा छन् । तर पत्रकारहरूको अवस्था झन् भन् खस्केको छ ।
२०४६ साल यताको अवस्था विश्लेषण गर्ने हो भने नेपाली पत्रकारहरूको सामाजिक मर्यादा हरेक वर्ष खस्किँदो छ । मिडियामा व्यवसायीक लगानी बढ्दो छ तर इमान्दार पत्रकारहरूको आर्थिक तथा सामाजिक मर्यादा हरेक वर्ष खस्कँदो छ ।
यो अवस्था किन आयो ?
प्रेस स्वतन्त्रताका संवाहकहरूको सामाजिक मर्यादा र आर्थिक हैसियत खस्कनु भनेको लोकतन्त्रका लागि राम्रो लक्षण होइन ।
आँफै पिडित बनेका पत्रकारहरू प्रेस स्वतन्त्रताको संवाहक बन्न सक्दैनन् ।
जसरी हावाहुरी आएको बेलामा धोद्रो रूखमुनी ओत लाग्नु जोखिम हुन्छ त्यसरी नै पेटभारी खान नपाएका पत्रकारबाट सुसुचित हुने अपेक्षा राख्नु जोखिम हुन्छ ।
पापी पेटका लागि गलत धन्दा गर्न कतिपय पत्रकार वाध्य छन् । पेट भर्नकै लागि अपराध लुकउने गरी समाचार लेख्न जब पत्रकारहरू वाध्य हुन्छन् तब प्रेस स्वतन्त्रता समाप्त हुन्छ ।
तस्बिर : प्रदिपराज वन्त
प्रतिक्रिया