+
Search

ताजा अपडेट +

पपुलर +

मंगलबार राति नै बर्दिबासको होटेलमा बास बसेको थियो पूर्वआइजिपीको समूह

4KNationalDaily
२०७७ बैशाख १२, शुक्रबार ०७:४६ बजे

काठमाडौं– पूर्वस्वास्थ्यराज्यमन्त्री तथा सांसद डा. सुरेन्द्र यादवको अपहरणको चर्चासँगै बर्दिबासको गौतम होटेल पनि चर्चामा आएको छ।

सञ्चालक हिरा गौतमका अनुसार पूर्वआइजिपी सर्वेन्द्र खनाललगायतको टोली मंगलबार राति नै होटेलमा आएको खबर आजको नयाँ पत्रिका दैनिकमा महोत्तरीबाट रञ्जन भण्डारीले लेखेका छन्।

महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीले सूचना गरेर ६ वटा कोठा उपलब्ध गराइदिन भनेपछि आफूले तयार गरिदिएको उनले बताए।

‘एसपी अधिकारीले पूर्वआइजिपी सर्वेन्द्र खनाल महोत्तरी आउँदै हुनुहुन्छ, उहाँलाई बस्न ६ वटा कोठा उपलब्ध गराइदिन आग्रह गर्नुभयो। सुरक्षाप्रमुखले आग्रह गरेपछि हुँदैन भन्ने कुरा भएन,’ सञ्चालक गौतमले भने, ‘मंगलबार मध्यराति दुईवटा गाडीमा आएको, राति खाना खाएर सुतेको र बिहान ७ बजेतिर हल्का नास्ता लिएर निस्किनुभएको हो।’

उनीहरू साँझ ६ बजेतिर पुनः होटेल फर्किएर दुई घन्टाजति बसेको उनले बताए । तर, त्यतिवेला कोकसको भेटघाट भयो आफूलाई सबै जानकारी नभएको बताए । ‘बुधबार साँझ आउँदा भने तीनवटा गाडीमा हुनुहुन्थ्यो,’ गौतमले भने, ‘राति ८ बजे उहाँहरू चेकआउट गरेर सिन्धुलीको बाटो हुँदै काठमाडौं लाग्नुभएको हो।’

सांसद यादव अपहरणको हल्ला फैलिएसँगै प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव तथा अर्थमन्त्री विजय यादव बिहीबार बर्दिबासस्थित गौतम होटेल पुगेका छन् । उनीहरूले होटेलमा बसेका पूर्वआइजिपी सर्वेन्द्र खनाल तथा अन्य अतिथिहरूबारे सोधपुछ गरेका छन्।

उनीहरू सोधपुछ तथा सिसिक्यामेरा फुटेज चेकजाँच गरेर निस्किसकेका थिए । सञ्चालक गौतमले मन्त्रीहरू सोधपुछका लागि आएको पुष्टि गरे । तर, मन्त्रीहरूले भने यसबारे खुलाउन चाहेनन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily