गोरखा- अजिरकोट गाउँपालिका भित्र सामाजिक सुरक्षा भत्ता वितरण केहि महिना यता विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रभावका कारण भएको देशव्यापी लकडाउनले गर्दा रोकिएको थियो ।
समयमा वितरण हुन नसक्दा जेष्ठ नागरिक, दलित जेष्ठ, एकल महिला एवम् अपाङ्गता भएका असहाय नागरिकहरुलाई पर्न गएको असहजतालाई मध्यनजर गर्दै अहिले वडा अध्यक्ष झलप्रसाद देवकोटाले प्रत्येक गाउँ वा टोल टोलमा गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेका छन् ।
५ नम्बर वडा भित्र यस पटक करिब ६५ लाख रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण हुने वडाले जनाएको छ ।
जस अन्तर्गत जेष्ठ नागरिकले मासिक ३ हजार, दलित जेष्ठ तथा एकल महिलाले मासिक २ हजार एवम् अपाङ्गताको वर्ग हेरेर तथा दलित बालबालिका भत्ता समेत वितरण हुने गर्दछ । प्रत्येक वितरण चौमासिक रुपमा गर्ने नियम छ ।
अब आइतबार सम्म सबैको घर घरमा पुगेर भत्ता वितरण गरिसक्ने बताएका उनी ढिस्का, चनौटे, झ्याल्ला हुँदै मुच्चोकटारमा वितरण गर्दै गरेको देवकोटाले बताए ।
सबैले आ-आफ्नो परिचयपत्र साथमा राख्न र सम्बन्धित व्यक्ति सम्पर्कमा आउन उनले टोल टोलमा खबर गरेर भनेका छन् ।
विगतमा पनि साबिक मुच्चोक गाविसको वडा वडाबाट कहिलेकाहीँ वितरण गर्ने गरिएको भए पनि अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ( कोविड- १९)का कारण देशको सबै भागमा लकडाउन भएको र मानिसहरु आवतजावत गर्न कठिन तथा भिडभाड हुने भएकोले जनताको हितको लागि महामारीबाट सुरक्षीत हुन ५ नम्बर वडाले भत्ता वितरण कार्यलाई परिवर्तन गरि सजिलो बनाएको उनी बताउछन् ।
प्रतिक्रिया