अतिमान घले
जिन्दगीको अर्को खास अर्थ भनेको जन्मदेखी मृत्युसम्मको हरेक यात्रामा हरेक पल्ट हरेक ठाउँमा केही न केही निरन्तर सिकिरहने एउटा माध्यम वा सिकाई पद्धति हो । कहिले पढेर सिक्छौ हामी त कहिले परेर । अनि कहिले लडेर वा कहिले जितेर त कहिले हारेर।
जिन्दगी रंगीन बनाउन ‘ब्राण्डेड’ मेकअप तथा ड्रेसअप समाग्रीहरु नभई यथार्थमा जिउने साहस र कडा मेहनत संगै सहनशीलता अनि स्वाभिमानताको जरुरत पर्दछ भन्ने कुरा यतिखेर चालीस कटेका वैदेशिक रोजगारे महिला-पुरुषहरुको वास्तबिकताले सिकाएका छन्।
त्यस्तै आफु जन्मेको हुर्केको आफ्नै जन्मथलो गाउँ ठाउँलाई छोडी शहरबजारमा डेरा जमाएर बस्न रुचाउने उनै वैदेशिक रोजगारेका आफ्नो आफन्तजनहरुलाई शहर बजारको सेवा सुबिधा भन्दा पनि बढी आनन्द मिल्ने अनि हरेक पाटोले सुरक्षित रहने ठाउँ त आफ्नै गाउँ नै हुन् भनी आफ्नै गाउँ-ठाउँमा पुन छाप्रो हाल्न भने अहिले बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ कोरोना भाइरसले सिकाइएको छ।
दुनियाँ कोरोना भाइरसकै कारण आतंकित छन्, म पनि तिनै दुनियाँ भित्रको एउटा ब्यक्ती हु।
यिनै आतंक भित्र मैले भने एउटा खुशी भेटें कि ‘म पाँच कक्षामा पढ्दै गर्दा स-परिवारै मुग्लान पसेका पल्लाघरे लाहुरे साइलाबा पनि पुन स-परिवारै आफ्नै गाउँघर फर्की उनै पुरानो भत्किएका घडेरीमा छाप्रो हालेर रमाउदै सिस्नु र ढिडो खादै गर्या देखे।’
त्यो देखेर मैले सोधे, ‘साइलाबा! दालभात पकाउन छोडेर किन सिस्नु र ढिडो नि हँ?” उहाँ साइलाबा मुसुक्क हासेर जवाफमा भन्नुहुन्छ, “बाबु! यो अर्गानिक खाना हाम्ले बल्ल बल्ल त खान पाएको छु।’
त्यसपछि बल्ल मैले नि बुझे कि हरेक आपतबिपतमा जताततै राहतमा किन दाल र चामल (भात) मात्रै दिने गर्छन् भनेर, मुग्लानमा स्वास्थ्यको लागि स्वस्थ खाना हाम्रो जस्तो सिस्नु र ढिडो नै पाइदो रहेनछ त अनि?
आफ्नो गाउँ आफ्नै हुन्छ, जन्म ठाउँ स्वर्ग भन्दा नि प्यारो हुन्छ भन्ने कुरा मैले उनै मुग्लानबाट धेरै बर्ष पछि आफ्नै गाउँ फर्केका लाहुरे परिवारको अनुहारमा देखे अनि मनमनै भन्दैछु कि “मेरो पल्लाघरे लाहुरे साइलाबाले झै सुखमा आफ्नै गाउँ छोडी जाने गल्ती कसैले नि कहिल्यै नगरियोस्।
प्रतिक्रिया