+
Search

ताजा अपडेट +

पपुलर +

बिहेको पर्सिपल्ट ‘साईट भिजिट’

4KNationalDaily
२०७६ फाल्गुन २, शुक्रबार २०:०१ बजे

ईन्जिनियरीङ्ग सकिए पछि कलेजमा पढाउदै गरेको स्नातकोत्तर पढ्दै गरेको र केही फाट्टफुट्ट आफनै क्षेत्रका साना-तिना कामहरुको डिजाईन सिक्न सुरु गर्दै थिएँ ।

एक्कासी पाल्पामा दुई साना सिँचाई आयोजनाको डिपिआर तयार गर्ने काम पाउने भएँ । आफ्नै नाममा आएको पहिलो काम, त्यो पनि आफुले पढ्दै गरेको बिषयमा । म फुरुङ्ग थिएँ ।

तर साईट पुग्नु पर्ने दिन घर्किदै गर्दा यता मेरो बिहेको तयारी हुँदै थियो । बिहे नसकुन्जेल पाल्पाबाट यादव सरको फोन नआओस् भन्ने सोच्दै थिएँ । अहिले लाग्छ, सरलाई खुलेर ‘बिहे गर्दैछु सर, केही दिन पछि काम सुरु गरुँला भनेको भए पनि हुने !’

तर मलाई त्यो काम गुमाउनु थिएन । एक त भर्खरको केटालाई काम गराउनु छ । फेरी बिहे सिहे भनेर बस्छ भन्ने भयो र काम फुत्क्यो भने ! सायद त्यहि डरले, भनिन मैले ।

बैसाख ६ बिहेको जन्ति लिएर गोरखाबाट बुटवल पुगियो । ७ गते बेहुलीको घर जान ठिक्क निस्कन लाग्दा, मोबाईलमा यादव सर !
सर ‘उमेशजी, खै त पाल्पा कहिले आउने हो, काम गर्न ढिला भईसक्यो ।’

आँफू त्यहि मुन्तिर बुटवलमा छु । अँझ साईट त बुटवल नजिकै दोभानमा छ तर त्यति खेर पनि मैले भनिन कि म बिहेमा छु ।

बरु यसो ख्याल गरेँ, पर्सि त दुलही लिएर फेरी यहाँ (बुटवल) फर्कनै छ । अनि सरलाई, जवाफ दिएँ,
‘सर ल म पर्सि १० गते साईट आईपुग्छु कन्फर्म गरेँ ।’

७ गते बिहे गरिवरी घर पुग्दा ८ गते बिहानी उज्यालो भईसकेको थियो । ८ गते गाँउमा भोज भेतेर सकेर फेरी ९ गते ‘दुरान फर्काउन’ बुटवल लागियो । घरसम्मको कच्चि बाटो र मुग्लिन नारायणघाट सडकको मर्मत कार्य । बुटवल पुग्दा ९ गते साँझ भईसकेको थियो । र, १० गते पुग्नु थियो साईट ।

साईट थियो दुरीमा नजिकै तर सिद्धबाबा कटेर आउने दोभानको पारी डाँडा तिरको मगर बस्तिमा ।

केहि बर्ष देखी नै प्रेमपुर्ण संगत गरेकाले कुशलता हिड्ने मामलामा कमजोर भएको थाहा थियो । ३ दिन चलेको बिबहा र भोज अनेकन व्यवस्थापन, पारिवारिक, समाजिक, साँस्कृतिक दायित्व आदिले थकित पनि ।

सारा तनाव मेटाउन कतै आनन्दको ठाँउ रोजेर ‘हनिमुन’का लागि हिड्नु पर्ने हामी साईट जाने निर्णय गर्यौ । बाबा ममिलाई मनायौ र लोकल बस चढेर पुग्यौ ‘दाेभान’ ।

दोभानबाट, तिनाउ खोला तरेर पारीका बस्तिमा जानलाई सार्वजनिक सबारीहरु थिएनन्, सिमेन्ट उद्योगका लागि ढुंगा बोक्ने ट्रिप्परहरुमात्र थिए बाटोमा ।

तिनकै पनि अगाडी ड्रईभर आडका सिटहरु प्याक । चढियो खाली ट्रिप्पर पछाडी र लागियो ‘हनिमुन यात्रा’ । कच्चिबाटोमा हल्लिएको ट्रिप्परमाथि फोटो खिच्न सकिएन । चाहेर पनि सम्झनलायक फोट खिच्न नसकेको अहिले सम्म खड्कन्छ ।

हामीले अर्को दुख बेसायौ । हामीलाई लिन आउने स्थानीय उपभोक्तालाई ल है हामी ईन्जिनियर हौ र श्रीमान श्रीमती पनि भनिदिएको भए पनि हुने ।

तर ‘के, काम गर्न आउनु, घुम्न आ रैछन्’ भन्ने होला भनेर त्यसो पनि भनिएन ।

सडक छाडेर, कुलो पछ्याउन थालियो । कुलो मकैबारी हुँदै उकालो लाग्दै गयो र बैसाखको घाम चर्किदै । नजिकै छ भनिएको पहिलो मुहान पुग्न झण्डै दुई घण्टा लाग्यो ।

अँझ त्यो भन्दा माथि पुगे पछि शुरु हुन्थ्यो दोस्रो आयोजनाको कुलो । हामी सँग जानु भएको उपभोक्ताबाट छलिदै छलिदै खिचिएका सेल्फी र फोटाहरु हेर्दा गज्जब लाग्छन् आजकाल ।

बाटोमा थकाई मार्न बस्दा यि दाईले मज्जाले गफ गरेका थिएँ । आफ्ना बुबाका पालका प्रेम र बिहेका कुरा गरेका थिए झै लाग्छ । हामी मज्जाले हासेका थियौ । यति खुलि सकेपछि चाँहि, हामी बुढा बुढी हौ भन्दिएको भए हुने ।

हामीले नभने पनि हाम्रो लुकिछिपिबाट अनुमान लागईसक्नु भको रैछ । यि सबै कुरा यादव सरलाई सुनाउदा, त्यो मान्छेले ‘दुई जना आको थ्यो, बुढाबुढी जस्तो’ भनेको सम्झना गर्नु भएको थियो ।

भोक र थकाईले गलेका हामीलाई लिन आईपुग्नु भो, अर्को गाँउको मगर दाई । कच्चि सडकले छोएको थियो त्यो मगर बस्ति तर अरु सबै हिसाबले ज्यादा बिकट लाग्थ्यो ।

मगर दाईको घरमा खाना तयार थियो र खाना सँगैको पिरो । मध्य दिन, हफहफ गर्मि, थकान, भोक र पिरो खाना । म आजकाल कहिल्यै पिरो खान सक्दिन । अलिअलि त त्यहि पिरोको प्रभाव हो ।

खाना खाईवरी कुशलतालाई आराम गराएर म हिडेको दोस्रो मुहान सम्मको बाटो उस्तै अबिस्मरणीय । पहरा तल कुलोमा हात खुट्टा टेकेर घर्सनु पर्ने । अनी डिल तल छंगाछुर भिर त छँदैछ ।

मध्यह्नमा काम सकिवरी फर्कदा भने हामी प्रेमिल मुडमा थियौ । जंगल छिचोल्दै अगि बढेको सुनसान सडक । अनी सुनसान सडकमा एक जोडी प्रेमी । तस्बिर मै देख्न सकिन्छ, बैरिएका मुहारहरु ।

अहिले लेख्न बस्दै गर्दा, गुगलमा हेरेको मैले झण्डै १३ किमि पैदल हिडेको रहेछु, त्यस दिन र कुशलताले २ कि.मि कम ।

अनी, तपाईलाई लाग्ला के त्यसै दिन बुटवल फर्किएको ?

खासमा चाँहि होईन । त्यस दिन बुटवल र्फिर्कएर पनि नाईट गाडीमा काठमाण्डौ हिँडेको । भोली पल्ट अर्को काम भ्याउन ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily