+
Search

ताजा अपडेट +

पपुलर +

सडक निर्माण भएपछि मनास्लु क्षेत्रका पर्यटन ब्यबसायी संकटमा

4KNationalDaily
२०७६ मंसिर ५, बिहीबार ०७:४० बजे

गोरखा- सडक निर्माण हुन थालेपछि लोकप्रिय बन्दै गएको मनासलु क्षेत्रको पर्यटन पदमार्ग सङ्कटमा परेको छ । बेनिघाट आरुघाट लार्के सडकका कारण पर्यटन व्यवसाय नै सङ्कटमा पर्ने मनासलु क्षेत्रका व्यवसायीहरूको गुनासो छ ।

माछा खोलाभन्दा तल पर्यटक हिँडिरहेका बेला गाडी कुदेर समस्यामा पार्ने गरेको स्थानीय बासी बताउँछन् ।

‘जहाँ पर्यटन पदमार्ग छ, त्यही ठाउँमा सडक निर्माणको काम पनि भइरहेको छ’, मनासलु पर्यटन संयुक्त उपसमितिका अध्यक्ष गणेश कार्कीले भने, ‘पर्यटकहरू हिँडिरहेका हुन्छन्, त्यति नै बेला ट्रक, ट्याक्टर, जिप कुद्छ । पर्यटकहरू धुलोले ढपक्कै ढाकिन्छन् । कोही मुख छोप्दै हिँड्छन् ।’

अहिले धमाधम पर्यटक हिँड्ने बेला भएको छ तर बम विस्फोट गरेर सडक निर्माण गर्ने काम पनि सँगसँगै भएको छ । ढुङ्गा झरेर उनीहरूलाई लाग्ने सम्भावना पनि छ ।’

माछा खोला भन्दा माथिको खण्डमा बम विस्फोट गरेर सडक निर्माण गर्दा सोही बाटो भएर हिँड्ने पर्यटक असुरक्षित हुने गरेको स्थानीयको गुनासो छ ।

‘पहरो फुटाउन बम विस्फोट गर्ने बेलामा पदमार्ग अवरुद्ध पार्छन् । केही समयपछि बाटो खुल्ला त हुन्छ तर ढुङ्गा खसेर लाग्ने जोखिम हुन्छ’, कार्कीले भने, ‘सर्वसाधारण जनतालाई विकास त चाहिन्छ तर सडकले पर्यटन व्यवसायचाहिँ सङ्कटमा पर्छ । पर्यटन क्षेत्रमा लाखौँ, करोडौँ लगानी गरेका व्यवसायीहरू निराश छन् ।’

सडक निर्माण भइसकेपछि हिँड्न चाहने पर्यटक आउन छाड्ने उनले चिन्ता व्यक्त गरेका छन् ।

मनासलु क्षेत्रमा अघिल्लो वर्ष आठ हजार पर्यटक आएका मनासलु संरक्षण क्षेत्र आयोजना(एमक्याप)ले जनाएको छ ।

यसबर्ष अघिल्लो वर्षभन्दा धेरै पर्यटक आउने सम्भावना रहेको एमक्यापका प्रमुख नरेन्द्र लामाले बताए ।

असोज महिनामा मात्र दुई हजार भन्दा धेरै पर्यटक आएका र कात्तिकको यो समयमा अघिल्लो वर्षभन्दा धेरै पर्यटक आएका उनले बताए ।

तर सडक निर्माण भएपछि पैदल हिँड्ने पर्यटक कम हुने अर्का पर्यटन व्यवसायी सुजन गुरुङ बताउँछन् ।

‘सडक निर्माण भएपछि आन्तरिक पर्यटक आउँछन् । विदेशी पर्यटक पनि आउलान् तर उनीहरू हिँड्ने बाटो, बास बस्ने स्टेशन फेरिन्छ । हिँड्ने, बस्ने अवधि छोटो हुन्छ । जसले गर्दा अहिले झैँ बाटोमा होटेल व्यवसाय सञ्चालन गरेका व्यवसायीहरू समस्यामा पर्छन् ।’

अहिले चुम उपत्यका र नुब्री उपत्यका भ्रमणका लागि २२ दिन, लार्के पासका लागि १५ दिन, चुम उपत्यका भ्रमणका लागि १३ दिन र रुपिङ्ला पासका लागि १० दिनको यात्रा गर्ने गर्छन् ।

सडक निर्माणका कारण मनासलु क्षेत्रमा पदमार्ग मासिएर खच्चड र पर्यटक तथा स्थानीय बासी हिँड्न समेत समस्या हुने गरेको यात्रु बताउँछन् ।
पर्यटन व्यवसायलाई जोगाइराख्न वैकल्पिक पदमार्ग बनाउनु पर्ने मनासलु पर्यटन संयुक्त उपसमितिका अध्यक्ष गणेश कार्की बताउँछन् ।

‘यस क्षेत्रका विकास भनेको नै पर्यटन विकासबाट सम्भव छ’, उनले भने, ‘पर्यटन व्यवसायलाई धराशायी हुन नदिन वैकल्पिक पदमार्ग बनाउनु पर्छ । जस्तो कि पदमार्ग बूढीगण्डकी वारिवारि भए सडक पारिपारि बनाउनु पर्छ । जगतबाट दूधपोखरी जाने बाटो बनाउने, यारुबगरबाट गणेश हिमाल जाने, रुपिङ्ला पास गर्ने पदमार्गको विकास गर्ने, चुमभ्यालीबाट लार्केपास गर्ने सिधा बाटो बनाउने गर्नुपर्छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily