काठमाडौं- गृहमन्त्री रामबहादुर थापाले आपराधिक क्रियाकलाप रोक्न सुदृढ र भरपर्दो सूचना आवश्यक हुने बताएका छन् ।
राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक र प्रमुख अनुसन्धान अधिकृतका लागि काठमाडौँमा आयोजित ‘अप्रेशन कमाण्ड तथा नेतृत्व विकास तालिम’को समापनका क्रममा उनले विश्वसनीय सूचना प्रणालीले मात्रै समाजमा शान्ति, सुरक्षा र अमनचयन कायम गर्न सकिनेमा जोड दिए ।
‘संगठित अपराध, लागूऔषध, मानव वेचबिखन, साइबर क्राइमजस्ता गतिविधि रोक्न सुदृढ र भरपर्दो सूचनाको आवश्यकता हुन्छ, तसर्थ राष्ट्रिय अनुसन्धान विभागलाई अझ सुदृढ र विश्वसनीय बनाई व्यवसायिक इन्टेलिजेन्स संस्थामा रुपान्तरण गर्न यस तालिमले थप मद्दत गर्नेछ’उनले भने ।
देशको शान्ति सुरक्षा र अमन चयनलाई आन्तरिक वा वाह्यरुपमा मजबुद बनाउन सबै सुरक्षा निकायबीच संयुक्तरुपमा कार्य सञ्चालन हुनुपर्नेमा जोड दिँदै उनले सङ्गठित अपराध, लागूऔषध, मानव वेचबिखन र साइबर क्राइमजस्ता गतिविधिमार्फत देशलाई कमजोर बनाउने तत्व अझै सक्रिय रहेका बताए ।
नेपाल सरकाले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पुरा गर्न सुरक्षा निकायको विशेष भूमिका रहने भन्दै उनले यस्ता प्रशिक्षणले अझ सदाचारी, नैतिकवान र नागरिकप्रति जिम्मेवार तथा प्रतिवद्ध बनाउन मद्दत मिल्ने उल्लेख गरे ।
गृह मन्त्रालयबाट लागू भएको गृह प्रशासन सुधार कार्य योजना २०७४ अन्तर्गतको ८२ बुँदे कार्ययोजनालाई अझ प्रभावकारी कार्यान्वयनका लागि पनि यस्ता प्रशिक्षण जरुरी रहने उनको भनाइ थियो ।
प्रतिक्रिया