+
Search

ताजा अपडेट +

पपुलर +

चुनाव जित्न २२ जनाको सामुहिक हत्या ! सांसद आलमले यसरी गरेका थिए अपराध

4KNationalDaily
२०७६ आश्विन २७, सोमबार ०८:१० बजे

काठमाडौं- २०६४ चैत २७। दिनको २ बजे नेपाली कांग्रेससँग सम्बद्ध स्थानीय नेताहरु श्रीनारायण सिंहको घरमा पुग्छन्।

ऐतिहासिक संविधानसभाको चुनावको अघिल्लो दिन थियो– त्यो दिन। उनीहरुले सिंहका छोरा त्रिलोकप्रताप सिहलाई ‘नेताजीले बोलाउनुभएको छ’ भन्दै चुनावको प्रचारप्रसारमा सलग्न हुन भन्छन्।

ती नेताजी अरु कोही नभई काग्रेस नेता मोहम्मद आफताव आलम हुन्। श्रीनारायणका लागि, जो अहिले ७० वर्ष नाघिसकेका छन्, आफ्नो २२ वर्षीय छोरालाई चुनावी अभियानमा संलग्न गराउने निर्णय गर्न सजिलो थिएन। उनी अन्योलमा थिए।

चुनावका लागि केही घण्टा मात्र बाँकी थियो। स्थानीय कांग्रेस नेतृत्व मतदातालाई आकर्षित गर्न भरमग्दुर प्रयासमा थियो।

सुरुमा उनले छोरो त्रिलोकलाई चुनावमा संलग्न गराउन आनाकानी गरे पनि कांग्रेस नेता आलमकै जोडबलमा अन्ततः चुनाव प्रचारप्रसार टिममा सहभागी हुने अनुमति दिए। यसरी आलमकै दबाबमा गाउँमा पिन्टु भनेर चिनिने त्रिलोकप्रताप चुनावी प्रचारप्रसारमा सहभागी भए।

त्रिलोकका पिता श्रीनारायणलाई धेरैपछि मात्र थाहा भयो कि उनका छोरालाई चुनावी बुथहरु र प्रतिपक्षी उम्मेदवारका घरमा बम बिस्फोट गर्ने अभिप्रायले बम बोक्ने कामका लागि प्रचासप्रसार टिममा समावेश गराइएको रहेछ।

बम बिस्फोट गराएर मतदातामा डर पैदा गर्ने र बुथ कब्जा गर्ने नियत आलमको थियो।

बम बनाउने काम स्थानीय शेख इन्डियासको गोठमा गरिएको थियो। पिन्टुसहित अर्का युवा ओसी अख्तरलाई यो काममा संलग्न गराइएको थियो। त्यो टिममा सहभागी भएपछि त्रिलोकसँगै अख्तर पनि कहिल्यै घर नफर्केका खबर आजको नागरिक दैनिकमा भद्र शर्माले लेखेका छन् ।

त्यस दिन साँझ ढिलोसम्म छोराहरु घर नफर्केपछि उनीहरुको सोधखोज भएको थियो। धेरै प्रयास गरिए पनि कुनै जानकारी प्राप्त हुन सकेन।

त्रिलोकका परिवारको चिन्ता त्यतिबेला झन् बढ्यो जतिबेला गाउँलेले त्यही रात बम बिस्फोटको ठूलो आवाज सुनेको बताए। स्थानीयका अनुसार त्यो बिस्फोट निकै शक्तिशाली थियो।

बिस्फोटको सूचना पाएपछि छिमेकी लिएर राजपुर फरदवा पुगेका थिए श्रीनारायण। घटनास्थल गाउँबाट दुई कोष टाढा थियो।

उनीहरु घटनास्थलनजिक पुगे। त्यतिबेलाका प्रहरी उपरीक्षक लक्ष्मण न्यौपाने (जो पछि टीकापुर झडपमा मारिए) लगायत सशस्त्र प्रहरीका जवान कुनै पनि अपरिचितलाई उक्त गाउँ पस्न नदिने उद्देश्यले तैनाथ थिए।

उक्त गाउँमा रहेको इँटाभट्टामा बिस्फोटमा मारिएका र घाइतेलाई जलाइएको आशंका थियो।

श्रीनारायण र उनका छिमेकीलाई उक्त गाउँमा जान दिइएन तर बम बनाउने क्रममा भएको विस्फोटमा त्रिलोक र अन्य एक नेपाली तथा २० जना भारतीयको मृत्यु भएको जानकारी दिइयो।

चुरोटको आगोले सल्किएर बनाउन लागेका बम बिस्फोट भएको आशंका छ। त्यतिबेला उनीहरु बम बनाउँदै चुनावी बुथहरु र प्रतिपक्षी उम्मेदवारका गढहरुमा कसरी पड्काउने भन्ने विषयमा छलफलमा पनि गर्दै थिए।

अचानक बिस्फोटपछि गौर अस्पतालबाट डाक्टरहरु झिकाएर घाइतेको उपचार पनि गरिएको थियो। त्रिलोक घाइतेमात्र भएका थिए। उनको मृत्यु भैसकेको थिएन भन्ने थियो। तर मरिसकेका र घाइते आठजनासहित २२ जनालाई घटना ढाकछोप गर्ने उद्देश्यले घिसारेर इँटाभट्टामा फालिएको थियो।

घटनाको केही सातापछि, नेपाल बार एसोसियसन, इन्सेकका प्रतिनिधि र मानवअधिकारकर्मी घटनास्थल पुगेका थिए। उनीहरूले प्रहरी उपरीक्षक न्यौपानेसँग सोधपुछ गरेका थिए।

स्थानीय प्रशासन र अदालतले सो हत्या सम्बन्धमा कुनै निवेदन लिनसमेत इन्कार गरेका थिए। यही कारणले रुक्साना खातुन र श्रीनारायण न्यायका लागि दोषीलाई कारबाही गरी पाऊँ भन्ने निवेदनसहित सर्वोच्च अदालत पुगेका थिए।

अदालतले आलम र अन्य दोषीलाई पक्राउ गरी घटनाको अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाउन आदेश दिएको थियो। त्यसो हुँदाहुँदै पनि प्रहरीले उनीहरु फरार रहेको बताउँदै पक्राउ गरेको थिएन।

जबकी त्यतिबेला आलमको प्रहरीसँग नियमित उठबस थियो। आलम र उनका भाइ महताव आलमलाई हत्याको आरोप र घटनाका प्रमाण नस्ट गरेको अभियोग लागेको थियो।

आलम खाजु भाइले घाइतेलाई उपचार गराउने बहानामा ट्याक्टरमा लोड गरी नातेदार मुस्ताक राजाको इट्टाभट्टामा जिउँदै जलाएका थिए। मुस्ताक तत्कालिन अवस्थामा विजय गच्छेदारको पार्टीमा प्रवेश गरे र अफतावलाई हराएर चुनाव जिते।

गच्छेदार कांग्रेस प्रवेश गरेपछि राजा फेरि एमालेमा प्रवेश गरे र राज्यमन्त्री समेत भए। उनको पछि हृदयघातका कारण मृत्यु भयो।

केही समयपछि तत्कालीन एमालेमा प्रवेश गरेका मुस्ताक राजाले रौतहटबाट प्रदेशसभा सदस्यको चुनावमा समेत उम्मेदवारी दिएका थिए।

चुनावबाट मोहम्मद सविधानसभा सदस्यमा निर्वाचित भए। मन्त्रिमण्डलमा समेत उनी समावेश भए। स्थानीय प्रशासन उनीविरुद्धको कारबाहीलाई कल्पना गर्नसमेत तयार थिएन।

त्यहीबीचमा सर्वोच्च अदालतमा न्यायका लागि निवेदन दिने रुक्साना रहस्यमय हिसाबले मारिइन्। नेपालमा कुनै कानुन नभएको र न्याय नपाइने भनेर निरास भैसकेका थिए पीडितहरु। उनीहरु राजाको शासनमा समेत यस्तो नभएको गुनासो गर्थे। त्यतिबेला कृष्ण सिटौला गृहमन्त्री थिए।
त्यो डरलाग्दो घटनाको पृष्ठभूमि हुँदाहुँदै पनि मोहम्मद पटकपटक ससद्मा निर्वाचित भए र मन्त्री पनि बने।

सांसद आलम पक्राउ

बम बनाउने क्रममा विस्फोट भई घाइते भएका आठजनालाई जलाएर मारेको आरोपमा नेपाली कांग्रेस रौतहटका नेता एवं संघीय प्रतिनिधिसभा सदस्य मोहम्मद आफताव आलमलाई आइतबार प्रहरीले पक्राउ गरेको छ।

सांसद आलममाथि २०६४ चैत २७ गते विस्फोटमा घाइते भएका आठजनालाई इँटाभट्टामा जलाएर मारेको आरोप लागेको छ।

कर्तव्य ज्यान मुद्दाको आरोप लागेपछि २०६५ असार ९ गते रौतहट सरकारी वकिल कार्यालयमा स्पष्टीकरण दिएका आलमलाई सोही प्रकरणमा पुनः पक्राउ गरिएको हो। पूर्वमन्त्रीसमेत रहेका उनी अहिले रौतहट क्षेत्र नम्बर २ बाट संघीय प्रतिनिधिसभा सदस्य छन्।

नेपाली कांग्रेस जिल्लास्तरीय चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा भाग लिन घरबाट सदरमुकाम गौर जाँदै गरेका आलमलाई राजपुर नगरपालिका–१ स्थित इद्रिश गेटबाट प्रहरी नायब उपरीक्षक नवीन कार्की कमान्डको टोलीले नियन्त्रणमा लिएको हो।

पक्राउलगत्तै उनीमाथि लागेको आरोपबारे प्रहरीले प्रारम्भिक अनुसन्धान थालेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily