+
Search

ताजा अपडेट +

पपुलर +

तपाइलाइ पनि राजा बन्ने रहर छ ? जाने होइन त लिगलिगे राजा बन्न ?

4KNationalDaily
२०७६ आश्विन १०, शुक्रबार ०९:२६ बजे

गाेरखा- दौड जितेर प्रथम हुनेलाई राजा छान्ने पुरानो परम्पराको स्मरणमा गोरखाको ऐतिहासिक स्थल लिगलिगकोटमा यसपटक पनि ‘लिगलिगे दौड प्रतियोगिता २०७६’ हुने भएको छ ।

पालुङटार नगरपालिका, नेपाली सेना (रणसिंह दल गण) र लिग लिग कोट बिकाश अभियानको संयुक्त आयोजनामा १० औ ‘लिगलिगे दौड प्रतियोगिता २०७६’ हुन लागेकाे हाे ।

समुद्री सतहदेखि १४३७ मिटर (४,७९० फिट) उचाईमा रहेको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पूरातात्विक, राजनीतिक तथा पर्यटकिय स्थल लिगलिगकोट नेपालको गण्डकी प्रदेश, गोरखा जिल्ला, पालुड्टार नगरपालिका वडा नं २ आँपपिपल  लिगलिग खोल्सीमा पर्दछ ।

लिगलिग दौडको सुरुवात कसरी भयो भनी खोजी गर्दा पाल्पाका राजा मुकुन्द सेनसम्म पुग्नु पर्ने हुन्छ । उनले तत्कालीन गोरखा राज्य पनि विजय गरी शासन सञ्चालन गरेका थिए ।

तर, उनले विं.सं. १६०३ को अन्त्यतिर राजगद्दी त्यागगरी आफूले आर्जेको विशाल राज्य आफ्ना छोरा, नाति, भतिजाहरूलाई विभाजन गरी शासन अधिकार सुम्पिए र आफू धर्मकर्मतिर लागे ।

छेरा नातिहरूले आफूले पाएको राज्यलाई कुसलतापूर्वक शासन सञ्चालन गर्न नसकेपछि प्रत्येक किल्लाका प्रशासकहरू नै राजा हुन थालेका थिए । गोरखामा त्यतिबेला ३९ कोटहरू थिए र तीमध्येको एउटा हो लिगलिगकोट ।

अन्य कोटहरूमा माझकोट, अजिरकोट, बारपाक, सिरानचोक आदि पनि यस्तै राज्यहरू हुन् । यस लिगलिगकोटमा राजा छान्नका लागि घलेहरूले एउटा नियम बनाए ।

त्यसमा दौड प्रतियोगिता गराउने र त्यसमा पहिलो हुने व्यक्तिलाई राजा बनाउने नियम नै सबैले स्वीकार गरे । यसमा इच्छुक सबै व्यक्ति दौड प्रतियोगितामा भाग लिन पाउने व्यवस्था गरे । यसमा जुनसुकै जातजाति, भाषाभाषी, धर्म, वर्ग, लिङ्ग, क्षेत्र भए पनि राज्य सञ्चालन प्रक्रियामा सहभागी हुन पाउने हक अधिकार उनीहरूले स्थापना गरे ।

अनि करिब दुई कोसजतिको उक्त दौडमा सात सय लिगलिग राज्यअन्तर्गतको पहाडको फेदीदेखि लिगलिगकोटको माथिल्लो दरबारसम्म दौडने दुरी निर्धारण गरेका थिए । यो प्रतियोगिता प्रत्येक वर्ष विजयादशमीका दिन गर्ने निर्णय पनि सबै घलेहरूले गरे ।

यो प्रतियोगिता वि.सं १६०४ मा प्रथम पटक भएको थियो । त्यस प्रतियोगितामा दलसुर घलेले जितेका थिए । उनले पछिसम्मका लगातार जितेर १६१५ सम्म लिगलिगका राजा भई शासन गरेका थिए भन्ने प्रमाण पाइन्छ ।

यहाँ आजभन्दा ४६१ वर्ष (वि.सं. १६१५, सन् १५५८) अघि यहाँ लिगलिगे दौडमा प्रथम हुने व्यक्ति एक वर्षको लागि राजा हुने परम्परा थियो । यहाँ राजा हुने प्रक्रिया विश्वकै नौलो र ऐतिहासिक थियो ।

उक्त प्रतियोगिता चेपे र मस्र्याङ्दी नदीको दोभान चेपेघाटबाट सुरु भई लिगलिगकोट दरबारसम्म (१३.८ कि.मि) दौडने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

उक्त प्रतियोगिता असोज १६ गते बिहान ७ बजे लिगलिगे दौडको उद्घाटन हुनेछ । दौड सुरु बिहान ७ बजेर ३० मिनेटमा चेपेघाटबाट सुरु हुने कार्यक्रम रहेको छ ।

लिगलिग दौडमा सहभागी हुने प्रतियोगीमा कुनै बन्देज थिएन । सोही कमजोरीका कारण विसं १६१५ मा लमजुङका युवराज द्रव्य शाहले दलसुर घलेलाई दौडमा हराए । यही समयबाट उनले राजा छान्ने प्रक्रियालाई सदाका निम्ति बन्द गरे र एकीकरण अभियानमा लागे ।

४६७ वर्षपछि लिगलिगबासीहरूले ‘लिगलिग विकास अभियान’ नामक संस्था स्थापना गरी पुर्खाले छोडेको चिनोको सम्झेर २०६७ बाट यो दौडलाई पुनः सुरु गरेका छन् ।

अहिले उनीहरूले राज्य सुम्पन सक्ने अवस्था त छैन तर राजकीय सम्मान गर्ने परम्परा भने सुरु गरेका छन् । विजय हुनेलाई लागि विभिन्न पुरस्कारहरू नगद, पगरी, प्रमाणपत्र तथा मेडलको व्यवस्था उनीहरूले गरेका छन् ।

ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाको संरक्षण र सम्बद्र्धन गर्न, आन्तरिक पर्यटनमा वृद्धि गर्न, स्थानीय जनताको आर्थिक स्तर मजुबुत बनाउन र खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यका साथ सुरु गरिएको यो प्रतियोगिता प्रत्येक दशैंको घटस्थापनाको अघिल्लो दिन हुँदै आएको छ ।

२०६७ देखि २०७५ सम्म बनेका लिगलिगकोटका राजाहरू

२०६७ भूमिराज राई (नेपाल प्रहरी) (इलाम)

२०६८ हरिप्रसाद रिमाल (नेपाली सेना) (धादिङ)

२०६९ समीर तामाङ (नेपाली सेना) (रामेछाप)

२०७० कृष्णबहादुर बस्नेत (नेपाली सेना) (रामेछाप)

२०७१ अनिष थापा मगर (भारतीय सेना) (पर्वत)

२०७२ हरिप्रसाद रिमाल (नेपाली सेना) (धादिङ)

२०७३ अनिष थापा मगर (भारतीय सेना) (पर्वत)

२०७४ खगेन्द्र बहादुर भाट (नेपाली सेना)

२०७५ अनिष थापा मगर (भारतीय सेना) (पर्वत)

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily