+
Search

ताजा अपडेट +

पपुलर +

संविधान दिवस र अपेक्षा

4KNationalDaily
२०७६ आश्विन ३, शुक्रबार १५:१६ बजे

नारायण सापकाेटा

विश्वमा स्वतन्त्र र स्वाधीन इतिहास भएको देश नेपाल हो । संसारका धेरै देशहरु इतिहासमा कहीँ न कहीँ, कतै न कतै कुनै अर्को देशको अधीनमा परेका थिए ।

तर, भूगोल, जनसंख्याले पछि र सानो नेपालले कहिल्यै पराधीनता भोग्नु नपरेको कारण नेपालीले शिर उच्च राख्न पाएका छौं ।

यसको श्रेय हाम्रा वीर–वीराङ्गनासहितका पुर्खाहरुलाई जान्छ जसले जीवन हत्केलामा राखेर यो देशको गौरव बढाए, अखण्ड र स्वाधीन नेपालीको पाहिचान स्थापित गराए ।

त्यसैले आज संविधान दिवसका दिन देशका निर्माता, संगठनकर्ता लगायत सम्पूर्ण बहादुर र कर्मठ पुर्खाहरुप्रति श्रद्धा अर्पण गर्नु नेपालीको कर्तव्य हुनुपर्छ ।

राष्ट्र निर्माणको समय लामो भए पनि विधान र व्यवस्थाका आधारमा सञ्चालन भएको समय छोटै छ । अर्थात् राणाकालको अन्त्यतिर वि.सं. २००४ सालमा बैधानिक कानून निर्माण गरी संविधान घोषणा गरियो ।

त्यसो त त्यो समय शिक्षा र चेतनाका दृष्टिले हामी कमजोर थियौं तथापि राणाकालमै विकासका पूर्वाधार निर्माण गरिएका थिए । शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात लगायतका पूर्वाधारको प्रारम्भ राणाहरुले नै गरे ।

आज त्यही आधारमा टेकेर हामी विकास निर्माणका गफ गरिरहेका छौं । वैधानिक कानून २००४ पछि क्रमशः संविधानमा संशोधन, परिस्कार तथा परिवर्तन गर्ने पद्धति प्रारम्भ भयो ।

त्यसकै परिणाम २००७ सालमा अन्तरिम शासन विधान, २०१५ सालमा नेपाल अधिराज्यको संविधान, २०१९ सालमा नेपालको संविधान, २०४७ सालमा नेपाल अधिराज्यको संविधान २०६३ सालमा नेपालको अन्तरिम संविधान हुँदै २०७२ सालमा वर्तमान संविधान लागू भयो ।

इतिहासमा पहिलो पटक जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट संविधान निर्माण भएको यो संविधानले साढे छ दशक अघिदेखिको नेपाली चाहनालाई मूर्तरुप दियो ।

यद्यपि जारी संविधान निर्विवाद छैन र संशोधनको पक्ष विपक्षमा आज पनि छलफल र विवाद चलिरहेकै छ ।

आज संविधान दिवस ।

आजकै दिन २०७२ असोज ३ गते संघीय गणतान्त्रिक नेपालको संविधान जारी भएको थियो । यसका लागि धेरैले बलिदान दिनु प¥यो भने घरैको त्याग र तपस्या यो संविधानसँग जोडिएको छ ।

यही संविधानले राजतन्त्रात्मक परम्पराबाट देशलाई गणतन्त्रमा पु¥याएको छ । राज्यको पुनर्संरचना गर्दै संघ, प्रदेश र स्थानीय गरी तीन तहमा शक्ति विकेन्द्रित गरिएको छ ।

यही शासन व्यवस्थाका माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने लक्ष्य लिइएको छ ।

विश्वकै अग्लो शिखर सगरमाथाको काखमा रहेको प्रकृतिले सौन्दर्यशाली देश भएर पनि, पुर्खाहरुको बलिदानबाट अखण्डित र स्वाधीन रहे पनि अगुवाहरुको अक्षमताका कारण नेपाली जनताको वर्षौदेखिको सपनाले आकार ग्रहण गर्न पाएको छैन ।

यो दिनले राज्यका सञ्चालकहरुलाई चिन्तनशील, उत्तरदायीपूर्ण बनाओस् शुभकामना संविधान दिवसको ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily