गाेरखा- धार्चे गाउँपालिकाले नौलीखोलामा क्यानोनिङको सम्भाब्यता अध्ययन गर्ने भएको छ ।
पर्यटन बर्ष सन् २०२० लाई मध्यनजर गरी पर्यटन प्रवद्र्धन गर्न नौलीखोलामा क्यानोनिङको सम्भाब्यता अध्ययन गर्न लागिएको गाउँपालिकाका प्रमुख सन्तोष गुरुङले जानकारी दिए ।
गाउँपालिकाले वडा नं ७ लापुबेशीकोे नौली खोलामा क्यानोनिङको सम्भाब्यता अध्ययनका लागि गाउँपालिकाले नेपाल क्यानोनिङ एसोसियसनसँग सम्झौता गरेको गुरुङले बताए ।
एसोसियसनका प्राविधिक टोली भदौ ६ गते सम्भाब्यता अध्ययनका लागि काठमाण्डौबाट गोरखा आउने अध्यक्ष गुरुङले जानकारी दिए ।
‘गण्डकी प्रदेश सरकारले २०१९ लाई आन्तरिक पर्यटन बर्ष घोषणा गरेको छ’, अध्यक्ष गुरुङले भने ‘प्रदेशबाट हामीले अहिलेसम्म पर्यटनका लागि कार्यक्रम पाएका छैनौं । तर गाउँपालिकाकै प्रयासमा आन्तरिक पर्यटन बर्षका लागि नयाँ केहि गर्न सकिन्छ कि भनेर सम्भाब्यता अध्ययन गर्न लागेका हौं ।’
सम्भाब्यता अध्ययन अनुसार नौलीखोलाको झरना क्यानोनिङका लागि उपयुक्त भए आगामी मंसिरमा क्यानोनिङ फेस्टिवल गर्ने गाउँपालिकाको योजना छ ।
‘आबश्यक पुर्वाधार तयार पारेर पानी अली कम भएपछि मंसिरमा फेस्टिवल गर्ने बिषयमा छलफल भएको छ’, गुरुङले भने ।
क्यानोनिङको सम्भावना नभए झरनाको बाटो हुँदै चिंगारडाँडा जाने पदमार्ग बनाउने गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिए । डोरीमा झुण्डिएर पानीमा खेल्ने साहसिक खेलका रुपमा क्यानोनिङ चिनिन्छ ।
प्रतिक्रिया