+
Search

ताजा अपडेट +

पपुलर +

दुधपोखरी यात्रा अनुभव

4KNationalDaily
२०७६ भाद्र ३, मंगलवार २०:०९ बजे

नेपालका धेरै स्थान दुधपोखरी नामले चिनिन्छिन्। तर ती मध्य माथिको फोटोमा देखिएको दुधपोखरी एक महत्त्वपूर्ण धार्मिक तीर्थ कुण्ड गोरखा र लमजुङ जिल्लाको सिमानामा अवस्थित हिमताल हो।

दुरी यकिन गर्न नसके पनि करिब ४५०० मिटर उचाइमा रहेको यो ठाउँ पुग्न गोरखा अजिरकोट गाउँपालिका को खरिबोट बाट दुई दिन भन्दा बढी लगातार हिँड्न पर्ने रहेछ।

मेरो घर पनि अजिरकोट गाउँपालिका वडा नं.२ खरिबोट नै भएकाले म लगायत हाम्रो आफन्त सँगै खरिबोट बाट जाँदा मैले देखेका, भोगेका दुधपोखरी सम्मको मेरो यात्रा अनुभव सेअर गर्न मन लाग्यो ।

इतिहास बाट हालसम्म हेर्ने हो भने दूध पोखरी कुण्डको धार्मिक विश्वास धेरै नै महत्त्वपूर्ण रहेको पाइन्छ। करिब २०० वर्ष अगाडि शाह वंशमा चम्पावतिले छोराहरू नरहरि शाह र द्रव्य शाहको मनमुटाब मिलाउनको निम्ति छोराहरूलाई वारि पारी राखेर आफू बिचमा भई उक्त ठाउँबाट दूध बगाएर अब तिमीहरू दुवैको पाइला यो दूध नागेर आउन पाउने छैनौ भनी संकल्प गरे पश्चात् त्यस दुधको पोखरी भएर तल चम्पावती नदी हुँदै चेपे नदी भएर अन्ततः गोरखा र लमजुङ को सिमाना छुट्टिएको भन्ने विश्वास छ।

साथै धेरै वर्ष पहिले च्यामुन्ने ऋषिले बाङ्गे ओडार हुँदै सोही ठाउँ पुगी तपस्या गरे पश्चात् आफूले चिताएको पूरा भएको भन्ने धार्मिक विश्वास छ।

हुन त हरेक कुण्डको आ-आफ्नो विशेषता हुन्छ। तर यश दूध पोखरीमा स्नान गरे पश्चात् सोचेको आफ्नो मनोकाङ्क्षा पूरा हुने र सोही ठाउँको धर्म गौडा भन्ने ठाउँ पार गरे पश्चात् आफूले गरेको पापबाट उन्मुक्ति पाइन्छ भन्ने धार्मिक विश्वास छ।

साथै दूध पोखरी जाने बाटोमा मनोरम दृश्य सँगै पाँच औले, निर मसी, जट्टामसि, भिमसेन पते जस्ता महत्त्वपूर्ण जडीबुटीहरू पाउने र वरिपरि डाँडाकाडा साथै धेरै मनोरम दृश्यहरूको आनन्द लिन एक पटक अवश्य नै दूध पोखरी पुगौँ भन्न चाहन्छु।

खरिबोट बाट तीन वटा बाटो छन्, पहिलो औले हुँदै, दोस्रो नारखु हुँदै, तेस्रो लमजुङको बाटो हुँदै। हामी नारखु बाटो हुँदै गएका थियौँ। बेलुकी बस्ने ठाउँको कुनै निश्चित नहुने भएकाले आफ्नो बन्दोबस्तकीका सामान आफैँ बोकेर लैजानु पर्छ।

यदि जाने प्लान बनाउनु भएको भए स्लिप ब्याग, ओछ्याउने म्याट, न्याना कपडा, मोजा, जुत्ता, चप्पल, अन्न, दाल, गुन्द्रुक, नुन, चिनी, तेल, मसला, अचार, पकाउने र खाना खाने भाँडा, पानी बोक्ने भाँडा, हल्का तर अत्यधिक पौष्टिक पदार्थ भएका खानेकुरा (जस्तै सातु, मह, चकलेट, ओटमिल, चिउरा, चाउचाउ, दालमोठ), पिउने बानी भए दारु (धेरै जाडो हुन्छ त्यसैले), टर्च लाइट, चक्कु, लट्ठी, चिया पत्ती, आवश्यक औषधि, अतिरिक्त मोबाइल ब्याट्री, एउटा नोकिया ११०० फोन र एनटिसी र एनसेलको एक एक वटा ब्यालेन्स भएका सिम कार्ड, छाता, रेनकोट, केही थप प्लास्टिकका टाट, एउटा पाल जसरी पनि लैजान भुल्नु हुँदैन। सकभर अनावश्यक सामान नलैजानु होला।

यदि भारी बोक्न सकिन्न भने दैनिक एक हजार – पन्ध्र सय ज्यालामा भरिया पाउन सकिन्छ, दुई जनासम्मको बन्दोबस्तकीका सामान एक जनाले बोक्न सक्छन्।

गरिब भए पनि उनीहरू पनि मान्छे नै हुन, पैसा तिरेको छु भन्दैमा अनावश्यक भारी नबोकाइदिनु होला, खानेकुरा किन्दा उनीहरूको लागि पनि किन्नु होला। हामी जाँदा तीर्थयात्री भरियाहरुलाई गरेको ज्यादती देख्दा यिनीहरू पाप धुन जाँदै छन्  ।

थप पाप बटुल्न जाँदै छन् जस्तो सोचाइ आएको थियो, त्यसैले पहिल्यै भन्केको। सकभर दुधपोखरी पहिले पनि गएका भरिया लैजानुहोला।भरियाहरु आफूभन्दा गह्रौँ भारी बोकेर यस्तो बाटोमा पनि कत्ति सजिलै हिड्छन।

प्रथमतः

दुधपोखरी जाने प्लान बनाउनु अघि निश्चित गर्नुहोस् कि तपाईँ लगातार ४-५ दिनको बाटो गह्रौँ झोला बोकेर हिँड्न सक्नुहुन्छ कि हुँदैन? ठिक्क ले हिँड्दा जाँदा ३ दिन, आउँदा २ दिन।

यदि हिँड्ने बानी छैन भने तपाईँलाई यो यात्रा एकदमै कष्टकर हुनेछ। त्यसमाथि थकान र कमजोरीले कसै कसैको खुट्टा फर्कने, बाउँडिने समस्या हुन्छ, कतिपय त हिँड्नै नसक्ने अवस्थामा पुग्छन्। त्यस्तो अवस्थामा न अघि जानु न फर्कनु हुन्छ ।

तपाईँले गर्दा तपाइसँग गएका साथीलाई अप्ठेरो पर्न सक्छ। यो क्षेत्रमा फोन मुस्किलले लाग्छ कतै कतै, फोन गरेर राहत मगाएर फर्किन्छु भन्ने नचिताए पनि हुन्छ। त्यसैले आफू शारीरिक रूपमा सक्षम छैन जस्तो लाग्छ भने यति लामो पदयात्रा नगरेको नै राम्रो।

सबैभन्दा रमाइलो समूह बनाएर जाँदा हुन्छ, मन मिल्ने साथीहरू सँग जाँदा यात्रामा समय बितेको थाहै हुँदैन, थकान पनि त्यति महसुस हुँदैन। तर यो रुटमा साथीहरूको सामुन्ने हिरो बन्छु भन्दै बाटै नचिनी अगाडि अगाडि जेपिटी बाटो नहिँड्नु होला।

वर्षमा एक पटक मात्रै हिँडिने बाटो भएकाले घाँसले बाटो पुरिएर नदेखिने भएका हुन्छन्, त्यस्तो अवस्थामा एक्याप ले गाडेका पहेँलो रङ्गका पोल हरू हेर्दै अघि बढ्न सकिन्छ, बाटो चिनेको भरिया लैजानु भएको भए धेरै सजिलो हुन्छ, नत्र अरू तीर्थयात्री हरू पनि हिँडी रहेका हुन्छन्, उनैको साथ लाग्नु राम्रो हुन्छ।

क्यापले पदयात्री नहराउन भनेर ठाउँ ठाउँमा साना पोल गाडिदिएका छन्, एउटा पोलमा पुगेपछि अर्को पोल देखिन्छ, पहिलो पटक जानेहरू तीनै पोल हेर्दै बाटो पहिल्याउँदै जाने हो। समाजसेवीहरूले एक दिनको बाटोको दुरीमा पाटीहरू पनि बनाइदिएका छन्, धेरैजसो पाटी खानेपानीको सुविधा भएको ठाउँमा अवस्थित छन्, र केहीमा शौचालयको पनि व्यवस्था छ।

कतै दाउराको पनि व्यवस्था हुन्छ तर ढुक्क भएर जानुभन्दा आफैसँग एउटा सानो ग्यास या मट्टितेल स्टोभ लैजानु ठिक हुन्छ। एउटा अचम्मलाग्दो कुरा के देखेँ भन्दा जति उचाइमा गयो उति खाना पाक्न समय लाग्दो रहेछ।

हामी जाँदा चिया पाक्न लगभग एक घण्टा लागेको थियो। भात पकायो, तल तल पाक्छ माथिको काँचै रहन्छ, त्यसैले त्यस्तो समयमा भातको साटो अन्य केही खान बेस हुन्छ। भोलीपल्ट पाटी छोड्नु अघि पाटी सफा गरेर, आफूले फ्याँकेका फोहर हरू जलाएर मात्र हिँड्नु होला।

यस्ता उचाइमा जाँदा सबैभन्दा ठुलो व्यवधान भनेको लेक लाग्नु हो। श्वासप्रश्वासमा समस्या आउनु, मुटुको धड्कन बढ्नु, बान्ता आउनु, जरो आउनु लेक लाग्दा का लक्षण हुन।

जोमसोम जाँदा लेक लागेकालाई दुधपोखरी जाँदा लेक लाग्ने सम्भावना प्रवल हुन्छ किनकि जोमसोम २७०० मिटर उचाइमा छ मने दुधपोखरी जोमसोम को लगभग दोब्बर यानिकी ४५०० मिटर उचाइमा पर्छ। त्यसैले धेरै आत्तिएर नहिँड्नु होला, धेरै सुस्त पनि नहिँड्नु होला, बिस्तारै एउटै गतिमा हिँडिरहनु होला, विश्राम थोरै मात्र लिनुहोला, सकभर उभिएरै बिसाउनुस्, थुचुक्कै चाहिँ नबस्नु होला। नत्र बसेको बसे भइएला फेरी।

क्याण्डी, ल्वाङ्, सुकमेल, लसुन, अदुवाको टुक्रा गोजीमा राखिराख्नु होला, हिँड्दा केहि न केही मुखमा च्यापिराख्नु होला। आमालाई तीलको अचार बनाइदिनु भन्नु होला। यसले लेक लाग्न कम गर्छ।

सकभर धूम्रपान नगरेको राम्रो, गरे पनि एकदमै न्यून मात्रामा गर्नुहोला। लेक लागेको फिल भए थप उचाइमा नजानु होला। एक छिन बिसाएर कोसिस गर्नुहोला, सक्दिन झैँ लाग्यो भने फर्किएको राम्रो।

तर फर्किने अवस्था आउने छैन भन्ने मलाई लाग्छ किनभने बाटोमा विभिन्न उमेर, किसिमका तीर्थयात्री भेटिनेछन्। वृद्ध वृद्धाहरू टुइँ टुइँ हिँडेको देखेपछि तपाईँको आत्मबल त्यसै बढेर जानेछ।

बाटो पुरै उकालै उकालो हो, समतल बाटो को त अपेक्षा नगरे पनि हुन्छ। उकालो पनि नाक ठोकिने ठाडो उकालो। फर्किँदा चाहिँ ओरालै ओरालो। दोस्रो दिन हिँड्न एकदमै मुस्किल हुनेछ, पहिलो दिन एक्साइटमेन्टले हिँडिएला, त्यसको प्रतिफल भोलीपल्ट नै देखिन्छ।
बेकारमा आएछु जस्तो हुन्छ। उच्च पहाडी भेकका जङ्गल कट्न गाह्रो हो त्यसपछिको माहौल फेरी अर्कै हुन्छ। एक त हिँड्ने बानी पर्न थाल्छ, अर्को मुखै अगाडी हिमाल र सुन्दर दृश्य देख्न थालेपछि थकान सकान चट् हुन्छ।

अर्को दिनदेखि जङ्गल सकिन्छ, ससाना बुट्यान मात्रै हुन्छन्, पर पर सम्म हरिया डाँडा, डाँडामा भेडा चरेका, जता हेर्‍यो उता जङ्गली फुलै फुल मात्रै, अनि टिलिक्क टल्केका हिमाल देखेपछि तपाईँलाई एक पटक त स्विजरल्याण्ड पुगेछु कि झैँ लाग्नेछ। यदाकदा भेडी गोठ हरू देखिन्छन्, भेडीगोठालाहरु गोठबाट बटुवालाई जिस्काउँछ।

उनीहरू यो सिजनमा त्यता उक्लिँदा रहेछन्, उनीहरूको अनुसार जङ्गली फुल जेठ असार देखी फुल्न सुरु गरेर भदौ असोज सम्म रहँदा रहेछन्, त्यसपछि त्यो पुरै भेग हिउँले ढाकिने रहेछ।

भदौ अन्तिम–असोज सुरुका हप्तामा सबैभन्दा बढी फुल फुल्ने र ती फुलका विषालु वासनाले मान्छे, भेडाको लट्ठिएर ज्यान समेत जाने हुँदा उनीहरू पनि भेडा लिएर भदौ दोस्रो हप्तातिर बेसी झर्दा रहेछन्।
त्यो क्षेत्रमा दुधपोखरी मेला भर्न जाने तीर्थालु र एक दुई भेडि गोठाला बाहेक अन्य मानवीय चहलपहल शून्य रहेछ। कहिले जनै पूर्णिमा ढिलो पर्‍यो भने फूलका वासनाले तिर्थालुहरु बाटैमा ढल्दा रहेछन्।

त्यसैले तपाईँ हरुपनि राम्रा फुल देखेर, छुने टिप्ने या वासना सुँघ्ने काम नगर्नु होला। सकभर मास्क लगाउनुस्। टाढैबाट हेर्न, फोटो खिच्न केही नहोला।

यात्रा अवधिमा विभिन्न बाटो हुँदै आएका तिर्थालुहरु मुख्य बाटोमा मिसिँदा बाटो भीड हुन सक्छ। वर्षको एक पटक मात्रै प्रयोग हुने बाटो भएकाले बाटो भत्केको, बिग्रेको हुन सक्छ।

खुट्टा मात्रै टेक्न मिल्ने साँघुरा बाटो त्यसमाथि माथि पहरो, तल ठाडै भीर, एकदमै डरलाग्दो बाटो हुनेछन्। त्यसमाथि चिप्लिने डर उत्तिकै हुन्छ। तर नडराई, नआत्तिई एक अर्कालाई पालो दिई बिस्तारै हिँड्नुहोला।
जुत्ता चप्पलको बारेमा भन्नुपर्दा यात्राकै लागि भनेर नयाँ किनेर लैजानु भन्दा प्रयोग गरिरहेको पुरानै लैजाँदा हुन्छ तर दुवै बलियो अवस्थामा हुनपर्छ, माथि पुगेर फाट्यो या चुँडियो भने अप्ठेरो पर्न जान्छ। पुराना लैजानु भनेर यस अर्थमा भनेँ कि त्यो कठिन बाटोमा बानी परी सकेका जुत्ता चप्पल लगाउनु ठिक हुन्छ, नयाँले खुट्टा डस्ने, घाउ बनाउने सम्भावना हुन्छ।

र, बाटै भरी आफूले चाहे अनुसारका जुत्ता, टिसर्ट, कट्टु मात्रै लगाउँछु भन्ने नसोचे पनि हुन्छ, तपाईँको ठाउँमा अहिलेको मौसम जेजस्तो भए पनि त्यहाँ धेरै फरक मौसम छ।

जति माथि उक्ल्यो उति जाडो बढ्दै जान्छ, यात्राको आधा जसो दिन भर पानी पर्छ, गतिलो रेनकोट र झोला छोप्ने कुरा नलैजानु भएमा भिजेर हिँड्नै गाह्रो हुन्छ। झोला भिजेर दोब्बर वजनको हुन्छ।

बाटोमा अनेक साना खोला तर्नुपर्छ, त्यसैले जुत्ता मात्र लगाउन सम्भव हुँदैन। बाटो पुरै उकालै उकालो हो, समतल बाटो को त अपेक्षा नगरे पनि हुन्छ।

लैजान त जुका नलाग्ने औषधि पनि लगे हुने हो तर जुका यति लाग्छन् कि औषधिले धान्नै सक्दैन। जुका देखेर सातो जान्छ भने जाने बारेमा पनि नसोच्दा हुन्छ किनकि जुका यति लाग्छ कि भनी साध्य हुँदैन, रुख रुखबाट वर्षा हुन्छ जुकाको।

एक, दुई पिन्ट रगत त जुकालाई चढाउँछु भन्ने जाने हुन्छ। तर उचाइमा पुगेपछि जुका त लाग्दैनन्, तर तीनले टोकेको ठाउँमा चिलाएर असह्य नै हुन्छ।

जुकाले टोकेको ठाउँमा यति चिलाउँछ कि कन्याउँदा स्वर्गीय आनन्द आउँछ तर दुखको कुरा कन्याउन लाई रोकिन नै पाइँदैन, केही गरी ढिलो भएर पाटी सम्म पुगिएन भने जङ्गलमै बास बस्नुपर्ने हुन्छ, संरक्षित क्षेत्र भएकाले जङ्गली जनावरको पनि उत्तिकै खतरा हुन्छ।

पाल सकभर बलियो लैजानु होला। यदि केही गरी पाटी भेटिएन या पाटीमा ठाउँ पुगेन भने पाल टाँगेर बस्नुपर्छ। टेन्ट जस्तो हुने भने अझ सजिलो, तर छ तीरैबाट पानी थेग्ने हुनुपर्छ।

किनकि जति माथि पुग्यो उति घना वर्षा र घना भीड हुन्छ। सबैभन्दा माथिल्लो बास बस्ने ठाउँमा त यति भीड हुन्छ कि पाटी भित्र खुट्टा टेक्ने ठाउँ पनि हुँदैन। हामी जाँदा पसल पनि हुन्छ, भेडाको मासु पनि बेच्छन् भनेर सुनाएका थिए तर त्यहाँ पुग्दा केही भेटिएन।

जाँदा अन्तिम बास बस्ने ठाउँलाई धर्मशाला भन्छन्, यो ठाउँ चेपे नदीको मुहान चन्द्रावति नदी सँगै पर्दछ। लगभग धेरै जसो तीर्थ यात्री हरू त्यही ठाउँमा बस्ने भएकाले त्यहाँ त राम्ररी सुत्न नि पाइँदैन।

बल्ल बल्ल ठाउँ खोजेर टुसुक्क बसेर यसो निदाउन लाग्यो, मान्छेहरू सब जना हिँड्न तयार। मध्यरातको २ बजे मान्छेहरू दुधपोखरी नुहाउन हिँड्छन्। ढिलो गरी गएमा तर्साउन दिन्छ भन्दा रहेछन्।

हामी भूत सुत नमाने पनि बाध्य भएर आँखा मिच्दै दुधपोखरी यात्राको अन्तिम उकालो उक्लिइयो। पर आकाशमा नागबेली आकारमा ताराहरू बिस्तारै चले जस्तो देखिन्थे, कुनै तारा माथि माथि जाँदै, कुनै तारा तल तल झर्दै, के रहेछन्, तर्साउँछ त भनेकै थिए, कतै साह्रै ढिलो भएकाले राँके भूतले तर्साएको त होइन? जस्तो लाग्न थाल्यो।

के हो त्यस्तो भनेर सोधेको मान्छे टर्च बाल्दै हिँडेका हुन पो भन्छन्। आँमामा अझै त्यत्रो उक्लिन पर्ने रहेछ। घरीघरी त जान्न भनेर त्यहीँ थुचुक्क बसिदिऊँ जस्तो हुन्थ्यो।

बिसाएर वरिपरि हेर्दा देखिने अजङका काला पहाडहरू नै तर्साउन काफी थिए। लगभग ३ घण्टाको अनवरत मर्निङ वाक पछि अन्ततः दुधपोखरी ताल देख्दा कुनै युद्ध नै जितेजस्तो हर्ष हुँदो रहेछ।

त्यो हिउँ पग्लेर जमेको पानीमा डुबुल्की मार्दा प्राण जाँदाजाँदै बाट जोगियो, अमर रहुन् ती जसले ज्याकेट बनाए। तर हिँड्ने बानी परिसकेको भएर होला, यही हो गन्तव्य, अब फर्कनु पर्छ अब भनेको सुन्दा निराश पनि लाग्छ।

अझै माथि जान पाए जस्तो लाग्दो रहेछ। कतिपय ठाउँले यस्तो मोहनी लगाइदिन्छ कि यतै घर बनाएर बस्न पाए जस्तो सोच आउँछ।

दुधपोखरी मेलामा खासै केही त नहुँदो रहेछ। हामी पनि के के न हुन्छ होला मेलामा भन्ने सोचेका थियौँ, त्यहाँ त पोखरी पुग्ने, डुबुल्की लगाउने, जनै मन्तर्ने, जनै फेर्ने अनि फटाफट लुगा लगाएर फर्किने मात्रै हुँदो रहेछ।

खासै स्पेसल अरू केही नहुने रहेछ। तर जब फर्किएँ तब देखेँ पृथ्वीको साक्षात् स्वर्गीय झलक। आउँदा त अँध्यारो थियो, केही देखिएन, जाँदा त जता हेर्‍यो उतै स्वर्ग जस्तो।

जाँदा तर्साएका ती काला पहाड हरू हिमाल रहेछन्, सूर्य को किरण परेर सुनौला देखिएका। जता फर्केर जे हेरे पनि फोटो खिच्न मन लाग्ने। तर दुखको कुरा, मोबाइल र क्यामरा दुवैमा ब्याट्री लगभग सकिएको थियो।

त्यसैले तपाई हरू जानुभयो भने केही थान अतिरिक्त ब्याट्री या पावर बैङ्क लिएर जानु अनि आवश्यक बेलामा मात्रै प्रयोग गर्नुहोला।

फर्किँदा सकभर जुन बाटो आउनुभएको थियो त्यही बाटो फर्किनु होला। आएको बाटो र थकाई सम्झिँदा त्यो बाटो फर्केर जानै नपरोस् जस्तो हुन्छ तर सबै बाटो उस्तै हुन्।

हामी त उहीँ बाटो आयौँ, तर केही साथी हरू फर्किँदा नयाँ बाटो हुँदै फर्किने भनेर नयाँ बाटो आएका रहेछन्, तर बिचमा कतै बाटो बिराएर, कता हो कता पुगेर हराएर साँझको समय त्यसमाथि झरी, कतै केही देखिन्न, त्यो रातभर भिजेर बस्नुपर्‍यो, त्यो पनि भोकै भन्ने कुरा सुनाउनु भएको थियो।

अर्को आग्रह के गर्दछु भने, लगेका खानेकुरा फर्कने बेलासम्म बढी भएको जस्तो लाग्यो भने त्यतिकै फ्याँक्नुभन्दा भेडी गोठालालाई दिनु होला। तपाईँले उनीहरूलाई सहयोग गर्नुभयो भने उनीहरूले पनि तपाईँलाई सहयोग गर्नेछन्, साथसाथै तपाईँ पछि गएकालाई उनीहरूले सहयोग गर्न सक्छन्।

पथ यात्रा ?️ 

खरिबोट, पारिगाँउ, केप्रुङ, अपुन, खिम्पु, वोलाङ, हुँदै यिउने, नप्लो, सैडु, जम्लेखोलो, गल्छी, डेरिडाडा, कैडाडा, टैखरका, नारखु, देउराली, बाङ्गे रह, धर्मशाला, खहरे, धर्मगौडो, पार गरे पछि दूध पोखरी कुण्ड पुगिन्छ ।

यदि कोही यो ब्लग पढेर जानुभयो भने दोस्रो दिनदेखि फर्केको दिनसम्म मलाई सम्झिँदै गाली गर्न थाल्नुहुनेछ, तपाईँको हालत, जुकाले टोकेका डाम देखेर तपाई कि आमाले पनि मलाई सराप्नुहुनेछ।

तर त्यसको केही दिनपछि जब त्यो यात्राको बारेमा सम्झिनुहुनेछ, त्यो एडभेन्चर फिल गर्नुहुनेछ, तपाईँका खुल्ला आँखाले प्रत्यक्ष देखेका ती स्वर्गीय दृश्य सम्झिनुहुनेछ, तब तपाईँ मप्रति आजीवन आभारी रहनुहुनेछ।

शुभ यात्रा!

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily