+
Search

ताजा अपडेट +

पपुलर +

हेलिकोप्टरबाट सामान बोकेर बन्यो नाम्रुङमा १८ करोडको रिसोर्ट

4KNationalDaily
२०७६ श्रावण १४, मंगलवार १४:०४ बजे

गोरखा- गोरखाको दुर्गम गाउँमा १८ करोड रुपैयाँको लागतमा सुविधा सम्पनन रिसोर्ट निर्माण भएको छ । चुमनुब्री गाउँपालिका ४ नाम्रुङका व्यवसायी लाक्पा डुण्डुप लामाले नाम्रुङ गाउँमा फोर सिजन रिसोर्ट प्रालि निर्माण गरेका हुन् ।

नाम्रुङ मनास्लु पर्यटन पदमार्गमा पर्ने बजार हो । विदेशी पर्यटक काठमाडौंबाट पाँचौ दिनमा यहाँ पुग्छन् । मनास्लु क्षेत्रमा पर्यटक बढ्दै गएको र पर्यटकलाई गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले रिसोर्ट निर्माण गरेको सञ्चालक लामाले बताए ।

‘गुणस्तरीय पर्यटकले गुणस्तरीय सेवा खोज्छन्’, उनले भने, ‘केही बढि पैसा खर्च गर्न चाहेर गुणस्तरीय सेवा लिन चाहने पर्यटकलाई चाहेजस्तो सेवा दिन मैले लगानी गरेको हुँ ।’ रिसोर्टमा १५ वटा लक्जरी कोठा र ३० वटा बजेट रुम रहेको छ । नेपाल भ्रमण बर्ष २०२० को सरकारी लक्ष्य सफल बनाउन यस खालका गुणस्तरीय रिसोर्ट खुल्नु पर्ने लामाको भनाइ छ ।

नाम्रुङ २६५० मिटर उचाइमा पर्छ । ‘मनास्लु आरोहण गर्न आउने पर्यटक अल्टिच्युडका बिरामी भए भने उनीहरुलाई अक्सिजनको ब्यालेन्स मिलाउने विशेषता भएको तीनवटा रुम छन्’, लामाले भने, ‘भरिया र गाइडहरुका लागि ‘नेपालका हिरोहरुको घर’ भनेर छुट्टै घर ब्यबस्था गरिएको छ ।’ सातसय बर्ष पुरानो ओखरको रुख मुनि रिसोर्ट छ । रिसोर्टसंगै करिब २५ सय बर्ष पुरानो पुरातात्विक छ्योर्तेन, दरबार रहेका छन् ।

रिसोर्टमा साउना बाथ, चिसो तातो पानीको ब्यबस्था छ । साथै होटलभित्रै तिर हान्ने खेल (अर्चरी)को ब्यबस्था समेत रहेको छ । होटलले अर्गानिक फर्म सञ्चालन गरेको छ । फर्ममा रुखको बोक्राले बनेको आठकोठे छुट्टै होटल पनि रहेको छ ।

‘राजधानी छोडेर हिडेको लामो समयसम्म सुविधासम्पन्न होटल, रिसोर्टको सुविधा नपाउँदा पर्यटकलाई असजिलो महशुस भएको हुनसक्छ’, उनले भने, ‘त्यसैले पर्यटकको मनोविज्ञान बुझेर मैले जतिसुकै खर्च गरेर पनि सेवा सुविधासम्पन्न रिसोर्ट बनाएको हुँ । यहाँ साउना छ, तातो, चिसो पानीमा नुहाउने सुविधा छ, वाइफाई छ । घोँडा चढेर तिर हानी खेल्ने सुविधा छ । संग्रहालय छ ।’

प्राचीन नाम्ला गुम्बा, वृद्धाश्रम, वन बिहार आदिको सुविधा रहेको उनले बताए । मनास्लु आरोहणका लागि अभ्यास गर्न नाम्रुङमा उपयुक्त वातावरण रहेको उनले बताए ।

फोर सिजन होटलका सञ्चालक लामाले अर्गानिक कृषि फर्म सञ्चालन गरेका छन् । जंगलको बीचमा रहेको सो फर्मभित्र रुखको बोक्राको मात्र प्रयोग गरेर बनाइएको अर्को होटल छ ।

आठवटा कोठा रहेको सो होटलमा बस्ने पाहुनाले चाहेमा फर्मबाट आफैले तरकारी तथा फलफूल टिपेर पकाएर खान पाउने व्यवस्था छ । साथै स्याउ तथा भुइँस्याऊबाट बनेको लोकल वाइनको सुविधा रहेको सञ्चालक लामाले बताए ।

यातायातको सेवा नभएको सो ठाउँमा हेलिकोप्टरबाट सामान ढुवानी गरेर रिसोर्ट निर्माण गरिएको हो । चारबर्ष लगाएर निर्माण सम्पन्न गरिएको सो रिसोर्ट हालै सञ्चालनमा आएको छ ।

यति दुर्गममा आइपुगेपछि पनि राजधानीमा झै सुविधासम्पन्न रिसोर्टमा बस्न पाउँदा पर्यटकहरु असाध्यै खुशी हुने गरेको होटल सञ्चालक लामाको भनाइ छ ।

दराैंदी दैनिकबाट

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily