काठमाडौं– टी-२० विश्वकपको एसियाली छनोटको पहिलो खेलमा नेपाल पराजित भएको छ।
टस जितेर पहिले ब्याटिङ गरेर नेपालले दिएको १ सय २३ रनको लक्ष कतारले ६ विकेटको क्षतिमा ४ बल अगावै भेट्टाएको हो।
सिंगापुरको इन्डियन एसोसियसन मैदानमा नेपालले सबै विकेट गुमाउँदै १ सय २२ रनको योगफल खडा गरेको थियो।
सटिक सुरुवात गरेका २ अनुभवी ब्याट्सम्यान कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि ६ ओभरमा ४९ रनको साझेदारी गरेका थिए।
पारसले २८ रन बनाउँदा ज्ञानेन्द्र २३ रनमा पेवेलियन फर्किए। पारसको पारीमा ४ चौका र १ छक्का तथा ज्ञानेन्द्रको पारीमा २ चौका र १ छक्का सामेल थियो। प्रारम्भिक जोडी पेवेलियन फर्किएपछि नेपालले लगातार अन्तरमा विकेट गुमाएको थियो।
१ सय ५० रन सम्मको लक्ष्य दिने सोचिएको नेपालले खराब ब्याटिङ गर्दा पराजित हुन पुगेको हो।
टि–२० विश्वकपको जारी एसिया छनौटमा नेपालसँगै ५ देशको सहभागिता छ। यस प्रतियोगिताको विजेता टोलीले असोजमा यूएईमा हुने ग्लोबल छनौट खेल्नेछ। ग्लोबल छनौटमा १४ टोलीको सहभागिता रहनेछ।
उक्त प्रतियोगिताको शीर्ष ६ भित्र रहने टोली अष्ट्रेलियामा २०२० मा हुने विश्वकपमा छनोट हुनेछन्।
प्रतिक्रिया