भोजपुर- सदरमुकाममा नेत्रविक्रम चन्द नेतृत्वको माओवादीका कार्यकर्ता र प्रहरी बीच गोली हानाहान हुँदा २ जनाको मृत्यु भएको छ । १ जना गम्भिर घाइते भएका छन् ।
सदरमुकामको शनिबारे हटियाको पाँचधारे होटलमा विहान ८ः३० बजेतिर भएको गोली हानाहानमा नेकपा चन्द समूहका ओखलढुंगा जिल्ला इन्चार्ज निरकुमार राई र प्रहरी जवान सञ्जीव राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ ।
गोली लागेर प्रहरी जवान सोमनाथ भट्टराई गम्भिर घाइते भएका छन् । उनको सदरमुकामस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । लुकेर बसेका नेकपा कार्यकर्तालाई नियन्त्रणमा लिने प्रयास गर्दा चन्द समूहका कार्यकताले गोली प्रहार गरेपछि प्रहरीले पनि जवाफी कारवाही गर्दा उत्त घटना घटेको प्रहरी कार्यालयले बताएको छ ।
प्रहरीले घटनास्थलवाट एकजना चन्द नेकपाका कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । प्रहरीले घटनास्थलबाट चिनियाँ पेस्तोल र ६ राउण्ड गोली समेत बरामद गरेको छ । गोली हानाहानपछि भोजपुर सदरमुकाममा सुरक्षा सतर्कता बढाइएको छ ।
प्रतिक्रिया