काठमाडौँ- नेपालले एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि जितेको छ । मलेसियामा मंगलबार भएको फाइनलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गर्यो ।
नेपालले टस जितेपछि ब्याटिङमा आएको हङकङ क्वालालम्पुर स्थित किनरारा ओभल मैदानमा ४३.१ ओभरमा ९५ रनमा अलआउट भयो । जबाफमा नेपालले १६.१ ओभरमै लक्ष्य पुरा गर्यो ।
नेपालले २०१७ को पछिल्लो संस्करण जित्दा पनि मलेसियामै भएको फाइनलमा हङकङलाई ५ विकेटले पराजित गरेको थियो । उपाधिसँगैं नेपालले अगस्ट ८ देखि सेप्टेम्बर २८ सम्म श्रीलंकामा हुने एसीसी यू–१९ एसिया कपमा स्थान पक्का गरेको छ । एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान, युएई र कुवेतले प्रतिस्पर्धा गर्नेछन् ।
नेपाललाई विजय दिलाउनेक्रममा पवन सर्राफले ३९ रन बनाए । रित गौतम (१३) सँग पहिलो विकेटमा ७ ओभर भित्र ५२ रनको साझेदारी गरेका पवनले ३६ बल खेली ५ चौका र १ छक्का प्रहार गरे । खडकबहादुर बोहरा ८ र कप्तान रोहित पौडेल १२ रनमा आउट भए । भिम सार्की ८ रन बनाई अविजित रहे ।
स्पिनर सागर ढकालले ५ विकेट लिएर हङकङलाई धरारायी बनाएका थिए । उनले कुल १० ओभरमा ५ मेडन राख्दै १८ रन खर्चे । अन्तिम ओभरमा उनले ९ रन खर्चेका थिए । सागर खेलको पहिलो ओभर नै बलिङ लिएर आएका थिए । उनले आफ्नो पहिलो दुई ओभरमा ओपनर नसरुल्ला राना र राहुल शर्मालाई आउट गर्दा हङकङले विना रन दुई विकेट गुमाइसकेको थियो ।
सागरसँगैं आएका ओपनिङ बलर कमलसिंह ऐरीले ३ विकेट लिए । तीब्र बलर कमलले सोक्रममा ८ ओभरमा २ मेडन राख्दै २३ रन खर्चे । कुशल मल्ल र तिलकराज भण्डारीले १–१ विकेट लिए ।
हङकङबाट कप्तान आदित गोरावाराले २४, ओपनर मार्क चल्लुले १९ र रौनक कपुरले १२ रन बनाउनु बाहेक अन्य कसैले दोहोरो स्कोर बनाउन सकेका थिएनन् । नेपालले अतिरिक्तमा १७ रन दिएको थियो, त्यसमा १६ वाइड थियो ।
प्रतिक्रिया