काठमाडौं- कन्ट्रयाक्ट किलर बोलाएर आमाको हत्या गरिएको घटनामा पक्राउ परेका चार जनामध्ये दुईलाई सात र दुई जनालाई ६ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरी परिसर भक्तपुरले म्याद थप गरेको छ।
मोहम्मद नौसाद र छोरी ईश्वरी भट्टराईलाई सात दिन र चक्कु प्रहार गर्ने मोहम्मद रहिस र सहयोग गर्ने अर्जुन भनिने भोला कुमारलाई ६ दिन थुनामा राख्न अदालतबाट म्याद लिइएको हो।
गत आइतबार भक्तपुर चाँगुनारायण नगरपालिका ७ बाँसबारीस्थित घरमा सावित्री भट्टराईको घाँटी रेटी हत्या गरिएको थियो।
हत्याको मुख्य कारण भक्तपुरको कमलविनायकस्थित एक गार्मेन्ट फ्याक्ट्रीमा काम गर्ने सिरहा विष्णुपुर स्थायी घर भई भक्तपुरको सानोठिमी बस्ने २३ वर्षीय अविवाहित मोहम्मद नौसादसँग मृतककी कान्छी छोरी ईश्वरीको विवाहेत्तर प्रेम रहेको तथ्य प्रहरी अनुसन्धानले देखाएको छ।
हत्याको घटनासँगै परिवारका सदस्यले घरबाट २२ लाख हराएको प्रहरीमा बताए पनि त्यसको गुत्थी सुल्झिन सकेको छैन। याे खबर आजकाे कान्तिपुरमा छापिएकाे छ।
प्रहरी परिसर भक्तपुरका एसएसपी सविन प्रधानका अनुसार मृतकका परिवारका सदस्यले घरमा रहेको २२ लाख फेला नपरेको बताएका छन्।
प्रतिक्रिया