बाबर आजमको शतकप्रेरित पाकिस्तानले बुधबार राती न्युजिल्यान्डको अपराजित यात्रामा पूर्णविराम लगाउँदै आइसिसी एकदिवसीय
विश्वकपको सेमिफाइनल पुग्ने आशा जीवित राखेको छ।
बर्मिङघम रंगशालामा टस जितेर ब्याटिङ रोजेका केन विलियम्सनको न्युजिल्यान्डले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ३७ रनको योगफल बनाएको थियो। यसअघिका ६ खेलमा अपराजित रहेको न्युजिल्यान्डले दिएको २ सय ३८ रनको लक्ष्य पाकिस्तानले ५ बल बाँकी रहँदा ४ विकेट गुमाएर पूरा गर्यो।
जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानका लागि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका बाबर आजमले शानदार इनिङ खेल्दै टोलीलाई सातौं खेलमा तेस्रो जिततर्फ डोर्याए।
ओपनर फकहर रहमान १० बलमा ९ रन जोडेर आउट हुँदा अर्का ओपनर इमाम उल हक २९ बलमा ३ चौकासहित १९ रन जोडेर पभेलियन फर्किएका थिए।
त्यस्तै मोहम्मद हफिजले तेस्रो विकेटका लागि बाबर आजमसँग ८७ बलमा ६६ रनको साझेदारी गर्दै ३२ रन बनाउँदा आउट भए । ५० बल खेलेका हफिजले ५ चौका प्रहार गरेका थिए।
तर चौथो विकेटका लागि आजम र ह्यारिस सोहालीले १ सय ४२ बलमा १ सय २६ रनको साझेदारी गरेपछि सरफराज अहमदको टोली जिततर्फ लम्किएको थियो। त्यसै क्रममा बाबर आजमले १ सय २७ बलमा ११ चौका प्रहार गर्दै अविजित १ सय १ रन बनाएर प्लेयर अफ दी म्याच घोषित भए।
सोहालीले ७६ बलमा ६८ रन जोड्न ५ चौका र २ छक्का प्रहार गरेका थिए। पाकिस्तानको इनिङमा छक्का प्रहार गर्न सफल एकमात्र ब्याट्सम्यान सोहाली जितका लागि २ रन बाँकी रहँदा रन आउट भए।
पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका कप्तान अहमदले ३ बलमा १ चौकासहित अविजित ५ रन जोडेपछि पाकिस्तानको जित निश्चित भयो। उनले ल्यूक फर्गुसनको अन्तिम ओभरको पहिलो बलमै चौका प्रहार गर्दै ६ विकेटले नतिजा टोलीको पक्षमा पारे।
न्युजिल्यान्डले जोडेको योगफलको बचाउ गर्न कप्तान विलियम्सनले आफूसहित ८ जना बलरको प्रयोग गरे पनि ३ बलर मात्रै विकेट लिन सफल भए। ट्रेन्ट बोल्टले १० ओभरमा ४८ रन दिएर १, फर्गुसनले ८.१ मा ५० रन खर्चेर १ तथा कप्तान विलियमसनले ८ ओभरमा ३९ रन दिएर १ विकेट मात्रै लिन सफल भए।
पहिलो इनिङमा जेम्स निशामको अविजित अर्धसतक प्रेरित न्युजिल्यान्डले पाकिस्तानसामु आक्रामक बलिङसामु २ सय ३७ रन जोडेको थियो।
निशामले १ सय १२ बलमा अविजित ९७ रन, कोलिन डि ग्रान्डहोमले ७१ बलमा ६ चौका र १ छक्कासहित अर्धसतकीय इनिङ खेल्दै ६४ रन जोडेर वाहब रियाजको बलमा रन आउट भएका थिए।
ओपनर मार्टिन गप्टिल ५, कोलिन मुनरो १२, रोस टेलर ३ र टोम लथाम १ रनमा पभेलियन फर्किएका थिए। तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान विलियम्सन ६९ बलमा ४ चौकासहित ४१ रन बनाएर आउट भएका थिए। आठौ नम्बरमा ब्याटिङ गर्न आएका मिचेल स्यान्टनर ५ बलमा ५ रन जोड्दै अविजित रहे।
पाकिस्तानका लागि सहिन साह अफ्रिदीले ३ तथा साडब खान र मोहम्मद आमिरले १–१ विकेट लिएका थिए।
पाकिस्तानले जितसँगै सेमिफाइनल प्रवेशको आशा जीवित राखेको छ भने न्युजिल्यान्डले अन्तिम चारमा स्थान बनाउन अर्को खेलको प्रतिक्षा गर्नुपर्ने भएको छ । -एजेन्सी
प्रतिक्रिया